© 2026
काठमाडौँ । नेपाली काँग्रेसको वडा तहको अधिवेशन आजदेखि सुरु हुँदै छ । असोज ३ र ४ गते देशभर हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहपूर्वक सहभागी हुन काँग्रेसले आग्रह गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदै छ । त्यसअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकृतहरूले जिल्ला तथा स्थानीय तहका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यहरूसँग निर्वाचन प्रक्रियाबारे आवश्यक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका तयारी पूरा गरिसकेको समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका सम्बन्धमा फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । समितिले निर्धारित मिति असोज ३ र ४ गते हुने निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई अनुरोधसमेत गरेको छ ।