Butwal Today

भोटेकोशी बाढीपछि उद्धारमा ड्रोनको अभूतपूर्व प्रयोग

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

बुटवल । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोटलगायतका प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा नेपालमा यसअघि कमै प्रयोग भएको स्तरमा ड्रोन प्रविधिको प्रयोग भइरहेको छ ।

सडक तथा पुल बगाएका कारण स्थलमार्गबाट पुग्न कठिन भएका बस्ती, जोखिमपूर्ण भूगोल तथा उद्धारकर्मीका लागि समेत खतरा भएका स्थानमा ड्रोन पठाएर अवस्थाको जानकारी लिने, सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने, राहत सामग्री पु¥याउनेदेखि शवलाई सुरक्षित स्थानमा सार्नेसम्मका काममा ड्रोन प्रयोग भइरहेको हो ।

ड्रोनको प्रयोगले उद्धार कार्यलाई छिटो र सुरक्षित बनाउन सहयोग गरेको छ । उद्धारकर्मी आफैँ पुग्न जोखिम हुने ठाउँमा ड्रोनमार्फत प्रारम्भिक अवस्थाको जानकारी लिन सकिने भएकाले त्यसका आधारमा उद्धारको योजना बनाउन सहज भएको उद्धारमा संलग्न प्राविधिकहरूको भनाइ छ ।

नेपालमा भूकम्पलगायतका विपद्का समयमा यसअघि पनि ड्रोनको प्रयोग हुँदै आएको थियो । तर, भोटेकोशी बाढीपछि भने खोज तथा उद्धार, राहत वितरण, नक्साङ्कन, निगरानी र सम्पर्क स्थापनासम्मका काममा विभिन्न क्षमताका ड्रोन प्रयोग भइरहेका छन् । सरकारी सुरक्षा निकायसँगै विभिन्न सङ्घसंस्था, स्वदेशी ड्रोन सञ्चालक तथा विदेशी उद्धार टोलीले अत्याधुनिक ड्रोन परिचालन गरेका छन् ।

विशेषगरी रसुवाका जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका तथा सम्पर्कविहीन कामदारको खोजीमा तापीय क्यामेरा जडित ड्रोन प्रयोग भइरहेको छ । यस्तो ड्रोनले मानिसको शरीरबाट निस्कने तापीय संकेत पहिचान गर्न सक्ने भएकाले अँध्यारा तथा सीमित दृश्य भएका स्थानमा सम्भावित व्यक्तिको अवस्थाबारे जानकारी लिन सहयोग पु¥याउँछ ।

बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि थर्मल ड्रोन प्रयोग गरिएको हो । रातको समयमा यसको प्रभावकारिता अझ बढी हुने प्राविधिकहरूको भनाइ छ । ड्रोन हब नेपालका संस्थापक प्रविन भट्टराईका अनुसार उहाँहरूको टोलीले तापीय क्यामेरा जडित ड्रोनसमेत प्रयोग गरिरहेको छ । भट्टराई लुम्बिनी बौद्ध विश्वविद्यालयको ड्रोनसम्बन्धी स्नातकोत्तर तहको पाठ्यक्रमका फ्याकल्टी प्रमुख तथा मानवरहित विमान सङ्घका महासचिवसमेत हुन् ।

“मानिसको शरीरमा ताप हुन्छ । त्यही तापलाई पहिचान गरेर मानिस खोज्न सहयोग गर्छ,” उनले भने, “हामीले छ दिनसम्म यही ड्रोन प्रयोग ग¥यौँ । दिउँसो घाममा प्रयोग गर्दा भने त्यति प्रभावकारी देखिएन । घाम लाग्दा ढुङ्गासमेत तातिने भएकाले हरेक ढुङ्गा मानिसजस्तै देखिन सक्छ र खोजीमा समय बढी लाग्छ । अब रातको समयमा मात्रै प्रयोग गर्ने कि भन्नेमा छौँ ।” ड्रोन हब नेपालले प्रयोग गरिरहेको अर्को ड्रोनमा सिमकार्ड राखेर मोबाइल सञ्जालमार्फत सञ्चालन गर्न सकिने प्रविधि रहेको भट्टराईले बताए ।

उनका अनुसार उक्त ड्रोनमा नेपाल टेलिकम वा एनसेलको सिमकार्ड राखेर मोबाइल टावरसँग सम्पर्क गराउन सकिन्छ । यसबाट दुई–तीन वटा डाँडा पारिसम्म पनि खोज तथा उद्धारका लागि ड्रोन सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

