Butwal Today

विपत् जोखिममा चुरेका खोला

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

बुटवल । रुपन्देहीको तिलोत्तमा–१२ की बासिन्दा पदमा पाण्डे बर्खायाममा उत्तरी चुरे पहाडमाथि बादल मडारिन थालेपछि आत्तिन थाल्छिन् ।

वि.सं. २०७७ भदौ ९ गते र २०७८ साल साउन ९ गते रोहिणी नदीमा आएको बाढीले आफ्नो र वरपरका गाउँमा पु¥याएको क्षति देखेकी पाण्डेलाई चुरेमाथि मडारिने कालो बादलले तर्साउने गरेको हो ।

२०७७ भदौ ९ गते राति सामान्य रूपमा बगिरहेको रोहिणी नदीमा मध्यरातमा भीषण बाढी आएर उनको गाउँमा थुप्रै खेतीयोग्य जग्गाको कटान गरेको थियो भने धानबालीमा ठुलो क्षति पु¥याएको थियो । गाउँमा रहेको ठुलो कुखुरा फार्म बगाउँदा त्यहाँका कामदार रातभर छानोमा बसेर ज्यान जोगाएका थिए र उनीहरूलाई भोलिपल्ट बिहान सशस्त्र प्रहरीको उद्धार टोलीले उद्धार गरेको थियो ।

लगातार दुई वर्ष रोहिणी नदीमा आएको बाढीले करिब ४० करोड खर्चेर बनाइएको रोहिणी बहुउद्देश्यीय जलाशय र यसका संरचना पुर्दा यो परियोजना अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन ।

तिलोत्तमा–१२ कालिका टोलका चूडामणि ज्ञवाली भन्छन्, “यता त जत्रो पानी परे पनि खोला बढ्ने डर हुँदैन तर चुरे पहाडमा केहीबेर ठुलो पानी पर्दा एक्कासि खोला बौलाउने गर्छ । यता पानी परेको छैन भनेर मज्जाले सुत्दा चुरेमा परेको पानीले गर्दा राति खोलाले घरखेतसहित आफूलाई पनि बगाउने हो कि भन्ने डर लाग्छ ।”

वर्षायाममा रोहिणी खोला किनारका बासिन्दा पाण्डे र ज्ञवाली जस्तै कजरार, घोडाहा, कमेरे, भनभने, सुखौरा, तिनाउ, दानो, इङ्गुरिया, तुलबुलिया, कञ्चन जस्ता एक दर्जनभन्दा बढी नदी किनारका हजारौँ बासिन्दाहरू खोलामा आउने अनिश्चित बाढी र नदी कटानको भयले राम्रोसँग निदाउन पनि सक्दैनन् ।

रूपन्देही जिल्लाको उत्तरी चुरे पहाडबाट उत्पन्न हुने यी नदीहरूमा वर्षायाममा पानीको मात्रा र तीव्रता अस्वाभाविक ढङ्गले परिवर्तन भइरहने भएकोले चुरेबाट उत्पन्न भएका नदी छेउछाउका बस्तीहरू सधैँ जोखिममा रहने गरेका छन्  ।

चुरेलाई तराईको जलभण्डारका रूपमा लिइन्छ । चुरेले सोसेर राख्ने वर्षातको पानी नै तराईको भूमिगत पानीको मुख्य स्रोत हो । चुरेको जमिनले निरन्तर रूपमा भूमिगत जल प्रवाह गर्ने भए पनि ठुलो पानी पर्दा चुरेले पानी सोस्न सक्दैन, जसले गर्दा खहरे खोलाको रूपमा वर्षायाममा तराईतर्फ पानी बग्ने गर्दछ । खहरे खोलाहरू छोटो समयमा तीव्र वेगमा बग्ने भएकाले आकस्मिक रूपमा खोलामा बाढी आएर ठुलो क्षति हुने गरेको छ ।

पछिल्ला वर्षहरूमा चुरेको सतह खलबलाउने खालका मानवीय गतिविधिहरूले गर्दा भूक्षय र पानीका प्राकृतिक बहाव तथा खोल्सा पुरिने कार्य बढिरहेकोले चुरेको जल भण्डारण क्षमतामा ह्रास आएको बताउँछन् राष्ट्रपति तराई–मधेस चुरे संरक्षण विकास समिति (चुरे बोर्ड) की पूर्व सदस्य तथा विपत् विज्ञ डा. सुस्मिता ढकाल । उनी भन्छिन्, “चुरेको सतहले सोस्न नसकेको पानीमा भूक्षयबाट निस्केको गिट्टी–बालुवा मिसिँदा जलप्रवाह बढी शक्तिशाली हुन्छ ।

त्यस्तो लेदो पानी समथर भूभागमा बग्दै आउँदा छेउछाउको जमिनलाई खियाउँदै आफूसँग जम्मा गर्दै बग्छ, जसले गर्दा पानीको वेग शान्त नहुँदासम्म शक्तिशाली खहरे खोला बनेर बग्ने भएकाले नदी छेउछाउको क्षेत्रमा बढी क्षति पु¥याउने गर्दछ ।”

सामान्य अवस्थामा चुरेका नदीहरूले ठुलो क्षति नगर्ने भए पनि चुरेमा क्लाउड ब्रस्ट हुँदा र चुरे क्षेत्रमै खोला थुनिएर पछि फुट्दा सानो खोलामा पनि शक्तिशाली बाढी आउने र त्यसले तराईमा ठुलो क्षति गर्न सक्ने भएकाले रूपन्देही जिल्ला लगायतका चुरेका खोलाहरू शान्त र सुरक्षित छन् भनेर ढुक्क बस्न नसकिने उनको भनाइ छ ।

