© 2026
हिमाली क्षेत्रमा हिमतालहरू बन्नुले प्राकृतिक पानीको ठुलो भण्डारका रूपमा सहयोगी भूमिका खेलेको हुन्छ भने यी तालहरू फुट्दा महाविपत्तिसहितको बाढीको जोखिम सधैँ रहिरहन्छ ।
बढ्दो तापक्रमसँगै यी तालहरू बाढी र नदी तटीय क्षेत्रका बस्ती र भौतिक संरचनाहरूका लागि खतरा साबित भएका छन् । तसर्थ वैज्ञानिक, नीति निर्माता र स्थानीय समुदायहरूका लागि यी तालहरूको निर्माण, तालको स्थितिमा आउने परिवर्तन र बाढीजन्य खतरा न्यूनीकरण रणनीति निर्माण गर्ने कार्य प्राथमिकतामा पर्नु आवश्यक छ ।
हिमालय क्षेत्रमा हिमताल बन्ने आधार:
जब हिम पहिरो अर्थात् हिउँको ठुलो ढिक्का फुटेर पहिरो जान्छ र यस क्रममा ढुङ्गा माटो ठुला चट्टान जम्मा भएर बाँध निर्माण हुन्छ हिमताल बन्छ । अर्को हिमाली भागको धरातलीय आधारमा पनि हिमताल बनेका हुन्छन् ।
अर्थात् हिमाली क्षेत्रमा बनेका साना ठुला बेँसी वा उपत्यका जस्ता भूभागमा हिम पहिरो खस्छ । सयौं मिटर चौडा हिमटुक्राहरूले तालको सतहमा दबाब सिर्जना गरी चट्टान टुक्रिने, माटो बग्ने र विनासकारी बाढीको रूप धारण गर्दछ । यही भदौ १० गतेको भोटेकोशी बाढीको मूल कारण पनि करिव ५२०० मिटरको उचाईमा रहेको लाङटाङ लिरुङ हिमालमा हिम पहिरो गयो र यसले ल्हेन्दे खोला (नदी) मा हिउँ र चट्टान लेदोको अस्थायी बाँध बन्यो ।
त्यही बाँध फुटेर आएको बाढी नै नेपालमात्र नभै विश्वमै महाविपत्ति भनेर चिनियो । विपत्तिको आकार हिउँको आकार, सतहको जमीन एवम् चट्टानको बनोटमा भर पर्छ भने भोटेकोशी बहाव क्षेत्रको भौगोलिक अवस्थाका कारण पनि रसुवा, नुवाकोट र धादिङमा ठुलो क्षति भयो । त्यसैगरी विद्युत केन्द्रहरू वरपर साँघुरो गल्छी परेको भूभाग रहेको पाइयो भने नदी तटीय क्षेत्रका बस्ती र बजार वास्तवमै जोखिमयुक्त क्षेत्र नै हुन् । हिउँको थुप्राहरू चलायमान हुने र चल्ने क्रममा ढुङ्गा माटो, लेदो, गिट्टीसहित बग्ने र कुनै ठाउँमा जम्मा भै हिमताल बन्न प्राकृतिक रूपमै सहयोग पुग्दछ ।
प्रायः स—साना ताल बन्ने गरेकामा पछिल्ला वर्षहरूमा हिमपहिरोको क्रम तीब्र भएको र मिश्रित हिमपहिरोका कारण ठुला ठुला बाँध र धेरै पानी भएका तालहरू बनेका छन् । वातावरणीय तापक्रम बृद्धिसँगै हिउँ पग्लने, चिरा पर्ने र हिम पहिरो जाने क्रम बढेको छ । यसले गर्दा एकातिर तालमा पानीको मात्रा बढेको छ भने बाँध बनेको हिउँ पग्लने भएकोले बाँध कमजोर हुदै जान्छ ।
जलवायु परिवर्तन र विशेषगरी विश्वब्यापी तापक्रम बृद्धिका कारण विश्वभर हिमतालहरू ६—३० प्रतिशतले विस्तार भएको र हिमालय पर्वत श्रृंखलामा हिमताल विस्तार अधिक रहेको अध्ययनहरूले बताएका छन् । वाङको नेतृत्वमा सन् २०२५ माग गरिएको अध्ययन अनुसार सन् २१०० सम्म हिमतालको आकार २७ प्रतिशतले बृद्धि हुने र ४० प्रतिशत बढी हिम पहिरो सिर्जित बाढी जाने जोखिमको सम्भावना छ ।
हिमताल सिर्जित बाढीको कारणः
हिमताल सिर्जित बाढीको मूलकारण जलवायु परिवर्तन हो । हिउँ र चट्टान पहिरो जाँदा हिमतालमा जम्मा भएको ठुलो पानी विस्थापित हुने, प्राकृतिक बाँध भत्कने, ठुलो मात्रामा पानी, हिलो र चट्टान बगेपछि तल्लो क्षेत्रमा ठुलो क्षति हुने गर्दछ । हिउँ पग्लने क्रममा ठाडो चुचुरो बनिबसेको हिउँको थुप्रो चर्कने, फुट्ने, खस्ने, ठाडो पर्वतमा हिउँ नपर्ने, सतहमा जमेको हिउँ चल्ने लगायतका गतिविधि भैरहन्छ । नेपालका हिमालहरू कालापत्थर बन्न थालेका छन् ।
भिरालो ठाउँ कालो देखिन्छ भने केही ठाउँमा मात्र हिउँ अडिएको देखिन्छ । यसरी हिउँको चालका कारण हिमतालको स्थिरता खलबलिएको छ । तालको पानीसँगै बाँधमा पनि समस्या भएको छ । जब तालमा पानीको मात्रा बढ्छ, पानीले निकास खोज्छ । स–सानो निकास बढेर ताल फुटाउने वा पानी बाँध माथिबाट बगेर बाँध पहिरो जानेर अति भिरालो जमिन भएका कारण पहिरो सजिलै जाने गरेको पाइएको छ । पानी बढी हुनुले कटान बढी हुन्छ र बढी पानी निकास हुन्छ । बाढी ठुलो हुन्छ ।
