© 2026
नवलपरासी । सरकारी लगानीमा १५ शै्याको आधारभूत अस्पताल निर्माण भए पनि चिकित्सक नहुँदा पाल्हीनन्दन गाउँपालिका–४ स्थित अस्पतालबाट स्थानीयले अपेक्षित स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
अस्पताल दुई वर्षदेखि मेडिकल अधिकृतविहीन हुँदा चिकित्सकीय सेवा स्वास्थ्य सहायकको भरमा सञ्चालन भइरहेको छ ।
अस्पतालमा चिकित्सकको दरबन्दी भए पनि पदपूर्ति हुन नसक्दा बिरामी भर्ना गरी उपचार गर्ने, जटिल अवस्थाका बिरामीको चिकित्सकीय परीक्षण तथा परामर्श दिने र आवश्यकता अनुसार औषधी उपचारको व्यवस्था गर्ने काम प्रभावित भएको छ ।
सामान्य आधारभूत स्वास्थ्य सेवाबाहेक थप उपचारका लागि आउने बिरामीलाई जिल्ला सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पताल तथा निजी स्वास्थ्य संस्थामा पठाउनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।
स्थानीय प्रेमसागर पटेलले अस्पतालको भवन बने पनि सेवा भने स्वास्थ्य चौकीकै जस्तो रहेको गुनासो गरे । “गाउँमा अस्पताल त बन्यो, तर अस्पतालमा पाइने सेवा स्वास्थ्य चौकीको स्तरभन्दा माथि जान सकेको छैन,” उनले भने, “बोर्डमा अस्पताल लेखेर मात्र स्थानीयले सहज उपचार पाउने अवस्था हुँदैन ।”
अस्पतालमा प्रसूति केन्द्र र प्रयोगशाला सेवा सञ्चालनमा रहे पनि चिकित्सक नहुँदा ती सेवाको प्रभावकारिता सीमित भएको स्थानीयको भनाइ छ । सामान्य स्वास्थ्य समस्या लिएर आउने बिरामीले गाउँमै उपचार पाए पनि चिकित्सकीय परामर्श र थप उपचार आवश्यक पर्ने अवस्थामा जिल्ला अस्पताल वा निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।
अस्पतालका निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक वृजेश यादवका अनुसार चिकित्सकबाहेकका स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् । अस्पतालमा स्वीकृत दरबन्दीभन्दा बढी ३० जना कर्मचारी कार्यरत रहे पनि चिकित्सकको अभावमा विशेषज्ञता आवश्यक पर्ने सेवा दिन नसकिएको उनले बताए ।
“चिकित्सकले दिने सेवाबाहेकका सेवा हामीले दिइरहेका छौँ,” यादवले भने, “तर चिकित्सकीय परामर्श र उपचार आवश्यक पर्ने बिरामीलाई जिल्ला पृथ्वीचन्द्र अस्पतालमा पठाउनुपर्ने अवस्था छ ।”१५ शै्याको उक्त अस्पतालमा एक जना एमडी जनरल प्राक्टिसनर र दुई जना मेडिकल अधिकृत गरी तीन जना चिकित्सकको दरबन्दी रहेको छ । तर लामो समयदेखि कुनै पनि चिकित्सक कार्यरत छैनन् ।
चिकित्सक अभावबारे गाउँपालिकाले लुम्बिनी प्रदेश सरकार तथा जिल्ला स्वास्थ्य कार्यालयसँग पटक–पटक आग्रह गर्दै आएको जनाएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले अस्पतालको संरचनाअनुसार आवश्यक जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालनमा कठिनाइ भएको स्वीकार गरे । उनका अनुसार विशेष गरी आकस्मिक तथा प्रसूति सेवामा चिकित्सकको प्रत्यक्ष उपस्थितिको आवश्यकता पर्ने भएकाले मेडिकल अधिकृतको अभावले सेवा प्रभावित भएको छ ।
“१५ शै्याको अस्पतालका लागि आवश्यक जनशक्ति नहुँदा सेवा सञ्चालनमा समस्या भएको छ,” गुप्ताले भने, “विशेष गरी मेडिकल अधिकृतको अभावमा आकस्मिक तथा प्रसूति सेवासहित बिरामीको उपचारमा कठिनाइ भइरहेको छ ।”
यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले विगतमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई उक्त अस्पतालमा पठाउने प्रयास गरिएको भए पनि स्वास्थ्य शाखाबाट आवश्यक पहल र चासो नदेखिएका कारण चिकित्सक हाजिर हुन नसकेको दाबी गरेका छन् ।
चिकित्सक पठाउने विषयमा स्थानीय तह र स्वास्थ्य कार्यालयबीच समन्वयको आवश्यकता रहेको उनको भनाइ छ ।
पाल्हीनन्दन गाउँपालिका–४ का वडाध्यक्ष रवीन्द्र सहानीले चिकित्सक नहुँदा वडाका नागरिक उपचारका लागि जिल्ला अस्पताल तथा निजी अस्पतालमा जान बाध्य भएको बताए । गाउँपालिकाले मेडिकल अधिकृत नियुक्तिको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।
“मेडिकल अधिकृत नहुँदा स्थानीयलाई समस्या भइरहेको छ,” सहानीले भने, “चिकित्सक नियुक्त गर्ने प्रक्रिया अघि बढिरहेको छ । चिकित्सक आएपछि अस्पतालको सेवा थप व्यवस्थित हुने अपेक्षा गरेका छौँ ।” गाउँपालिकाले करोडौँ रूपैयाँ खर्च गरेर अस्पतालको भौतिक संरचना निर्माण गरे पनि त्यस अनुसार जनशक्ति व्यवस्थापन नहुँदा लगानीअनुसारको प्रतिफल स्थानीयले पाउन नसकेको देखिएको छ ।
अस्पताल सञ्चालनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, स्वास्थ्य शाखा प्रमुख तथा सम्बन्धित वडाध्यक्षसहितको व्यवस्थापन संरचना रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
स्थानीय नागरिकले भने अस्पताल निर्माणसँगै चिकित्सक र अन्य आवश्यक स्वास्थ्य जनशक्तिको दरबन्दी तथा पदपूर्ति सुनिश्चित गर्न माग गरेका छन् । उनीहरूका अनुसार भवन, उपकरण र प्रयोगशाला तथा प्रसूति सेवा उपलब्ध भए पनि चिकित्सकको अभावमा अस्पतालको मुख्य उद्देश्य अनुसार उपचार सेवा दिन सकिएको छैन ।
गाउँपालिकाले मेडिकल अधिकृत उपलब्ध गराउन प्रदेश सरकारसँग निरन्तर आग्रह गर्दै आएको जनाएको छ । चिकित्सकको पदपूर्ति भएपछि नियमित उपचार, आकस्मिक सेवा, प्रसूति सेवा र स्वास्थ्यकर्मीको चिकित्सकीय सुपरिवेक्षणसमेत थप प्रभावकारी हुने स्वास्थ्य शाखाको अपेक्षा छ ।
स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका अस्पतालमा भौतिक पूर्वाधारसँगै आवश्यक जनशक्ति व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ । दुई वर्षदेखि चिकित्सकविहीन रहेको १५ शै्याको अस्पतालमा मेडिकल अधिकृत कहिले आउने र अस्पतालले पूर्ण क्षमतामा सेवा कहिलेदेखि दिने भन्ने विषयमा भने स्थानीयको चासो कायमै छ ।