© 2026
पाल्पा ।
यो वर्षको दसैँले गाउँघर ढपक्कै छोप्ने बेला भइसक्यो । कामको दौरान विदेश तथा स्वदेशका विभिन्न सहर गएकाहरू गाउँघर फर्किन थालिसके । तर, पाल्पाका गाउँघरमा विगत केही वर्षयता भने पुरानो दसैँको रौनक देखिन छोडेको गुनासो बढिरहेको छ ।
पाल्पा मित्यालका पूर्व जनप्रतिनिधि डिलबहादुर ह्रास सुनाउँछन्– पहिलाको तुलनामा पछिल्ला वर्षहरूको दसै सुनसान हुँदै गयो । हुने खानेहरू सहर बजार पसे, गाउँमा हुँदा खाने पनि विदेशतिर लागे, त्यसैले पछिल्ला वर्षहरूमा दसै सुनसान हुँदै छ ।
डिलबहादुर भन्छन्– अचेल न पोतिए घर, नहल्लिए पिङ, न पाक्छन् रोटी । पर्व उही हो, मानिस उही हो, गाउँ बस्ती उही तर बदलियो संस्कृति ।
तिनाउ गाउँपालिका कोलडाँडाका सामाजिक अगुवा लालबहादुर दर्लामी पनि दसैँको रौनक हराउँदै गएकोमा चिन्ता लागेको सुनाउँछन् । उनी भन्छन्– पहिले दसैको समयमा कोतघरमा मगर समुदायमा ठुलो नाच नाच्ने प्रचलन थियो । त्यो ठुलो नाच अहिलेको जस्तो माया पिरतीको थिएन । महाभारत तथा रामायणमा आधारित श्लोकहरू थिए । ठुलो नाचमा नर्तकी पनि बेग्लै तरिकाको हुन्थे तर अहिले त पुराना पुराना सबै संस्कृति हराउँदै गए ।
वगनासकाली गाउँपालिका पोखराथोककी फुलमाया कुमालले ७० वसन्त पार गरिन् । उनी सानो छँदा घर लिपपोत गर्न रातो, कालो र सेतो कमेरो माटो खोज्न घण्टौँ लगाएर माटो खानीमा डोको बोकेर गएको उनलाई सम्झना छ । घटस्थापनाको अगाडि नै घर चोख्याउन भन्दै घरलाई रातो, सेतो र कालो कमेरो माटोले चिटिक्क पार्नुपर्थ्यो । अहिले ती सबै परम्परा हराउँदै गएको फुलमायाको गुनासो छ ।
रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीकी ६२ वर्षीय राधा ढकालको पनि अनुभव उस्तै छ । पहिले त दसै आउनु १५ दिन अगाडि नै सेतो माटो लिनको लागि एक बिहान हिँडेर तल बेसी खोला जानुपर्थ्यो । वारी पारी गाउँका महिला दिदी बहिनी कमेरो माटो लिन त्यही आउँथे । डोको तथा बोरामा चिसो माटो बोक्दा भोक र थकाइले शरीर हलचल गर्न नसक्ने हुन्थ्यो । त्यो माटोलाई लेदो बनाई भ¥याङ चढेर कुचोले छाप्ने उनीहरूलाई अझै सम्झनामा छ । तर, अब यिनी सबै काम पुराना भइसके ।
उनी भन्छिन्– अहिले यसरी घर लिप्ने पोत्ने काम सबै हरायो । उनी सम्झिन्छिन्– कहिलेकाहीँ घर लिपेर चिटिक्क पा÷यो, पानी आएर सबै पखालेर नलिपेको जस्तै हुन्थ्यो । अहिले जस्तो सडक सजालले गाउँ छोएको थिएन । दशैका लागि आउने नयाँ पाहुना वा मुगलान गएकाहरू आउने भन्ने एक हप्ता अगाडि नै गाउँमा हल्ला चल्थ्यो । उनीहरूलाई लिन बलिया बलिया भारी बोक्ने मानिसहरू सडक किनारासम्म पुग्नुपर्थ्यो । यसरी गाउँमा मुगलान गएकाहरू फर्किदा निकै रमाइलो हुने गर्थ्यो । तर, अहिले ती सबै एकादेशको कथा भइसके ।
राधा भन्छिन्– ‘समयले धेरै कोल्टे फेरेको छ । गाउँ बस्ती उही नै हो । समय उस्तै दिनरात नै चलिरहेछ । अब माटोले पोतेका घरहरू देख्न पनि कठिन हुन थाले । त्यसै गरी देखिन छाडे भरिया । सडक सञ्जाल गाउँका बस्ती बस्ती पुगे । पहिला भरिया बोकाएर आउने लाहुरे अव सररर मोटरमा आए । गाउँका कच्ची घर कमेरोले होइन चुनाले लिपेर चटक्क हुन थालेका छन् ।’
रिब्दीकोट गाउँका बृद्धबृद्धा सम्झिन्छन्– दसैमा पिङ खेल्ने चलन थियो । युवाहरू गाउँमा नै बस्दैनन् । बुढा बुढीले सक्दैनन् । पहिला पहिलाका चलन सबै हराउँदै गए ।
निस्दी गाउँपालिकाका अगुवा सन्तविर सुनारीको गुनासो छ– नयाँ पुस्ताहरू मोबाइल, पैसा र होटेलका विदेशी खानाहरूमा रमाउन थाले । पुराना पुस्ताहरू एकादेशको कथा जस्तै भए । त्यसैले गर्दा पर्वहरू पनि पहिलाको जस्तै रहेनन् ।
यस्तै निस्दी गाउँपालिका मित्यालका मनप्रसाद सोतीको गुनासो छ– दसैमा रमाइलो गर्ने पुराना पुस्ता अस्ताए । अहिलेका पुस्ता घर बाहिर छन् । परिवार पनि छोटिएको छ । दसैमा टिका लगाउन आउने पनि एक दुई घर परिवार मात्रै छन् । गाउँमा भएका बुढाबुढी पनि सन्तानको खुसीको लागि सहरतिर दसै मनाउन जाने चलन बढ्यो ।