जोखिम न्यूनीकरणका उपायहरूः
हिमताल सिर्जित बाढीको ब्यवस्थापनको लागि संरचनात्मक प्रविधि, अनुगमन र चेतावनी प्रणालीको एकिकृत ढाँचा निर्माण गर्ने, समुदाय तयारी र नीति निर्माणका कार्य हुनु आवश्यक छ । जोखिम न्यूनीकरणका लागि छिमेकी एवम् बहुराष्ट्रिय सहकार्य आवश्यक छ । कुनै एउटा मुलुकको प्रयासबाट समाधान सम्भव छैन ।
भदौ १० गतेको बाढीपछिको उद्धार कार्यमा समेत नेपालले गरेको एक्लो प्रयास कम फलदायी भएको मानिएको छ । प्राविधिक पद्धतिबाट हिमतालको पानीको निकासको ब्यवस्थापन गर्न सकियो भने पानीको दवाव कम भै पहिरोको सम्भावना कम हुन्छ । चीनले यहि पानी निकास प्रविधि प्रयोग गरी भविष्यमा हिमालय क्षेत्रमा हुने बाढीको मात्रालाई २४—२९ प्रतिशत कम गरेको बताइन्छ । १९ औं शताब्दीमा आल्प्स् हिमपहिरोमा नियन्त्रित निकास प्रविधिले विना विनाश बाढी गएको थियो । त्यसैगरी बाँधको ढलान, पानीको नियन्त्रित बहावको ब्यवस्था गरेर पनि जोखिम कम गर्न सकिन्छ ।
तर जहाँ प्रविधि कम प्रयोग छ त्यहाँ अनुगमन र सन्देश प्रवाह प्रभावकारी बनाउनुपर्ने हुन्छ । नेपालले यसतर्फ विशेष ध्यान दिनु जरुरी छ । स्याटेलाइट प्रविधि, सतह वा स्थलगत अवलोकन, मौसम तथा हिमचालको अध्ययन र सन्देश प्रवाह प्रभावकारी बनाउनु आवश्यक छ । भदौ १० गतेको बाढी पश्चात् नेपालका हिमतालको ब्यवस्थापनका लागि प्रविधि र अनुगमन शुन्य रहेछ । ताल विस्फोटको करिव डेढ घण्टापछि मात्र बाढी नेपाल प्रवेश गरेको छ तर सूचना प्रवाह प्रभावकारी भएको भए मानव क्षति कम हुने थियो । समुदाय सचेतना पनि देखिएन । नदी किनारका मानिसहरूले बाढीका बारेमा थाहा पाउँदापाउँदै पनि अटेर गरे वा त्यो प्रकारको क्षति नहोला भन्ने ठाने कि ? समुदाय सचेतना देखिएन ।
निरन्तर अनुगमन र छिटो सन्देश प्रवाहका लागि सरकार र समुदायमा आधारित कार्य गर्नु आवश्यक छ । यसपटक सरकारले फोनमार्फत सन्देश पठाएको थियो तर अन्य आम सञ्चारका माध्यमबाट पनि सूचना प्रवाह गरिनुपथ्र्यो ।
समुदाय सचेतनाका लागि स्थानीय तह र विद्युत उत्पादक संस्थाहरूको सामाजिक दायित्वमा राखेर बाढीको सम्भावना, बाढीपछिको सतर्कता एवम् उद्धार ब्यवस्थापन, भौतिक संरचना निर्माण र भू–उपयोगका बारेमा जानकारी गराउने, उद्धार कार्यमा आवश्यक आधारभूत सिप विकास र सन्देश प्रवाह गर्ने सिप विकास गर्नु आवश्यक छ ।
प्रदेश सरकारले प्रादेशिक कार्ययोजना निर्माण गरी लागू गर्ने र केन्द्र सरकारले हिमतालको अनुगमन, पानीको निकास ब्यवस्थापन र विशेष गरेर छिकेकी एवम् बहुराष्ट्रिय संवाद, समन्वय, सहकार्य र सहयोगको वातावरण निर्माण गर्नुपर्दछ ।
नेपालले भविष्यमा यस प्रकारका हिमताल सिर्जित बाढीको सामना गरिरहनुपर्ने देखिन्छ ।
विश्वब्यापी वातावरण परिवर्तनको असरका कारण हिमतालहरू बढिरहेका र तिनीहरूको प्राकृतिक बाँध कमजोर भैरहेको अवस्थामा हिम पहिरो र बाढी आउनु स्वाभाविक हो । बाढीबाट कम क्षति हुने र बाढी पश्चात् उचित ब्यवस्थापनका लागि समुदाय एवम् सरकारी प्रयासहरू आवश्यक छ ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा जलावयु न्यायको वकालत गर्ने, समन्वय र सहयोगको वातावरण बनाउने, प्राथमिकताका साथ हिमताल र हिम नदीको अनुगमन गर्ने, सुरक्षित जलप्रवाहको प्राविधिक संरचना निर्माण गर्ने, नदीजन्य सामग्रीको प्रयोग, जलविद्युत निर्माण र तटीय वस्तीका सम्बन्धमा बनाउने नीति नियममा जोखिम न्यूनीकरण र प्रभाव ब्यवस्थापनका कार्य समावेश गर्ने, छिटो सन्देश प्रवाह र समुदाय सचेतनाका कार्य गर्न सकियो भने कम क्षति हुनसक्छ ।