“यसले प्रभावित क्षेत्र वा कुनै निश्चित स्थानको सम्पूर्ण नक्साङ्कन गर्न सक्छ,” उनले भने, “बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरको आवतजावत अत्यधिक भएकाले चाहेजस्तो गरी ड्रोन परिचालन गर्न सकिएको छैन । तैपनि खोज तथा उद्धारका लागि सम्भव भएसम्म प्रयोग गरिरहेका छौँ ।”

ड्रोन हब नेपालले भोटेकोशी बाढीअघि र पछि खोलाको अवस्था अध्ययन गर्नसमेत ड्रोन प्रयोग गरेको थियो । बाढी आउनुअघिको अवस्था, बाढी आएपछिको परिवर्तन र बाढी शान्त भएपछि भएको क्षतिको अवस्थाबारे तुलनात्मक अध्ययनसमेत गरिएको भट्टराईले बताए ।

ड्रोनको प्रयोग खोज तथा उद्धारमा मात्र सीमित छैन । उद्धारकर्मी पुग्न कठिन र जोखिमपूर्ण भएका ठाउँबाट शवलाई सुरक्षित स्थानमा सार्नसमेत यसको प्रयोग भएको छ । नेपाली सेनाका अनुसार नुवाकोटको देवीघाट क्षेत्रमा मात्रै सातवटा शव ड्रोनको सहायताले सुरक्षित स्थानमा सारिएको थियो ।

केही दिनअघि नुवाकोटको वेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको एउटा घरबाट २४ वटा शव निकाल्नसमेत ड्रोनको रेकीले महत्वपूर्ण भूमिका खेलेको थियो । हिलो र दलदलका कारण उद्धार टोली तत्काल उक्त घरसम्म पुग्न नसकेको अवस्थामा ड्रोनबाट गरिएको निरीक्षणका क्रममा घरभित्र धेरै शव रहेको पत्ता लागेको थियो । त्यसपछि उद्धार टोलीले त्यहाँ पुगेर शव निकाल्ने काम गरेको थियो ।

यसैगरी स्थलमार्ग वा पुल भत्किएका कारण राहत सामग्री पु¥याउन कठिन भएका स्थानमा ड्रोनबाट खाद्यान्न तथा आवश्यक सामग्री पु¥याउने कामसमेत भइरहेको छ । कतिपय ड्रोनमा ध्वनि प्रसारण गर्ने उपकरणसमेत जडान गरिएको छ । सम्पर्कविहीन वा फसेका व्यक्तिसँग आकाशबाटै सम्पर्क गर्ने प्रयासका लागि यस्ता ड्रोन प्रयोग भइरहेका छन् ।

ड्रोनबाट आवाज प्रसारण गरेर जीवित व्यक्तिको प्रतिक्रिया पत्ता लगाउने तथा आवश्यक सूचना दिने कामसमेत भइरहेको उद्धारमा संलग्न ड्रोन सञ्चालकहरूले बताएका छन् । यसले उद्धारकर्मी पुग्न नसकेको स्थानमा मानिस जीवित रहेको वा नरहेकोबारे प्रारम्भिक सूचना लिन सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

ड्रोनको प्रयोग बढेसँगै यसको अनियन्त्रित र प्रयोजनविहीन प्रयोगले भने सुरक्षा चुनौतीसमेत थपेको उद्धारमा संलग्न प्राविधिकहरूले बताएका छन् । विशेषगरी रसुवाको तुलनामा नुवाकोटमा बिना अनुमति तथा प्रयोजन नखुलेका ड्रोन अत्यधिक उडिरहेको भट्टराईले बताए ।

सामान्य रूपमा ड्रोन उडाउन जान्ने व्यक्तिसमेत ड्रोन सञ्चालकका रूपमा प्रभावित क्षेत्रमा पुग्दा उद्धारमा खटिएका ड्रोनसँग प्राविधिक समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ । “ड्रोन चलाउन जान्नु भनेको आइफोन चलाउन जान्नुसरह हो । न्यूनतम तीन दिनको तालिम लिएपछि ड्रोन उडाउन सकिन्छ,” उनले भने, “तर विपत्को समयमा जुनसुकै प्रयोजनका लागि ड्रोन उडाउन दिनुभन्दा प्राथमिकता तोकेर सञ्चालन गर्न दिनुपर्छ । बिना अनुमति अवैध रूपमा उडिरहेका ड्रोन नियन्त्रणमा लिनुपर्छ ।”

