Butwal Today

निवर्तमान सभापतिले पार्टीलाई जग्गा उपलब्ध गराउने, नयाँ कार्यसमितिले प्रक्रियामा लैजाने

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

सल्यान । 

सल्यानमा नेपाली काँग्रेस कपुरकोट गाउँ कार्यसमितिका निवर्तमान सभापति एगराज वलीले पार्टी कार्यालय निर्माणका लागि एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । उनले कपुरकोट गाउँपालिका वडा नम्बर ३ कालेस्थित आफ्नो जग्गा पार्टीलाई उपलब्ध गराउने र सोही जग्गामा कार्यालय निर्माण भएमा थप एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

हालै सम्पन्न नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कपुरकोट गाउँपालिका स्तरीय अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिलाई वलीले आफ्नो यस अघिको प्रतिबद्धता कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

वली २०७८ मा काँग्रेस कपुरकोट गाउँ कार्यसमितिको सभापतिमा निर्वाचित भएका थिए । सभापतिमा निर्वाचित भए लगत्तै उनले पार्टीको आफ्नै कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा गरेका थिए । तर व्यक्तिको स्वामित्वमा रहेको जग्गा पार्टीको नाममा ल्याउने कानुनी प्रक्रिया, आवश्यक कागजी तथा संस्थागत प्रक्रिया र पछिल्लो समय देखिएका विभिन्न सामाजिक परिस्थितिका कारण उक्त प्रतिबद्धता तत्काल कार्यान्वयनमा आउन सकेन ।

कोभिड, १९ महामारीपछिको असहज अवस्था, त्यसपछिका सामाजिक तथा राजनीतिक गतिविधि र जेनजी आन्दोलन लगायतका घटनाक्रमले पनि पार्टीको आन्तरिक प्राथमिकता र नियमित प्रक्रियामा असर पारेको वलीको भनाइ छ । अब नयाँ कार्यसमिति निर्वाचित भइसकेकाले आफ्नो पुरानो प्रतिबद्धतालाई कार्यान्वयनको चरणमा लैजान आफूले पुनः आग्रह गरेको उनले बताए ।

वलीले जग्गा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याउँदै पार्टी कार्यालय निर्माणका लागि आवश्यक प्रक्रिया नयाँ कार्यसमितिले अघि बढाउने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित सभापति कुबेर खत्रीले निवर्तमान सभापति वलीले गरेको घोषणा कार्यान्वयनका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउने बताएका छन् । जग्गा पार्टीको स्वामित्वमा ल्याउने कानुनी प्रक्रिया पूरा गरी कार्यालय भवन निर्माणका लागि थप गृहकार्य गरिने उनले बताए ।

खत्रीले नयाँ नेतृत्वको प्राथमिकता व्यक्तिगत प्रतिस्पर्धाभन्दा सङ्गठनको एकता, सुदृढीकरण र जनताको विश्वास जित्ने रहेको बताए । सबै नेता तथा कार्यकर्तालाई समान सम्मान र अपनत्वका साथ समेटेर काँग्रेस कपुरकोटको सङ्गठनलाई बलियो, व्यवस्थित र जनमुखी बनाउँदै अघि बढ्ने उनको भनाइ छ । “निवर्तमान सभापतिले घोषणा गर्नुभएको जग्गा उपलब्ध गराउने काम आवश्यक प्रक्रिया पूरा गरेर चाँडै अगाडि बढाइनेछ । पार्टीको भवन निर्माणका लागि थप गृहकार्य पनि गर्छौँ,” खत्रीले भने ।

हालै सम्पन्न गाउँपालिका स्तरीय अधिवेशनबाट खत्रीको नेतृत्वमा काँग्रेस कपुरकोट गाउँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । उपसभापतिमा टिकाराम केसी र तिला कुमारी कामी, सचिवमा रामप्रसाद शर्मा, सहसचिवमा खगेन्द्र कँवर तथा कोषाध्यक्षमा बाबु जङ्ग शाही निर्वाचित भएका छन् ।

वलीको घोषणालाई कार्यान्वयनमा लैजान अब नयाँ कार्यसमितिले जग्गा हस्तान्तरणको कानुनी प्रक्रिया, पार्टीको स्वामित्व कायम गर्ने विधि र कार्यालय निर्माणका लागि आवश्यक आर्थिक तथा प्राविधिक व्यवस्थापन टुङ्ग्याउनुपर्नेछ । यससँगै कपुरकोट काँग्रेसले लामो समयदेखि उठाउँदै आएको आफ्नै पार्टी कार्यालय निर्माणको विषय नयाँ नेतृत्वका लागि कार्यान्वयनको जिम्मेवारीका रूपमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?