Butwal Today

बजारमा म्याद गुज्रेका सामग्रीदेखि अखाद्य रङसम्म

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

सिद्धार्थनगर । चाडपर्व नजिकिएसँगै रूपन्देहीमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री, मिठाईमा मापदण्डभन्दा बढी खाद्य रङको प्रयोग, गुणस्तरहीन तेल तथा खाद्य सामग्रीको असुरक्षित भण्डारणजस्ता कैफियत भेटिएका छन् । अनुगमन टोलीले म्याद गुज्रेका तथा गलत म्याद उल्लेख गरिएका केही सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलगायत निकायले संयुक्त रूपमा बजार अनुगमन गरेका हुन् । चाडपर्वमा खाद्य वस्तुको माग र कारोबार बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अनुगमन तीव्र पारिएको हो ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेका अनुसार पहिलो चरणमा बेकरी, किराना, मासु तथा मिठाई पसल गरी करिब १० वटा व्यावसायिक फर्ममा अनुगमन गरिएको छ । त्यसक्रममा केही बेकरीमा उत्पादन तथा उपभोग्य मिति र कम्पनीको नाम उल्लेख नगरेको, कच्चा तथा तयारी खाद्य सामग्री एउटै ठाउँमा राखेको र सरसफाइमा कमजोरी देखिएको उनले बताए ।

मिठाई पसलमा फोहोर भान्सा, खराब तेलको प्रयोग र आवश्यकताभन्दा बढी खाद्य रङ प्रयोग गरेको पाइएको छ । डेरी तथा किराना पसलमा म्याद गुज्रेका सामग्री भेटिनुका साथै गलत म्याद छापिएका मोहीलगायत सामग्री पनि नियन्त्रणमा लिएर नष्ट गरिएको प्रशासनले जनाएको छ ।

पहिलो चरणमा व्यवसायीलाई कमजोरी सुधार्न निर्देशन दिइएको छ । आगामी अनुगमनमा पनि उस्तै गल्ती दोहोरिए सामान जफत गर्ने, व्यवसाय बन्द गराउनेलगायत प्रचलित कानुनअनुसार कारबाही गरिने न्यौपानेले बताए ।
शुद्धोधन गाउँपालिकामा गरिएको अनुगमनमा अधिकांश पसलको अवस्था सामान्य र सुधारिएको पाइए पनि केही व्यवसायमा फोहोर व्यवस्थापन, खाद्य सामग्रीको भण्डारण र आधारभूत मापदण्ड पालनामा सुधार गर्नुपर्ने देखिएको गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बताइन् । व्यवसायीलाई म्याद नियमित जाँच गर्न, म्याद गुज्रिएका सामान बिक्रीयोग्य सामग्रीबाट छुट्टै राख्न र बिक्री नगर्न निर्देशन दिइएको उनले जानकारी दिइन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाकी खाद्य निरीक्षक सोनिला गौतमका अनुसार होटेल, रेस्टुरेन्ट, किराना तथा मिठाई पसलको अनुगमनमा खाद्य सुरक्षासँग सम्बन्धित कमजोरी भेटिएका छन् । विशेषगरी मिठाईमा मापदण्डभन्दा बढी रङ प्रयोग गर्ने र तेलको गुणस्तर कमजोर रहेको पाइएको उनले बताइन् ।

होटेल तथा रेस्टुरेन्टका फ्रिजमा काँचो र पाकेको खानेकुरा एकै ठाउँमा राख्ने गरेको समेत पाइएको छ । मासु र सलादजस्ता काँचो तथा तयारी खाद्य सामग्री सँगै राख्दा जीवाणु सर्ने र खाद्य विषाक्तताको जोखिम बढ्ने गौतमले बताए ।
उनले फ्रिजको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा कम राख्न, दीर्घकालीन भण्डारणका लागि माइनस १८ डिग्री सेल्सियसमा राख्न तथा खाद्य सामग्री ढाकेर सुरक्षित रूपमा भण्डारण गर्न व्यवसायीलाई सुझाव दिएकी छन् ।

घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका वरिष्ठ उद्योग अधिकृत लोककुमार कार्कीले अनुगमनको उद्देश्य व्यवसायीलाई दण्डित गर्नु मात्र नभई उपभोक्ताको अधिकार संरक्षण र व्यवसायलाई जिम्मेवार बनाउनु रहेको बताए ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका वरिष्ठ शाखा अधिकृत अष्टराज गौतमले विगतको तुलनामा बजारमा सुधार देखिए पनि केही व्यवसायीले म्याद गुज्रिएका सामग्री बिक्रीयोग्य सामानबाट छुट्याएर नराख्ने गरेको बताए ।

सम्बन्धित निकायले बजार अनुगमनलाई चाडपर्वमा मात्र सीमित नराखी नियमित गर्ने जनाएका छन् । उपभोक्तालाई पनि खाद्य सामग्री खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, लेबल, प्याकेजिङ र वस्तुको अवस्था जाँच गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?