Butwal Today

बाँसगढीमा पढ्दै–कमाउँदैदेखि हरित विद्यालयसम्मको अभियान: बालबालिकाको शिक्षा, सीप र सर्वाङ्गीण विकासलाई प्राथमिकता

१ आश्विन २०८३, बिहीबार
अ+
अ-

बर्दिया । बालबालिकाको शिक्षा, सीप र सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै बाँसगढी नगरपालिकाले शिक्षाको क्षेत्रमा नयाँ अभ्यास र सुधारका कार्यक्रम अघि बढाएको छ ।

परम्परागत रूपमा किताब पढ्ने, परीक्षा दिने र प्रमाणपत्र प्राप्त गर्ने शिक्षण प्रणालीलाई व्यवहारिक जीवनसँग जोड्ने उद्देश्यले नगरपालिकाले ‘पढ्दै–कमाउँदै’ कार्यक्रमदेखि नमुना विद्यालयलाई अझ व्यवस्थित र वातावरणमैत्री बनाउने अभियानसम्म सञ्चालन गरिरहेको छ ।

विद्यार्थीलाई विद्यालय शिक्षासँगै व्यवहारिक ज्ञान, सीप, उत्पादन र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले जनता माध्यमिक विद्यालय बठुवामा कृषिमा आधारित ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीले सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्ने नगरपालिकाको उद्देश्य छ ।

नगरपालिकाले विद्यालयलाई केवल पढ्ने ठाउँका रूपमा नभई बालबालिकाको प्रतिभा, सिर्जनशीलता, सीप र व्यक्तित्व विकास गर्ने केन्द्रका रूपमा विकास गर्न खोजेको जनाएको छ ।

‘पढ्दै–कमाउँदै’ कार्यक्रम बाँसगढी नगरपालिकाको शिक्षा सुधार अभियानमा नयाँ अभ्यासका रूपमा अघि आएको छ । जनता मावि बठुवामा कृषिसँग जोडेर सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीलाई पढाइसँगै उत्पादनमूलक गतिविधिमा सहभागी गराउने लक्ष्य राखेको छ । विद्यार्थीले कक्षाकोठामा कृषि, उत्पादन र व्यवसायसँग सम्बन्धित विषय पढ्ने मात्र नभई त्यसलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।

यसबाट विद्यार्थीमा श्रमप्रतिको सम्मान, जिम्मेवारी, सीप, आत्मनिर्भरता र उद्यमशीलताको भावना विकास हुने नगरपालिकाको विश्वास छ । पालिका अध्यक्ष खडक बहादुर खड्काका अनुसार शिक्षाको उद्देश्य केवल विद्यार्थीलाई परीक्षामा राम्रो अंक ल्याउने बनाउनु मात्र नभई जीवनमा आइपर्ने चुनौती सामना गर्न सक्ने सक्षम नागरिक बनाउनु पनि हो ।

“हामीले बालबालिकालाई किताबको ज्ञानसँगै व्यवहारिक ज्ञान र सीप दिन खोजेका छौँ । विद्यालयमा सिकेको कुरा जीवनमा प्रयोग गर्न सक्ने भयो भने मात्र शिक्षा अर्थपूर्ण हुन्छ । पढ्दै–कमाउँदै कार्यक्रममार्फत विद्यार्थीलाई श्रम, उत्पादन र आत्मनिर्भरतासँग जोड्ने हाम्रो प्रयास हो,” पालिका अध्यक्ष खड्काको भनाइ छ ।

कृषि क्षेत्रलाई शिक्षासँग जोड्दा विद्यार्थीले स्थानीय स्रोत र सम्भावनालाई पनि नजिकबाट बुझ्न पाउने नगरपालिकाको अपेक्षा छ । कृषि उत्पादन, प्रविधि, व्यवस्थापन र बजारका विषयमा प्रारम्भिक ज्ञान प्राप्त गर्ने अवसरले भविष्यमा विद्यार्थीलाई उद्यमशील बन्नसमेत प्रेरित गर्न सक्ने विश्वास गरिएको छ । पढ्दै–कमाउँदै कार्यक्रमको उद्देश्य विद्यार्थीलाई तत्काल कमाउने अवस्थासम्म मात्र पु¥याउनु नभई भविष्यमा आफैँले अवसर सिर्जना गर्न सक्ने पालिकाको ठहर छ ।

