© 2026
भैरहवा । भारतबाट इन्धन भरेर नेपाल आयल निगमको भलवारीस्थित डिपोतर्फ आउँदै गरेका ट्याङ्करबाट डिजेल चोरी भएको घटनामा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले कडा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले मंगलबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा छापा हानी तीन वटा ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।
उक्त घटनापछि निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख ई. शैलेन्द्र भुसालले दोषी पम्प, ट्याङ्कर तथा चालकहरूमाथि नियमानुसार कडा कारबाही थालिएको जानकारी दिएका छन् ।
भुषालका अनुसार अमलेखगञ्ज डिपोबाट डिजेल लोड भई चालकको जिम्मामा डिपोतर्फ पठाइएका ती ट्याङ्करहरूमा सेक्युरिटी मेकानिकल लकिङ सिस्टम (ताल्चा) लगाइएको हुन्छ । जसको एउटा मास्टर की अमलेखगञ्ज र अर्को भलवारी डिपोमा मात्र हुने गर्दछ ।
कार्यालय प्रमुख भुसालका अनुसार पम्प र चालकहरूले सवारीसाधनमा दुईवटा ज्याक लगाएर गाडी उचाली मेकानिकल लकिङ सिस्टमलाई बङ्ग्याएर अनधिकृत रूपमा डिजेल निकाल्ने र ठगी गर्ने गरेको पाइएको छ । प्रहरी र निगमका कर्मचारीको रोहवरमा जाँच गर्दा तीन वटा ट्याङ्करबाट औसत १०/१० लिटर गरी जम्मा ३० लिटर डिजेल निकालिएको अवस्थामा जरकिनसहित बरामद गरिएको थियो ।
निगमको ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली’ अनुसार अनधिकृत व्यक्ति वा ट्याङ्करबाट इन्धन खरिद गर्ने पेट्रोल पम्पलाई ६ महिनासम्मका लागि सिल गरी बिक्री–वितरण पूर्ण रूपमा रोक्का गरिने र १ लाख रूपैया जरिवाना गराइने प्रावधान छ । सोही अनुसार सराफ आयल सेन्टरलाई हिजोदेखि नै सिल गरी कारबाही प्रक्रिया अगाडि बढाइएको भुसालले बताए ।
त्यसैगरी निगमको ‘ढुवानी नियमावली’ अनुसार चोरीमा संलग्न ट्याङ्करहरूलाई ३ महिनासम्म इन्धन ढुवानी गर्न नपाउने गरी निलम्बन (बन्देज) गरिएको छ । साथै मेकानिकल लकिङ सिस्टम बिगारेर इन्धन चोरीमा संलग्न रहेका ट्याङ्कर चालक तथा सह–चालकहरूलाई पूर्वदेखि पश्चिमसम्मका नेपाल आयल निगमका कुनै पनि डिपोमा ट्याङ्कर चलाउन नपाउने गरी आजीवन प्रतिबन्ध गरिएको छ ।
निगमले उपलब्ध गराएको जानकारी अनुसार लु २ ख १५४४ का चालक प्रमात्मा प्रसाद लोध सहचालक सन्तराम लोध, लु १ ख ६५०४ का चालक गणेश बारी, सहचालक उमेश कहार र लु १ ख ६६१९ का चालक दुर्गेश चाईलाई यस्तो कारबाही गरिएको हो ।
घटनास्थलबाट प्रहरीले दुईवटा ट्याङ्कर (लु २ ख १५४४ र लु १ ख ६५०४) र भाग्दै गरेको अवस्थामा अर्को ट्याङ्कर (लु १ ख ६६१९) सहित दुर्गेश चाईर मसुद अजहर हुसेनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रूपन्देही पठाएको छ ।
निगमले पम्प सञ्चालक रमेश सराफ, ट्याङ्कर चालक प्रमात्मा प्रसाद लोध, उमेश कहार तथा संलग्न ट्याङ्करहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि प्रहरीमा किटानी जाहेरी दिइसकेको छ । प्रहरीले फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य तथा थप अनुसन्धान जारी राखेको छ ।