Butwal Today

१३ दिनदेखि बेपत्ता, परिवारमा आशा बाँकी

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

बुटवल । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीमा परी रुपन्देहीका १८ जना अझै बेपत्ता छन् । बाढी आएको १४ दिन बितिसक्दा पनि आफन्तको अवस्था पत्ता नलागेपछि परिवारजन खोजी र उद्धारको पर्खाइमा छन् ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका अनुसार बेपत्ता हुने सबै पुरुष छन् । उनीहरू १९ देखि ४५ वर्ष उमेर समूहका छन् । बेपत्ता हुनेमा जलविद्युत आयोजनामा कार्यरत प्राविधिक तथा कर्मचारी, प्रहरी र सामान लिन रसुवा पुगेका सवारी चालक छन् ।

बेपत्ताको खोजीमा परिवार तथा आफन्तहरू त्रिशूली र नारायणी नदी किनारदेखि विभिन्न अस्पतालसम्म पुगेका छन् । तर, अहिलेसम्म आफन्तको अवस्थाबारे यकिन जानकारी पाउन सकेका छैनन् । शव फेला नपरेसम्म आफ्ना प्रियजन सकुशल फर्किने आशा परिवारले गरेका छन् ।

रुपन्देही प्रशासनको विवरण अनुसार बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र कञ्चन गाउँपालिकाका तीन–तीन जना बेपत्ता छन् । सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र मायादेवी गाउँपालिकाका दुई–दुई तथा तिलोत्तमा नगरपालिका, शुद्धोदन र रोहिणी गाउँपालिकाका एक–एक जना बेपत्ता रहेको प्रशासनको अभिलेखमा उल्लेख छ ।

बुटवल–१२ का १९ वर्षीय अंश गिरी र २३ वर्षीय अनुप पुन माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनामा कार्यरत थिए । बुटवल–११ का ३८ वर्षीय जीवलाल अधिकारी माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनामा कार्यरत रहेको प्रशासनले जनाएको छ ।

देवदह–७ का अस्विन अधिकारी र अस्मित अधिकारी सामान लिन सवारीसाधन लिएर रसुवा पुगेका चालक थिए भने देवदह–१० का धनबहादुर परियार एनडिजी जलविद्युत आयोजनामा कार्यरत थिए । कञ्चन गाउँपालिकाका महेश आचार्य माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा, लिलकुमार सुनार रसुवा भन्सारमा र शिशिर विक मैलुङ जलविद्युत आयोजनामा कार्यरत थिए ।

त्यस्तै मैलुङ जलविद्युत आयोजनामा कार्यरत मायादेवी गाउँपालिकाका अब्दुल खान र शिवनाथ थारु तथा रसुवा जलविद्युत आयोजनामा कार्यरत सैनामैनाका गणेश ज्ञवाली र जीवन चौधरी पनि बेपत्ता रहेको प्रशासनको विवरणमा छ ।

सिद्धार्थनगरका निरजबाबु रेग्मी माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनामा, शिवप्रसाद चौधरी नुवाकोट पावर हाउसमा, शुद्धोदनका निराजन पङ्गेनी रसुवा जलविद्युत आयोजनामा कार्यरत थिए । तिलोत्तमाका वसन्त थारु तथा रसुवागढी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सन्दीप भर पनि बाढीपछि सम्पर्कविहीन छन् ।

रूपन्देहीबाट बेपत्ता हुनेको सङ्ख्या प्रशासनको अभिलेखमा उल्लेख भएभन्दा बढी हुन सक्ने देखिएको छ । केही व्यक्तिको नाम प्रशासनको सूचीमा समावेश नभएको परिवारजनले बताएका छन् ।

बुटवल–११ कालिकानगरका किशोर न्यौपाने क्षेत्रीको नाम पनि प्रशासनको बेपत्ता सूचीमा छैन । रसुवागढी जलविद्युत आयोजनामा हाइड्रो मेकानिकल ओभरसियरका रूपमा कार्यरत न्यौपाने भदौ १० गते बिहान करिब पौने ९ बजेसम्म परिवार तथा आफन्तको सम्पर्कमा थिए । त्यसपछि भने उनको अवस्था अज्ञात छ ।

बेपत्ता परिवारले जलविद्युत आयोजनाका सुरुङ तथा पावर हाउस क्षेत्रमा खोजी तीव्र बनाउन माग गरेका छन् । बाढीपछि आयोजनाका संरचनाभित्र फसेका तथा घरभित्र पुरिएका मानिसलाई समेत जीवितै उद्धार गरिएका समाचार सार्वजनिक भइरहेका बेला सुरुङभित्र पनि व्यवस्थित रूपमा खोजी र उद्धार गर्न सके आफन्त फेला पर्ने आशा उनीहरूले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?