Butwal Today

दशैँ नजिकिएसँगै चिटिक्क पर्न थाले गाउँघर

२८ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

दाङ । नेपालीहरूको महान् चाड बडादशैँ नजिकिएसँगै दाङका गाउँघरमा घर लिपपोत र सरसफाइ गर्ने चटारो बढेको छ । दशैँलाई स्वागत गर्न स्थानीय बासिन्दा घरआँगन सफा गर्ने, भित्तामा रातो माटो र कमेरो लगाउने तथा घरलाई चिटिक्क पार्ने काममा व्यस्त हुन थालेका छन् ।

नयाँ उत्साह, उमङ्ग र पारिवारिक भेटघाटको पर्वका रूपमा मनाइने दशैँमा घरको सरसफाइ र सजावटलाई विशेष महत्त्व दिने गरिन्छ । गाउँघरमा परम्परागत रूपमा रातो माटो र कमेरोले घर लिपपोत गर्ने चलन अझै कायम छ । सहर तथा बजार क्षेत्रमा भने घरमा रङ लगाउने र आधुनिक सजावट गर्ने प्रचलन बढ्दै गएको छ ।

दाङका विभिन्न गाउँमा महिला तथा पुरुष घर लिपपोत र सरसफाइमा जुटेका छन् । कोही घरका भित्ता लिपपोत गर्दैछन् भने कोही आँगन सफा गर्ने, झारपात हटाउने र घरमा प्रयोग हुने सामग्री मिलाउने काममा व्यस्त छन् । घरआँगन सफा र चिटिक्क बनाउने परम्पराले गाउँघरमा दशैँको रौनक थपेको छ ।

घोराही उपमहानगरपालिका–१२, हापुरकी कमला डिसीले गाउँघरमा माटोले बनेका घर धेरै भएकाले वर्ष दिनमा आउने दशैँका बेला लिपपोत गर्ने चलन रहेको बताइन् । उनका अनुसार घरका भित्ता तथा भुइँमा गोबर र माटोको प्रयोग गरेर लिपपोत गर्ने गरिन्छ ।

“घरका भित्ता तथा भुइँमा गोबर र माटो लगाएर लिपपोत गर्ने गरेका छौँ,” उनले भनिन् ।

गाउँघरका धेरै परिवारले आफ्नो परम्परा र मौलिकता जोगाउँदै माटो तथा कमेरोले घर सजाउने गरेका छन् । दशैँमा घर लिपपोत गर्नु घर सफा र सुन्दर बनाउने काममा मात्र सीमित नभई धार्मिक तथा सांस्कृतिक महत्त्वसँग समेत जोडिएको छ ।

घोराही उपमहानगरपालिका–१७ की कल्पना शर्माले घरआँगन सफा गरेर देवीदेवताको पूजा गर्ने, जमरा राख्ने तथा टीकाका दिन आफन्त र पाहुनालाई स्वागत गर्ने तयारीका रूपमा घर सरसफाइलाई लिने गरेको बताइन् ।

दशैँ मनाउन रोजगारी, अध्ययन तथा विभिन्न कामका लागि घरबाहिर रहेका परिवारका सदस्यसमेत गाउँ फर्किने भएकाले यस समयमा घरको सरसफाइमा थप ध्यान दिने गरिन्छ । परिवारका सदस्य मिलेर घरआँगन सफा गर्ने र लिपपोत गर्दा आपसी सहयोग, आत्मीयता र खुसी बढ्ने गरेको स्थानीयको अनुभव छ ।

बजारमा पाइने विभिन्न रङ र सजावटका सामग्रीको प्रयोग बढ्दै गए पनि गाउँघरमा परम्परागत रूपमा घर लिपपोत गर्ने चलन हराएको छैन । बरु यसले ग्रामीण जीवनशैली, स्थानीय सीप र सांस्कृतिक पहिचानलाई निरन्तरता दिन सहयोग पुर्‍याएको छ ।

दशैँ नजिकिँदै गर्दा दाङका गाउँघर रङ्गीन तथा आकर्षक देखिन थालेका छन् । घर लिपपोत र सरसफाइको चटारोले चाडपर्वको आगमनको सङ्केत गरिरहेको छ । घरआँगन सफा गर्ने, नयाँ लुगा किन्ने, मिठामिठा परिकार बनाउने र आफन्तसँग भेटघाट गर्ने तयारीसँगै गाउँघरमा दशैँको रौनक बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?