© 2026
पाल्पा । कलिलै उमेरमा भारतीय सेनामा कार्यरत युवासँग आफ्नो इच्छाले विवाह गरेकी निस्दी गाउँपालिका–सलहकोट भाङबारीकी ६७ वर्षीया बालकुमारी लामिछानेका लागि हुलाकी केवल चिठ्ठी ल्याउने व्यक्ति थिएनन् ।
भारतमा रहेका श्रीमानले पठाएको चिठ्ठी बोकेर हुलाकी घरको आँगनमा आइपुग्दा उनलाई आफ्नै श्रीमान् आँखाअगाडि उभिएजस्तो लाग्थ्यो ।
दुई दशकअघिसम्म सूचना र प्रविधिको प्रमुख माध्यम नै चिठ्ठी थियो । टेलिफोन र अहिलेको जस्तो मोबाइल फोनको पहुँच गाउँगाउँमा थिएन । परदेशमा रहेका श्रीमान्, छोराछोरी वा आफन्तको चिठ्ठी आउने दिन मात्र होइन, चिठ्ठी आएपछिका दिनसम्म पनि परिवारमा खुसीको सीमा हुँदैनथ्यो । घरमा चिठ्ठी लिएर आउने हुलाकीलाई पेटभरि खाजा र नास्ता खुवाएर पठाउने चलन थियो । तर अहिले ती दिन सम्झनामा मात्र सीमित भएको बालकुमारी बताउँछिन् ।
“हुलाकीले चिठ्ठी ल्याउँदा श्रीमान् नै घरमा आएजस्तो लाग्थ्यो,” उनले पुराना दिन सम्झँदै भनिन्, “चिठ्ठी पढेपछि धेरै दिनसम्म मन खुसी हुन्थ्यो । हुलाकीलाई पनि आफ्नै परिवारको मान्छेजस्तो माया र सम्मान गरिन्थ्यो ।”
त्यो समय अहिलेको जस्तो पाँच–छ लाख रुपियाँ ऋण काढेर तेस्रो मुलुक जाने चलन थिएन । गाउँका गरिब तथा मध्यम वर्गीय परिवारका युवा बल्लतल्ल गाडी भाडाको जोहो गरेर रोजगारीको खोजीमा भारत पुग्थे । रोजगारीका लागि भारत पुगेका धेरै युवाको परिवारसँग सम्पर्कको माध्यम चिठ्ठी मात्र हुन्थ्यो ।
निस्दी गाउँपालिका–ज्यामिरे भुटुकेका सन्तवीर पनि रोजगारीको खोजीमा भारतको बम्बई पुगेका थिए । भारत पुगेपछि उनी सात महिनासम्म परिवारको सम्पर्कमा आउन सकेनन् । घरपरिवारमा चिन्ता बढ्दै गयो । श्रीमती मनमाया दर्लामी श्रीमान्को खबरको प्रतीक्षामा बसिरहिन् ।
आठौँ महिना लागेपछि एक दिन हुलाकी घर खोज्दै उनको आँगनमा आइपुगे । हुलाकीले मनमायाको हातमा श्रीमानले पठाएको चिठ्ठी राखिदिए । लामो समयपछि श्रीमानको खबर पाउँदा मनमायाको खुसीको सीमा रहेन । चिठ्ठी हातमा लिएपछि आँखाबाट आँसु झरेको सम्झना उनी अहिले पनि सुनाउँछिन् ।
“त्यो बेला चिठ्ठी आउनु भनेको श्रीमान् नै आएजस्तो हुन्थ्यो,” उनले भनिन्, “चिठ्ठी खोलेर पढ्दा खुसीसँगै आँसु पनि आउँथ्यो । हुलाकीले चिठ्ठी ल्याइदिएकोमा उहाँलाई पनि धेरै माया लाग्थ्यो ।”
