© 2026
बाणगंगा । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउनुपर्ने बताएका छन्। बुधबार राजापानी सामुदायिक वनको २३ औँ वार्षिक साधारण सभा तथा १० औं अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रमुख सापकोटाले वन संरक्षणसँगै उपभोक्ताको जीविकोपार्जन, वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
उनले सामुदायिक वन उपभोक्ता समूहले वनको संरक्षण र व्यवस्थापनमा खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै वनलाई आगामी पुस्ताका लागि समेत सुरक्षित राख्न सबै उपभोक्ता जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।।
सभामा बाणगंगा नगरपालिका वडा नं। ३ का वडाध्यक्ष टेकबहादुर झेडी, वडा नं। १० का वडाध्यक्ष यमलाल पोख्रेल, वनका पूर्वअध्यक्ष गोविन्द पौडेल, लेखा समितिका सल्लाहकार विष्णु न्यौपाने, नीतिनियम मस्यौदा समितिका संयोजक मित्रलाल शर्मा, श्रृङ्गीघाट सामुदायिक वनका अध्यक्ष सुशील सिंह ठकुरी तथा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष जयलाल गिरीलगायतले सामुदायिक वनलाई संरक्षण र समृद्धिसँग जोड्नुपर्ने बताए।
उनीहरूले वनलाई मानव जीवनको आधारका रूपमा व्याख्या गर्दै राजापानी सामुदायिक वनले संरक्षण तथा व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका थिए। उनीहरूले वनको संरक्षणसँगै वनबाट प्राप्त हुने लाभलाई उपभोक्ताको हितमा उपयोग गर्नुपर्नेमा जोड दिए।
सभामा वनका अध्यक्ष सीतादेवी पौडेलले अध्यक्षको प्रतिवेदन, सचिव दीनानाथ पाण्डेले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सन्तराम रौतारले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक विष्णुप्रसाद अर्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो।

वनका अध्यक्ष सीतादेवी पौडेलको अध्यक्षता, उपाध्यक्ष कुलबहादुर सोमैको स्वागत मन्तव्य तथा सचिव दीनानाथ पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा वनका पदाधिकारी, कर्मचारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, वन उपभोक्ता र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।