© 2026
‘हरेक मिनट महत्वपूर्ण छ’ भन्ने नाराका साथ सरकारले आज विश्व पक्षघात दिवस मनाईदैछ । प्रत्येक वर्ष अक्टोबर २९ का दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएको छ । तदनुसार आज यो दिवस नेपालमा पनि मनाईदैछ । पक्षघातको जोखिमको विषयमा शिक्षित र स्वयं स्वास्थ्यकर्मीहरू समेत सचेत नभएको अवस्थामा रोगको बिषयमा अन्जान र अशिक्षित मानिसहरूमा यसको दुष्प्रभावको असर कति हुन्छ भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ ।
स्वास्थ्यकर्मीहरूले समेत यो रोग र दिवसका विषयमा जानकारी नपाउनु दुःखद पक्ष हो । धेरै जोखिम, सम्वेदनशील र जटिल रोगकोसूचीमा मुटु, मृगौला तथा क्यान्सरलाई लिने गरिएको छ । पछिल्लोसमय यी रोगका विरामीको संख्या बृद्धि भैरहेको छ । यी रोगका अतिरिक्त यो भन्दा पनि सम्वेदनशील र जटिल रोगको विषयमा धेरैलाई जानकारी भएरपनि लापरवाही गर्ने गरिएको अर्को रोग पक्षघात हो ।धेरै जटिल रोगका रूपमा लिइने पक्षघात पछिल्लोसमय मानव जीवनका लागि चुनौति वन्दै गएको छ । चिकित्सकहरूका अनुसार मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ ।स्वास्थ्यकर्मीले यसलाई नै पक्षघात भन्छन ।
पक्षघात अर्थात् स्ट्रोक मस्तिष्कमा रक्तप्रवाह अवरुद्ध हुँदा वा मस्तिष्कको रक्तनली फुटेर रक्तस्राव हुँदा उत्पन्न हुने गम्भीर स्वास्थ्य समस्या हो । यसले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक जीवनमा गहिरो असर पार्न सक्छ । समयमै उपचार नपाएमा स्थायी अपाङ्गता, बोलीमा समस्या, शरीरको कुनै भाग नचल्ने अवस्था वा मृत्युसमेत हुन सक्छ । त्यसैले पक्षघातलाई सामान्य स्वास्थ्य समस्याका रूपमा लिने प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ ।
पक्षघातको अवस्थामा प्रत्येक मिनेट किन महत्वपूर्ण हुन्छ भन्ने कुरा आम नागरिकले बुझ्न जरुरी छ। मस्तिष्कमा रक्तप्रवाह अवरुद्ध हुँदा मस्तिष्कका कोषहरू क्रमशः क्षतिग्रस्त हुँदै जान्छन्। उपचारमा हुने ढिलाइले क्षति बढाउन सक्छ । पक्षघातको जोखिम कम गर्न पनि सकिन्छ। उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, धुमपान, मदिराको हानिकारक सेवन, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता तथा मोटोपनजस्ता कारकले जोखिम बढाउन सक्छन् ।
नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, धूमपान त्याग तथा चिकित्सकको सल्लाहअनुसार दीर्घरोगको नियन्त्रणले जोखिम घटाउन मद्दत गर्छ । विशेषगरी उच्च रक्तचाप नियन्त्रणमा ध्यान दिनु अत्यन्त आवश्यक छ।सरकारले मात्रै होइन, स्वास्थ्यकर्मीले समेत आम जनतालाई पक्षघातको जटिलता, जोखिम, उपचारको व्यवस्था आदि समग्र विषयमा जानकारीमूलक कार्यक्रम प्रवाह गर्नुजरुरी छ ।
यद्यपि नेपालका चिकित्सकहरूले पक्षघात संघ स्थापना गरेर यो रोगका विषयमा धेरथोर काम गर्ने प्रयास नगरेको होइनन् । तर अव यतिले मात्रै अव पुग्दैन । अझै धेरै गर्नुपर्ने आवश्यकता छ । किनभने अव सरकार, स्वास्थ्यकर्मी र आम नागरिकले पक्षघातको चुनौतिको पहाड फोर्नुपर्ने बेला आएको छ ।सन् २०१७ मा स्थापना भएको संघले नेपालमा पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।नेपालमा अहिले पक्षघात भएकामध्ये १० देखि १५ प्रतिशतको मृत्यु हुने गरेको तथ्यांकस्वास्थ्य विभागले सार्वजनिक गरेको छ ।
विश्व स्वास्थ्य संगठनले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन अनुरोध गर्दै आएको छ । पक्षघात नदेखिने रोग हो । त्यसैले यसको जोखिम जुनकुनै समयमा आउन सक्ने भएकोले हरेक नेपाली यो रोगबाट सचेत हुनु जरुरी छ ।