विद्यालय तहबाटै विद्यार्थीले उत्पादन, श्रम, लागत, आम्दानी, व्यवस्थापन र बजारको सामान्य ज्ञान प्राप्त गर्न सके उनीहरूमा उद्यमशील सोच विकास हुने अपेक्षा गरिएको छ ।

स्थानीयस्तरमा उपलब्ध जमिन, कृषि, वन, पर्यटन तथा अन्य स्रोतसाधनलाई अवसरका रूपमा पहिचान गर्न सक्ने जनशक्ति निर्माण गर्न सके त्यसले भविष्यमा बाँसगढीको स्थानीय अर्थतन्त्रलाई समेत सहयोग पु¥याउन पालिका अध्यक्ष खड्काको विश्वास छ । जनता मावि बठुवाका एक शिक्षकका अनुसार पढाइलाई व्यवहारसँग जोड्दा विद्यार्थीमा सिकाइप्रतिको रुचि बढ्ने गरेको अनुभव समेत रहेको बताए ।

“किताबमा पढेको विषयलाई विद्यार्थीले आफैं अभ्यास गर्न पाएपछि सिकाइ अझ प्रभावकारी हुन्छ । कृषि कार्यक्रमले विद्यार्थीलाई श्रमको मूल्य, उत्पादनको प्रक्रिया र जिम्मेवारी सिकाउने अवसर दिएको छ । यस्तो अभ्यासलाई अझ व्यवस्थित र विस्तार गर्न सके यसको प्रभाव दीर्घकालीन हुन सक्छ,” शिक्षा अधिकृत छत्र बहादुर शाहीको भनाइ छ ।

नगरपालिकाले ‘पढ्दै–कमाउँदै’ कार्यक्रमसँगै नगरभित्र नमुनाका रूपमा अघि बढिरहेका विद्यालयलाई अझ उत्कृष्ट बनाउने अभियान पनि अघि बढाएको छ । नमुना विद्यालय विकासलाई केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नगरी गुणस्तरीय शिक्षण–सिकाइ, विद्यालयको वातावरण, सरसफाइ, सुरक्षा, हरियाली तथा बालमैत्री वातावरणसँग जोडिएको छ ।

विद्यालयमा राम्रो भवन र कक्षाकोठा हुनु आवश्यक भए पनि त्यसले मात्र गुणस्तरीय शिक्षा सुनिश्चित नगर्ने नगरपालिकाको बुझाइ छ । विद्यार्थीले सुरक्षित, स्वच्छ र रमाइलो वातावरणमा सिक्न पाउने तथा शिक्षकले आफ्नो शिक्षण क्षमतालाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक रहेको शाहीको भनाइ छ ।

नगरपालिकाले नमुना विद्यालयलाई अन्य विद्यालयका लागि सिकाइ र प्रेरणाको केन्द्र बनाउने लक्ष्यसमेत राखेको छ ।
नगरपालिकाले विद्यालयलाई वातावरणमैत्री बनाउने उद्देश्यले ‘ग्रीन स्कुल’ अवधारणालाई समेत अघि बढाएको छ । यसका लागि बाँसगढी नगरपालिका शिक्षा शाखाबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउने प्रयास भइरहेको छ ।

विद्यालयलाई हरित, स्वच्छ, सुरक्षित र बालमैत्री सिकाइ केन्द्रका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको पालिका अध्यक्ष खड्काको भनाई छ । ग्रीन स्कुल अवधारणाले विद्यालयमा हरियाली विस्तार गर्ने मात्र नभई विद्यार्थीलाई वातावरण संरक्षण, फोहोर व्यवस्थापन, पानी संरक्षण, सरसफाइ र प्राकृतिक स्रोतको सदुपयोगबारे व्यवहारिक ज्ञान दिने अपेक्षा गरिएको अध्यक्ष खड्काको भनाई छ ।