सलहकोटबाट साढे तीन घण्टासम्म पैदल यात्रा गरेर, काँधमा झोला र हातमा लौरो टेकेर गाउँमा पुग्ने हुलाकीले चिठ्ठी मात्र बोकेर हिँड्दैनथे । उनीहरूले घर–परिवारका सम्बन्ध, माया, प्रेम, सन्चो–बिसन्चो र परदेशको खबर पनि बोकेर ल्याउँथे । कतिपय चिठ्ठीमा श्रीमान्–श्रीमतीका भावना हुन्थे भने कतिपयमा छोराछोरी, आफन्त र साथीभाइका खबर हुन्थे ।
स्थानीय खेमकुमारी रानाका लागि पनि हुलाक र हुलाकी अहिलेको नयाँ पुस्ताले कल्पना गर्न नसक्ने समयको सम्झना हो । उनका अनुसार टिकट टाँसिएको चिठ्ठीभित्र टाढा रहेका आफन्तलाई जोड्ने सम्बन्ध हुन्थ्यो । हुलाकीले बोकेको एउटा चिठ्ठीले महिनौँदेखि खबर नपाएका परिवारका सदस्यलाई खुसी दिन्थ्यो ।
“चिठ्ठीमा अक्षर मात्रै हुँदैनथे, मान्छेको माया हुन्थ्यो,” उनी भन्छिन्, “टाढा रहेका आफन्तको सन्चो–बिसन्चो, दुःख–सुख र मनका कुरा चिठ्ठीमै आउँथे । हुलाकीलाई देखेपछि चिठ्ठी आयो कि भनेर सोध्ने चलन थियो ।”
त्यतिबेला गाउँबस्ती हराभरा भए पनि सूचना र सडक सञ्जालको अवस्था अहिलेको जस्तो थिएन । गाउँसम्म पुग्ने बाटो सहज थिएन । घण्टौँ हिँडेर काँधमा झोला र हातमा लौरो बोकेर हुलाकी गाउँबस्ती पुग्थे । बाटोमा हुलाकी भेट्नेबित्तिकै स्थानीयले आफ्नो नामको चिठ्ठी आए–नआएको सोध्ने गर्थे ।
तिनाउ गाउँपालिका–मस्याम भैँसीकट्टाका मुरारी ढकाललाई पनि हुलाकीको प्रतीक्षा गरेको समय अहिले सम्झना मात्रै बनेको छ । गाउँको बाटोमा हुलाकी देख्नेबित्तिकै “मेरो चिठ्ठी आएको छ कि छैन ?” भनेर सोध्ने गरेको उनी बताउँछन् ।
“हुलाकी गाउँमा आउँदै गरेको देखेपछि सबैको ध्यान त्यतैतिर हुन्थ्यो,” उनले भने, “कसैको श्रीमान् परदेशमा हुन्थे, कसैका छोराछोरी बाहिर हुन्थे । सबै जना आफ्नो मान्छेको चिठ्ठीको प्रतीक्षामा हुन्थे ।”
परदेश गएका आफन्तलाई परिवारका सदस्यले प्रत्यक्ष देख्न पाउने अवस्था थिएन । फोनको सुविधा सीमित थियो । त्यसैले हुलाकीले बोकेर ल्याएको चिठ्ठी नै परदेशीको खबर जान्ने प्रमुख माध्यम थियो । चिठ्ठीमा अक्षर मात्र होइन, माया, प्रेम, सन्चो–बिसन्चो र घरपरिवारका आवश्यकतासमेत जोडिएका हुन्थे ।
हुलाकीको झोलाभित्र व्यक्तिगत चिठ्ठीसँगै विभिन्न कार्यालयका सूचना, आर्थिक कारोबारसम्बन्धी कागजात, हिसाब–किताबलगायतका सामग्री पनि हुन्थे । कतिपय चिठ्ठी लेख्न र पढ्न नसक्नेका लागि हुलाकी नै सहयोगी बन्थे । उनीहरूले चिठ्ठी पढेर सुनाउने र आवश्यक परे त्यसको जवाफसमेत लेखिदिने गर्थे ।
