Butwal Today

सन्धिखर्कमा छोराभन्दा छोरीको जन्म कम

१ आश्विन २०८३, बिहीबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पछिल्ला तीन आर्थिक वर्षको जन्मसम्बन्धी तथ्याङ्कले छोराभन्दा छोरीको जन्म सङ्ख्या कम रहेको देखाएको छ ।

नेपालमा समग्र जनसङ्ख्यामा पुरुषभन्दा महिला सङ्ख्या बढी रहे पनि सन्धिखर्कमा पछिल्लो समय जन्मिने छोरीको सङ्ख्या कम देखिएको हो ।

पछिल्ला वर्षहरूमा जन्मिने छोरीको सङ्ख्या कम देखिएपछि सन्धिखर्क नगरपालिकाले छोरी जन्माउने परिवारमा उत्साह थप्न ‘छोरी बचत खुत्रुके योजना’ सञ्चालन गरेको छ। चालु आर्थिक वर्षमा जन्मिने छोरीको खातामा नगरपालिकाले ६ हजार रूपैयाँ जम्मा गर्ने गरी कार्यक्रम अघि बढाइएको जनस्वास्थ्य निरीक्षक परियारले बताए ।

नगरपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म ८८५ पुरुष र ७३६ महिला शिशु जन्मिएका छन्। यस अवधिमा पुरुष शिशुको जन्म महिला शिशुको तुलनामा १४९ ले बढी रहेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक परियारको भनाइ छ ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा २८९ पुरुष र २६४ महिला शिशु जन्मिएका थिए। त्यस्तै, २०८१/८२ मा २९८ पुरुष र १९७ महिला तथा २०८२/८३ मा २९८ पुरुष र २७५ महिला शिशु जन्मिएका छन् ।

तथ्याङ्कले आर्थिक वर्ष २०८१/८२ मा पुरुष र महिला शिशु जन्मबीचको अन्तर सबैभन्दा ठूलो रहेको देखाउँछ। उक्त वर्ष पुरुष शिशुको सङ्ख्या महिलाको तुलनामा १०१ ले बढी थियो। त्यसैगरी, २०८०/८१ मा २५ र २०८२/८३ मा २३ को अन्तर रहेको छ।

नगरपालिकाका स्थायी बासिन्दा भई स्वास्थ्य संस्थामा आर्थिक वर्षको साउनदेखि जन्मिएका छोरीको निःशुल्क खाता खोली त्यसमा रकम जम्मा गरिने स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताए। उनका अनुसार यस कार्यक्रमले छोरी जन्माउने परिवारलाई प्रोत्साहन गर्नुका साथै बालिकाको भविष्यका लागि बचत गर्ने बानी विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
छोरी जन्मिएपछि नगरपालिकाले उनीहरूको खातामा रकम जम्मा गरिदिने भएपछि स्थानीय परिवारहरू पनि उत्साहित भएका छन् ।

नगरपालिकाले यसअघि पनि छोरी जन्माउने परिवारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नगर प्रमुख खुत्रुके बचत योजना’ सञ्चालन गर्दै आएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताएका छन् । नगर प्रमुख खुत्रुके बचत योजनाअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा ३७, २०८१/८२ मा ३३ र २०८२/८३ मा ३३ जना गरी १०३ जना छोरीको खातामा ३ हजार रूपैयाँका दरले रकम जम्मा गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार यसअघि छोरीको खातामा ३ हजार रूपैयाँ जम्मा गरिँदै आएकोमा चालु आर्थिक वर्षदेखि उक्त रकम शतप्रतिशत वृद्धि गरी ६ हजार रूपैयाँ पु¥याइएको हो । छोरीको जन्मलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यो योजनाले बालिकाको आर्थिक सुरक्षासँगै परिवार र समुदायमा छोरीप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?