Butwal Today

सल्यानमा स्क्रब टाइफसबाट सङ्क्रमितको सङ्ख्या सात सय नाघ्यो

२४ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

सल्यान ।

सल्यानमा स्क्रब टाइफसको सङ्क्रमण अझै रोकिएको छैन । स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार गत असोज ११ गतेयता नौ पालिकाका ७१९ जनामा स्क्रब टाइफस सङ्क्रमण भएको छ । सरकारी स्वास्थ्य संस्थामा दुई हजार ८०२ र निजी स्वास्थ्य संस्थामा ३७८ जनामा जाँच गर्दा सरकारीमा ६१९ जना र निजीमा एक सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जनाए । शुक्रवार गरिएको परीक्षणको क्रममा मात्रै २३ जनामा सङ्क्रमण भेटिएको थियो । हालसम्मको विवरण अनुसार सङ्क्रमित मध्ये महिला ५६९ जना र पुरुष १५० जना छन् ।

यस रोगको जटिलताका कारण दार्मामा आठ जना र छत्रेश्वरीमा एक जनाको ज्यान गइसकेको छ । यहाँ फैलिएको स्क्रब टाइफस र बिरामीको मृत्युबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विज्ञ टोली, प्रदेश तथा जिल्लाको टोलीले अनुसन्धान गरिरहेको छ ।

जनस्वास्थ्य अधिकृत रिजालका अनुसार विज्ञ टोलीको प्रारम्भिक अध्ययनले बिरामीहरू ज्वरो आउनासाथ उपचारमा नगई ढिलो गर्नु र सुरुमै निजी क्लिनिक पुगेर एन्टिबायोटिक इन्जेक्सन प्रयोग गर्दा कीटाणु नमरी अवस्था जटिल बनेको देखाएको छ । सामान्यतया ४० रुपैयाँ पर्ने सही औषधि प्रयोग गरेर ४८ घण्टामा ज्वरो नियन्त्रण हुने र ३ दिन नियमित औषधि खाएमा यो रोग सजिलै निको हुन्छ ।

अहिले प्रदेशको विज्ञ टोलीले प्रभावित क्षेत्रबाट नमुना सङ्कलन गरी लगेको छ । स्क्रब टाइफसको लार्भा, माटो, झाडी र ओसिलोपनका कारण सङ्क्रमण फैलिएको भए पनि दार्मा गाउँपालिकामा मात्रै ८ जनाको मृत्यु हुनुमा स्क्रब टाइफससँगै अन्य रोगसमेत मिसिएको हो कि भन्नेबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

रोग तीव्र रूपमा फैलिएपछि सुरुमा स्वास्थ्य सेवा कार्यालयको आकस्मिक कोषबाट पाँच सय परीक्षण किट र औषधि व्यवस्थापन गरेर परीक्षण थालिएको थियो । पछि प्रदेशबाट एक हजार २०० किट तथा सङ्घीय सरकारबाट करिब एक हजार किट र आवश्यक औषधि प्राप्त भएको थियो । सङ्क्रमण अझै कायमै रहेकाले अबको केही दिनमा पुनः औषधि र किट माग्नुपर्ने अवस्था आएको कार्यालयले जनाएको छ ।

चिकित्सकहरुका अनुसार मुसा र छुचुन्द्रोमा रहने ‘माइट’ (किर्ना) को टोकाइबाट सर्ने ‘रिकेटसिया’ ब्याक्टेरियाका कारण यो रोग लाग्छ । यसका प्रमुख लक्षणहरूमा निरन्तर उच्च ज्वरो आउने, टाउको दुख्ने, थकाई लाग्ने, पसिना आउने, घाँटीका ग्रन्थिहरू सुन्निने र ५–७ दिनभित्र शरीरभरि रातो बिमिरा देखिने गर्छन् । समयमै उपचार नभए यसले मिर्गौला, फोक्सो र दिमागमा असर गरी बिरामीको मृत्यु समेत हुन सक्छ ।

लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा गएर रगत जाँच गराउने र चिकित्सकको सल्लाह अनुसार औषधी खाएमा यो रोग पूर्ण निको हुन्छ । यसबाट बच्न खेतबारी वा झाडीमा काम गर्दा पूरा शरीर ढाक्ने कपडा लगाउन र घर वरिपरि सरसफाइ राखी मुसा नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?