जिल्ला हुलाक कार्यालयमा लामो समय हुलाकीका रूपमा काम गर्नुभएका लोकबहादुर आलेले हुलाकीको जिम्मेवारी केवल चिठ्ठी ओसारपसारमा सीमित नरहेको बताउँछन् । उनका अनुसार गाउँगाउँमा हुलाकी परिचित व्यक्ति हुन्थे । घरपरिवारका सुखदुःखदेखि आपत्कालीन खबरसम्म हुलाकीमार्फत नै पुग्थे ।
“हुलाकीको झोलामा खुसीका खबर मात्र हुँदैनथे,” उनले भने, “कहिलेकाहीँ मृत्युको खबर पनि हुन्थ्यो । त्यस्तो खबर पनि निकै संवेदनशील ढङ्गले परिवार र छिमेकीलाई बुझाउनुपथ्र्यो ।”
दुर्गम गाउँमा चिठ्ठी पु¥याउने क्रममा हुलाकीले अनेकौँ कठिनाइसमेत भोग्नुपरेको उनको अनुभव छ । कतिपय हुलाकी लामो बाटो हिँड्दा जङ्गली जनावरको जोखिममा पर्ने गरेका थिए । कतै वर्षा, बाढीपहिरो र अप्ठ्यारो बाटो पार गरेर चिठ्ठी पु¥याउनुपथ्र्यो । तर गाउँमा पाउने माया, सम्मान र आत्मीयताले यात्राको थकान बिर्साइदिने गरेको उनी बताउँछिन् ।
अर्का पुराना हुलाकी डुलबहादुर ढेंगाका अनुसार हुलाकीको झोलामा व्यक्तिगत चिठ्ठीसँगै आर्थिक तथा प्रशासनिक खबरसमेत जोडिएका हुन्थे । त्यो समय भारतमा रोजगारीका लागि जाने नेपालीलाई ‘लाहुरे’ भन्ने चलन थियो । लाहुरेको चिठ्ठी परिवारका लागि विशेष महत्वको हुन्थ्यो । परिवारका सदस्य महिनौँदेखि वर्षौँसम्म पनि लाहुरेको चिठ्ठीको प्रतीक्षामा बसेका हुन्थे ।
“चिठ्ठीमा लेखिएका शब्द पढ्दा घरमै बसेर परदेशको अवस्था बुझेजस्तो हुन्थ्यो,” ढेंगा भन्छन्, “हुलाकीले चिठ्ठी ल्याएपछि गाउँका मान्छे जम्मा भएर त्यसमा लेखिएको खबर सुन्ने अवस्था पनि थियो ।”
समय भने मानिसजस्तो रहेन । मानिस उही भए पनि प्रविधिले सम्पर्कको माध्यम परिवर्तन गरिदियो । सडक सञ्जाल विस्तार भयो । गाउँगाउँमा यातायात पुग्यो । टेलिफोन, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालले सूचना आदानप्रदानलाई क्षणभरमै सम्भव बनाइदियो । त्यससँगै हुलाकीको बाटो हेर्ने र पत्रमञ्जुषामा चिठ्ठी खस्ने समय विस्तारै हराउँदै गयो ।
पहिले चिठ्ठी बोकेर गाउँ पुग्ने हुलाकी सामाजिक जीवनकै अभिन्न अङ्गजस्ता थिए । अहिले धेरै हुलाक कार्यालय सुनसान देखिन्छन् । चिठ्ठी पु¥याउन घण्टौँ पैदल हिँड्ने हुलाकीको आवश्यकता पनि घटेको छ । गाउँका बाटोमा हुलाकीको प्रतीक्षा गर्ने मानिस देखिँदैनन् । पत्रमञ्जुषामा पनि पहिले जस्तो चिठ्ठी खस्न छाडेको छ ।
प्रविधिले खबरलाई छिटो र सहज बनाएको छ । तर चिठ्ठीसँग जोडिएको आत्मीयता भने हराउँदै गएको पुराना पुस्ताको अनुभव छ । मोबाइलमा केही सेकेन्डमै सन्देश पठाउन सकिने भए पनि हातले लेखिएको चिठ्ठीभित्र व्यक्त हुने भाव, प्रतीक्षा र आत्मीयता फरक हुने उनीहरू बताउँछन् ।
