Butwal Today

भलिवल खेलेर फर्कदै गरेका युवकको पहिरोमा परेर मृत्यु

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

सल्यान । अविरल वर्षापछि राप्ती लोकमार्ग अन्तर्गत सल्यान दाङ सडकखण्डमा खसेको पहिरोमा परेर सल्यानका एक युवा भलिबल खेलाडीको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ३ निवासी १७ वर्षीय मदन पुनको पहिरोसँगै झरेको रुखले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार मंगलबार राति करिब साढे ९ बजे कपुरकोट गाउँपालिका ५, रिमस्थित अरिङ्गालेफेदी खारखोला सडकखण्डमा पहिरो खसेको थियो । सोही क्रममा रुखसहितको पहिरोमा परेर मदन गम्भीर घाइते भएका थिए ।

उनी कपुरकोट ५, रिममा पौराणिक तीनडाँडा मेलाको अवसरमा आयोजित खुला भलिबल प्रतियोगितामा सहभागी भएर घर फर्किँदै थिए । पहिरोमा परी गम्भीर घाइते मदनलाई उपचारका लागि सुर्खेततर्फ लैजाने क्रममा जयतपानी पुगेपछि स्वास्थ्यकर्मीले परीक्षण गरेका थिए । र परीक्षणका क्रममा उनको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटनामा सोही स्थानमा पहिरोमा परी सुनिल थापा पनि घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?