विद्यालय परिसरमा वृक्षरोपण, फोहोर व्यवस्थापन, स्वच्छ खानेपानी, सरसफाइ तथा वातावरणीय चेतनाका गतिविधि सञ्चालन गर्न सके विद्यार्थीमा सानै उमेरदेखि वातावरण संरक्षणको संस्कार विकास गर्न सकिने नगरपालिकाको विश्वास छ ।

नगरपालिकाको शिक्षा सुधार अभियानले विद्यार्थीको विद्यालय उपस्थितिलाई मात्र उपलब्धिका रूपमा नहेरी विद्यालयमा प्राप्त हुने वास्तविक सिकाइलाई प्राथमिकता दिएको छ । विद्यार्थी नियमित रूपमा विद्यालय आउने तर आवश्यक ज्ञान, सीप र व्यवहारिक क्षमता हासिल गर्न नसक्ने अवस्था अन्त्य गर्नुपर्ने नगरपालिकाको बुझाइ छ । यसका लागि शिक्षण पद्धतिमा समेत समयानुकूल परिवर्तन आवश्यक रहेको शिक्षक विरेन्द्र चौधरी बतनाउछन् ।

शिक्षक चौधरीका अनुसार विद्यार्थीलाई प्रश्न गर्न, प्रयोग गर्न, सिर्जना गर्न र आफ्ना विचार व्यक्त गर्न प्रोत्साहित गर्ने शिक्षण पद्धति आवश्यक छ । “विद्यार्थीलाई कक्षामा चुपचाप बसाएर शिक्षकले मात्र बोल्ने शिक्षाभन्दा विद्यार्थीलाई सक्रिय बनाउने शिक्षा प्रभावकारी हुन्छ । उनीहरूले आफैं गरेर सिक्ने अवसर पाए आत्मविश्वास पनि बढ्छ,” एक शिक्षकले बताए ।

पढाइसँगै व्यवहारिक गतिविधिमा सहभागी हुँदा विद्यार्थीमा आत्मविश्वास र जिम्मेवारीको भावना बढ्ने अपेक्षा गरिएको छ । कृषिमा आधारित कार्यक्रममा सहभागी विद्यार्थीले आफूले सिकेको कुरा घरपरिवारमा समेत प्रयोग गर्न सक्ने अवस्था बन्न सक्छ । यसले विद्यालय र समुदायबिचको सम्बन्धसमेत बलियो बनाउन सक्छ ।

“किताबमा पढेको कुरा आफैं गरेर सिक्दा धेरै सजिलो लाग्छ। खेतीपाती र उत्पादनका काममा सहभागी हुँदा नयाँ सीप सिक्न पाएका छौँ । पढाइसँगै सीप सिक्न पाए भविष्यमा आफ्नै काम गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।” विद्यार्थीका लागि यस्तो कार्यक्रमले पढाइलाई बोझका रूपमा नभई प्रयोग र सिकाइको अवसरका रूपमा बुझ्न सहयोग पु¥याउने देखिन्छ ।

नगरपालिकाले बालबालिकाको शिक्षा र सीपमा गरिएको लगानीलाई तत्कालीन खर्चका रूपमा नभई भविष्य निर्माणको आधारका रूपमा लिएको छ । आज विद्यालयमा अध्ययन गरिरहेका बालबालिका नै भोलि बाँसगढीको सामाजिक, आर्थिक र विकास प्रक्रियामा नेतृत्व गर्ने जनशक्ति हुन् । उनीहरूलाई गुणस्तरीय शिक्षा, सीप, सिर्जनशीलता र सुरक्षित वातावरण प्रदान गर्न सके त्यसको प्रतिफल दीर्घकालमा सिंगो नगरपालिकाले प्राप्त गर्ने अपेक्षा समेत गरिएको छ । पालिका अध्यक्षले बालबालिकालाई भविष्यको समृद्ध बाँसगढीको आधारस्तम्भका रूपमा व्याख्या गरेका छन् ।