चुरेलाई हिमालय पर्वतीय क्षेत्रको सबैभन्दा कान्छो र कमजोर भूधरातल मानिन्छ । बालुवा, गिर्खे चट्टान, कंकड, माटो र पत्रे चट्टानबाट बनेको चुरे क्षेत्रमा गिट्टी–बालुवाको उत्खनन, भौतिक पूर्वाधार निर्माण, खोरिया खेती, वन विनास र अति चरिचरनले गर्दा पहिरो र भूस्खलनका घटनाहरू बढिरहेका छन् । चुरे विज्ञहरूका अनुसार प्रतिवर्ग किलोमिटर प्रतिवर्ष ७८० देखि २० हजार मेट्रिक टन माटो चुरेबाट बगिरहेको छ । यही माटो तराईका नदीहरूमा थुप्रिँदा पानीको बहावमार्ग कम हुँदै गएकोले चुरेबाट उत्पन्न खोलाहरूमा हरेक वर्ष बाढीको समस्या हुने देखिन्छ ।

रूपन्देही जिल्लाको २३ हजार ६२४ हेक्टर जमिन चुरे क्षेत्रमा पर्दछ । जिल्लाका १४ वटा खोलाहरू चुरेबाटै उत्पन्न भएका छन् । चुरेबाट निस्कने खोलाहरूको पिँध एवं किनारहरूबाट ढुंगा, गिटी, बालुवा निकाल्दा माथिल्लो भागमा खोलाको पिँधको प्राकृतिक भिरालोपन बदलिएको पाइन्छ । त्यसरी गहिरिने खोलाको माथिल्लो भागमा बहाव तेज हुने, नदीकिनार भासिने र तीव्र गतिमा भूक्षय हुने तथा तल्लो भागमा धेरै बालुवा थुप्रिने, खोलाको पिँध उठ्ने र यहाँका नदीखोलाले धार बदल्ने प्रक्रिया सुरु भएको छ । वर्षातको समयमा तराईका खोला, नदीहरूले आफ्नो बाटो बदलेर बस्ती र खेतबारीमा पसेका घटना बढ्दै जान थालेका छन् ।

चुरेबाट उत्पन्न हुने खोलाहरूबाट तराईका खेतबारी र बस्तीहरूलाई जोगाउन चुरेका जलाधार क्षेत्र तथा नदी उकास क्षेत्रमा बाँस, बेत जस्ता वनस्पतिहरू हुर्काउनुपर्ने र नदीलाई धार परिवर्तन गर्न नदिनका लागि ग्याभिङ वाल, स्पर निर्माण गर्नुपर्ने तथा बायो–इन्जिनियरिङ पद्धतिबाट तटबन्ध लगाउनुपर्नेमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाका वरिष्ठ भू–संरक्षण अधिकृत सन्दिप चौधरीको सुझाव छ ।

उनी भन्छन्, “सकेसम्म चुरेको पानीलाई माथिल्लो क्षेत्रमा नै रोक्ने र जमिन रिचार्ज गर्ने व्यवस्था मिलाउनु पर्छ । चुरे र भावर क्षेत्रमा जलाशय र पोखरी निर्माण गरेर बर्खायाममा सुरुमा त्यस्ता जलाशय र पोखरीमा जम्मा भएपछि मात्र पानी बाहिर बग्ने व्यवस्था मिलाउने हो भने चुरेका खोलाको कारण हुने क्षति त रोकिन्छ नै, स्यान्ड हार्भेस्टिङ, भूमिगत पानीको रिचार्ज जस्ता दीर्घकालीन लाभसमेत प्राप्त गर्न सकिन्छ ।”

देवदह, बुटवल र सैनामैना नगरपालिकामा चुरेबाट उत्पन्न खहरे खोलामा बाढीको जोखिम बढी भए पनि देवदह नगरपालिकाका खोलाहरूको जलाधार क्षेत्रमा बढी मानवीय अतिक्रमण भएकोले त्यो क्षेत्र खहरे खोलाको बाढी र नदी कटान हुने गरेको छ ।

नगरपालिकाले नदी जोखिम क्षेत्र निर्धारण गरी त्यसमा भौतिक निर्माणका कामहरू नगर्न अनुरोध गरे पनि जलाधार क्षेत्र, नदी किनारा र खोल्साहरू पुरेर घर लगायतका संरचनाहरू निर्माण गर्ने र नदी उकास क्षेत्रमा खेतीपाती गर्ने प्रचलन बढ्दो छ । यस्ता कार्यले गर्दा चुरेका खोलाहरूले कुनै पनि समयमा ठुलो क्षति पु¥याउने देखिन्छ ।

चुरेका खोलामा निरन्तर जलप्रवाह नहुने भएकोले यस्ता खोलाबाट तराईले ठुलो लाभ लिन नसक्ने भए पनि चुरे संरक्षण र चुरेबाट निस्कने खोलाको उचित व्यवस्थापन गर्न नसकेमा चुरे र तराईले नै ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउने भएकाले चुरेमा वन संरक्षण, खोल्सा संरक्षण र चुरेजन्य पदार्थको उत्खननलाई नियन्त्रण गर्न सकेमा चुरेको जल शोषण क्षमता बढ्ने र खोलाहरूलाई पनि सुरक्षित राख्न सकिने विज्ञहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?