© 2026
काठमान्डौँ ।
श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै उक्त अभिव्यक्ति रोस्टमबाटै सच्याउनुपर्ने वा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका हुन् ।
बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले पार्टीकी सांसद अम्बिकादेवी संग्रौलालाई बोल्ने समय दिएका थिए ।
सांसद संग्रौलाले गत जेठ १७ गते संसद्को रोस्टमबाट प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताइन् ।
उक्त अभिव्यक्ति सच्याउनुपर्ने वा संसद्को रेकर्डबाट हटाउनुपर्ने आफ्नो पार्टीको माग सम्बोधन नभएको भन्दै उनले उक्त विषय कहिलेसम्म सम्बोधन हुन्छ भन्नेबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।