Butwal Today

‘संस्कृति जोगाउन नयाँ पुस्तालाई जोड्नुपर्नेमा जोड’

२८ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

चन्द्रौटा । थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य उमाशंकर थारुले आफ्नो मौलिक पहिचान झल्किने गरी संस्कृति जोगाउन आवश्यक रहेको बताएका छन् । जिल्लाको बाणगंगा नगरपालिका–१, देउवापारमा भएको दशैँ मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनल यस्तो बताए ।

सदस्य उमाशंकर थारुले नयाँ पुस्तालाई आफ्नो भाषा, भेषभूषा, रीतिरिवाज र परम्पराबारे जानकारी गराउनुपर्ने बताए । मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि समुदायका सबै पुस्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए । चाडपर्वले आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो उनी बनाउँछन् । चाडपर्व मनाउने क्रममा मौलिक परम्परा र सांस्कृतिक मूल्य–मान्यतालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै संस्कृति संरक्षणमा युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए ।

यसैबीच थारु बरघर संघका केन्द्रिय सदस्य आशाराम थारुले समुदायको उत्थानका लागि सबै एकजुट हुनुपर्ने बताए । घरआगनमा भित्रिएको दशैँको शुभकामना दिँदै थारु संस्कृति जोगाउने खालका कार्यक्रमलाई जोडदिन उनले आग्रह गरे । नाचगानसँगै गुणस्तरीय र प्रभावकारी शिक्षालाई प्राथामिकता राख्नुपर्ने उनको भनाइ छ । विशेषगरी थारु समुदायको विकासमा टेवा पुग्नेगरी स्थानीय सरकारले समेत कार्ययोजनाहरु ल्याउनुपर्नेमा आशारामले जोडदिए ।

थारु कल्याणकारिणी सभाका बाणगंगा नगर कार्य समितिका पूर्व सभापति भग्गु थारु, बाणगंगा बरघर नगर समितिका अध्यक्ष राजेन्द्र थारु, थाकस बाणगंगा नगर सभापति रामशंकर चौधरी, कलाकार खेम चौधरीलगायतले आइतबार भएको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?