“हाम्रा बालबालिका आजका विद्यार्थी मात्र होइनन्, भोलिको समृद्ध बाँसगढीका आधारस्तम्भ हुन् । त्यसैले उनीहरूको शिक्षा, सीप, सिर्जनशीलता र सुरक्षित भविष्यका लागि गरिएको लगानीलाई हामीले नगरको समृद्ध भविष्यमा गरिएको लगानीका रूपमा लिएका छौँ,” पालिका अध्यक्षको भनाइ छ ।

शिक्षा सुधारका कार्यक्रम घोषणा गर्नु मात्र पर्याप्त हुँदैन । त्यसको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र मूल्यांकन आवश्यक हुन्छ । ‘पढ्दै–कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक स्रोत, कृषि सामग्री, प्राविधिक ज्ञान, शिक्षकको क्षमता र बजारसँगको सम्बन्ध महत्वपूर्ण हुन्छ ।

विद्यार्थीले उत्पादन गरेपछि त्यसको व्यवस्थापन र बजारीकरण कसरी गर्ने भन्ने पक्ष पनि कार्यक्रमको दीर्घकालीन सफलताका लागि महत्वपूर्ण मानिन्छ । त्यस्तै नमुना विद्यालय र ग्रीन स्कुल अभियानलाई पनि भौतिक सजावटमा मात्र सीमित नगरी विद्यार्थीको सिकाइ उपलब्धि, वातावरणीय चेतना, व्यवहार परिवर्तन र विद्यालयको समग्र शैक्षिक गुणस्तरमा देखिने परिणामसँग जोड्नुपर्ने आवश्यकता छ ।

नगरपालिकाको शिक्षा सुधार अभियान सफल बनाउन स्थानीय सरकारको मात्र प्रयास पर्याप्त हुँदैन । शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र समुदायबिचको सहकार्य आवश्यक हुन्छ । अभिभावकले बालबालिकाको विद्यालय उपस्थितिमा मात्र ध्यान नदिई उनीहरूले विद्यालयमा के सिकिरहेका छन् भन्ने विषयमा समेत चासो राख्नुपर्ने शिक्षकहरूको भनाइ छ ।

त्यस्तै विद्यालयले पनि समुदायसँग सम्बन्ध विस्तार गर्दै स्थानीय स्रोत र सीपलाई शिक्षण सिकाइमा प्रयोग गर्न सके कार्यक्रम थप प्रभावकारी बन्न सक्छ । बाँसगढी नगरपालिकाले अहिले अघि बढाइरहेको शिक्षा सुधार अभियानको मूल उद्देश्य पनि यही देखिन्छ । बालबालिकालाई केवल परीक्षा उत्तीर्ण गर्ने विद्यार्थी नभई ज्ञान, सीप, सिर्जनशीलता र आत्मविश्वास भएको सक्षम नागरिक बनाउने पालिकाको जिम्मेवारी रहको स्थानीय मुकेश थारुको भनादई छ ।

‘पढ्दै–कमाउँदै’ कार्यक्रममार्फत शिक्षालाई उत्पादनसँग जोड्ने प्रयास, नमुना विद्यालयलाई उत्कृष्ट बनाउने अभियान तथा ग्रीन स्कुल अवधारणामार्फत विद्यालयलाई हरित, स्वच्छ, सुरक्षित र बालमैत्री बनाउने योजनाले बाँसगढीको शिक्षा क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको छ । अब यी कार्यक्रम कागज र घोषणामा मात्र सीमित नरही विद्यालय तहमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन्, त्यसले नै अभियानको वास्तविक सफलता निर्धारण गर्नेछ ।

बालबालिकालाई आज राम्रो शिक्षा र सीप दिन सकियो भने भोलि सक्षम जनशक्ति तयार हुनेछ । सक्षम जनशक्ति तयार भयो भने मात्र स्थानीय स्तरमा रोजगारी, उद्यम, उत्पादन र आर्थिक समृद्धिको आधार बलियो बन्न सक्छ । त्यसैले बाँसगढी नगरपालिकाको शिक्षा सुधार अभियानको सन्देश स्पष्ट छ । “बालबालिकामा लगानी गरौँ, सुरक्षित र समृद्ध भविष्यको थालनी गरौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?