पुराना हुलाकीका अनुसार पहिले चिठ्ठी लेख्दा मानिसले आफ्नो मनका कुरा सोचेर, समय लगाएर शब्दमा उतार्थे । त्यसैले चिठ्ठीभित्र लेख्ने व्यक्तिको भावना र अवस्थासमेत झल्किन्थ्यो । अहिले प्रविधिले सम्पर्कलाई तत्काल बनाइदिए पनि त्यस्तो आत्मीय लेखन शैली विस्तारै हराउँदै गएको छ ।
जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी टंक भण्डारी पनि विगतको तुलनामा अहिले हुलाक सेवा निकै साँघुरिएको बताउँछन् । उनका अनुसार व्यक्तिगत चिठ्ठीको चलन हराएको दुई दशकभन्दा बढी भइसकेको छ । यद्यपि हुलाक सेवा पूर्ण रूपमा बन्द भने भएको छैन । बैंक तथा वित्तीय संस्थाबाट प्रेषित पत्र तथा सरकारी कुरियर सेवाजस्ता काम अझै सञ्चालनमा छन् ।
हुलाक सेवा पहिले चिठ्ठी ओसारपसारमा मात्र सीमित थिएन । हुलाक बचत बैंक र धनादेश सेवासमेत सञ्चालनमा थिए । धनादेश सेवा यसअघि नै बन्द भइसकेको छ भने हुलाक बचत बैंक करिब दुई वर्षअघि राष्ट्रिय वाणिज्य बैंकलाई हस्तान्तरण गरिएको हो ।
“पहिलेको तुलनामा हुलाक सेवा निकै साँघुरिएको छ,” भण्डारी भन्छन्, “व्यक्तिगत चिठ्ठी त करिब दुई दशकभन्दा बढी समयदेखि हराइसकेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाका पत्र र सरकारी कुरियर सेवाका काम भने भइरहेका छन् ।”
प्रविधिको विकाससँगै हुलाकको स्वरूप परिवर्तन हुनुपर्ने भए पनि त्यसअनुसार सेवा विस्तार र रूपान्तरण हुन नसक्दा यसको महत्व घट्दै गएको पुराना हुलाकीहरूको बुझाइ छ । उनीहरूका लागि हुलाक हराउनु भनेको केवल एउटा सरकारी सेवा कमजोर हुनु मात्र होइन, गाउँबस्तीको सामाजिक जीवनसँग जोडिएको एउटा आत्मीय सम्बन्ध हराउनु पनि हो ।
अब गाउँमा परदेश गएका मानिसको चिठ्ठी आउन छाडेको दुई दशकभन्दा बढी भइसकेको छ । चिठ्ठी बोकेर हुलाकी आउने बाटो हेर्न छाडेको पनि त्यति नै समय भइसकेको छ । हिजो हुलाकीको झोलाभित्र आउने एउटा चिठ्ठीले परिवारमा खुसी ल्याउँथ्यो । आज त्यही खबर मोबाइलको पर्दामा क्षणभरमै आइपुग्छ ।
तर मोबाइलमा आएको एउटा सन्देश र हुलाकीले काँधमा बोकेर ल्याएको चिठ्ठीबीचको अन्तर पुरानो पुस्ताको मनमा अझै बाँकी छ । चिठ्ठी हरायो, पत्रमञ्जुषा रित्तियो, हुलाकीको बाटो हेर्ने बानी हरायो । सूचना प्रविधिले दूरी घटाए पनि हुलाकीसँगै हराएको त्यो आत्मीयता भने अहिले पनि पुराना पुस्ताको सम्झनामा जीवित छ ।