उनका अनुसार ड्रोनको विद्युतीय तरङ्गको आवृत्ति जुध्दा नियन्त्रण गुमेर ड्रोन खस्न सक्ने जोखिम हुन्छ । हेलिकप्टरलगायतका अन्य हवाई साधनको आवतजावत भइरहेको अवस्थामा यस्तो जोखिम अझ गम्भीर हुन सक्ने उनले बताए । भट्टराईले विपत्को समयमा ड्रोनको प्रयोगलाई एकीकृत र व्यवस्थित बनाउन सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको बताए ।

“जोसँग ड्रोन छ, उनीहरूले आफूखुसी चलाइरहेका छन् । यत्रो विपत्ति आएको अवस्थामा खराब मनसायले पनि ड्रोनको प्रयोग हुन सक्छ,” उनले भने, “भिडिओ तथा तस्बिर खिच्नका लागि भन्दा अहिले ड्रोनको प्राथमिकता उद्धारमा हुनुपर्छ । नक्साङ्कनका कतिपय काम पछि गर्दा पनि हुन्छन् ।”

भोटेकोशी बाढीपछि नेपाललाई विभिन्न देशले खोज तथा उद्धारमा प्रयोग हुने ड्रोन तथा अन्य प्रविधि उपलब्ध गराएका छन् ।
चीन सरकारले उद्धार कार्यमा प्रयोग गर्न चारवटा ठूला ड्रोन नेपाललाई सहयोग गरेको छ । परीक्षणपछि ती ड्रोन उद्धार कार्यमा प्रयोग भइरहेका छन् । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका अनुसार चीनले दिएको एउटा ड्रोनले ८० किलोग्रामसम्म सामग्री बोक्न सक्छ ।

भारतले समेत आफ्नो उद्धार टोलीसँगै आधुनिक ड्रोन प्रविधि प्रयोग गरेर विभिन्न जलविद्युत् आयोजनामा फसेका व्यक्तिको खोजी तथा उद्धार गरिरहेको छ । भारतको गरुडा एरोस्पेसले दुईवटा भारी सामग्री बोक्न सक्ने ड्रोन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

स्विट्जरल्यान्ड सरकारले पनि जलविद्युत् आयोजनाका सुरुङ तथा मानिस प्रवेश गर्न जोखिमपूर्ण स्थानमा उद्धार गर्न सहयोग पुग्ने आधुनिक ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराएको छ । ऊर्जा मन्त्रालयका अनुसार उक्त ड्रोन अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण संरचनाको निरीक्षण र खोजीका लागि उपयोगी छ ।

स्विट्जरल्यान्डको फ्लाइएबिलिटी कम्पनीले निर्माण गरेको ‘एलिओस’ श्रेणीका ड्रोन विशेषगरी सुरुङ, साँघुरा संरचना तथा मानिस प्रवेश गर्न जोखिमपूर्ण स्थानको निरीक्षणका लागि बनाइएका हुन् । ड्रोनको बाहिरी संरचना बलियो कार्बन फाइबरबाट बनाइएको भएकाले सुरुङका भित्ता वा भग्नावशेषमा ठोक्किँदा पनि उडानलाई निरन्तरता दिन सक्ने बताइएको छ ।

अष्ट्रेलियाले पनि ड्रोन सञ्चालकसहितको उद्धार टोली नेपाल पठाएको छ । १५ सदस्यीय विपद् सहायता तथा प्रतिकार्य टोली प्रभावित क्षेत्रमा परिचालित छ । दक्षिण कोरियाले पठाएको विपत् उद्धार टोलीसँग पनि ड्रोनलगायत खोज तथा उद्धारका आवश्यक उपकरण रहेका छन् ।

भोटेकोशी बाढीले सडक, पुल र सञ्चार पूर्वाधारमा ठूलो क्षति पु¥याएपछि अझै पनि कतिपय प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन छ । यस्तो अवस्थामा जोखिमपूर्ण स्थानको अवस्था पहिचानदेखि खोज, उद्धार र राहत सामग्री पु¥याउनेसम्मका काममा ड्रोन उद्धारकर्मीका लागि महत्वपूर्ण साधन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?