Butwal Today

तरकारीले सिकायो बोल्न

२२ भाद्र २०८३, सोमबार
अ+
अ-

चन्द्रौटा । केही वर्षअघि सकुन्तला कोरीको दिन घरधन्दामै बित्ने गर्दथ्यो । घरको काम, परिवारको जिम्मेवारी, अनि फेरि त्यही दिनचर्या । तर अहिले उनको दैनिकी फेरिएको छ । बिहानको काम सकेपछि सकुन्तला घरनजिकैको करेसाबारी पुग्छिन् ।

त्यहाँ मौसमी तरकारी, हरियो सागसब्जी र खेतीपातीसँग उनको दिन सुरु हुन्छ । आफ्नै हातले उत्पादन गरेको तरकारी परिवारको भान्सामा पुग्छ । बढी भएको तरकारी बजारमा बिक्री हुन्छ ।

जिल्लाको विजयनगर गाउँपालिका–२, जर्लहियाकी कोरीका लागि मात्रै नभएर विशेष गरी मधेसी मूलका महिलाको लागि प्रेरणा समेत हो । उनको लागि भने खेतीपातीमा आएको परिवर्तन मात्र होइन, आत्मनिर्भरताको मार्ग पनि रहेको सकुन्तला बताउँछिन् । ‘पहिला बजारबाट किनेर मात्रै तरकारी खान्थ्यौँ’ उनी भन्छिन्, अहिले आफ्नै बारीको ताजा तरकारी खान पाएका छौँ । बेचेर केही आम्दानी पनि हुन थालेको छ ।

कुन मौसममा कुन तरकारी लगाउनेदेखि पशुपालन, बचत, समूह सञ्चालन र गाउँको विकास निर्माणसम्मका विषयमा उनीहरू छलफल गर्न थालेका छन् । बैठकमा आफ्ना कुरा राख्छन् । गाउँका समस्या पहिचान गर्छन् । समाधानका लागि वडा कार्यालयसम्म पुग्छन् ।

यो परिवर्तनको पछाडि अन्धेरी हिल्फे र कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित ‘खाद्य सुरक्षामा सामुदायिक रूपान्तरणका लागि पैरवी परियोजना’ को भूमिका रहेको स्थानीय महिलाहरू बताउँछन् ।

परियोजनाले गाउँपालिकाका सातवटै वडामा ३५ वटा महिला कृषक समूह गठन गरेको छ । ती समूहमा आबद्ध महिलाको संख्या ठूलो छ । परियोजनाका अनुसार १ हजार ८१ जना महिलाको दैनिकी र सामाजिक सहभागितामा परिवर्तन ल्याउने काम भइरहेको छ ।

लालपुर महिला कृषक समूहकी सचिव किरण यादवका लागि यो परिवर्तन अझ गहिरो छ । पहिला आफूहरू घरायसी काममै सीमित हुने गरेको बताईन् । ‘बाहिरी वातावरणको धेरै जानकारी थिएन’ यादवले भनिन्, “अहिले धेरै कुरा सिक्ने मौका पाएका छौँ । खेतीपातीदेखि विकाससम्मका विषयमा खुलेर बोल्न थालेका छौँ ।”

समूहमा आबद्ध भएपछि महिलाहरूले मिलेर बस्ने भावनाको विकास भएको भगवती माता महिला कृषक समूहकी उपाध्यक्ष जोगमती मुराउ बताउँछिन् । उनका अनुसार समूहमा आबद्धपछि खेती गर्ने तरिकासँगै उत्पादन, स्वास्थ्य बीचको सम्बन्ध समेत बुझ्न थालेका छन् । सदस्यलाई मौसमअनुसारका तरकारीका बीउ वितरण गरिएको छ ।

असल कृषि अभ्याससम्बन्धी कक्षामार्फत प्राङ्गारिक तथा विषादीरहित खेतीमा जोड दिइएको मुराउको भनाइ छ । उनका अनुसार परियोजनाले कृषि र खाद्य सुरक्षालाई महिला सशक्तीकरणसँग जोडेको छ । आयआर्जन र आत्मनिर्भरताको आधार पनि बनेको छ ।

उनीहरूलाई प्राङ्गारिक मल तयार गर्ने प्रेरित गरिएको कालिका स्वावलम्बन सामाजिक केन्द्रकी परियोजना संयोजक सृजना पौडेलले बताईन् । कम लागतमा व्यवसायिक खेती गर्ने तरिकादेखिसम्म सिकाईएको उनको भनाइ छ । रासायसनिक मलको प्रयोग घटाउँदै दैनिकी फेर्न आत्मनिर्भरताबको आधार विकासमा टेवा पुग्नेगरी प्रयास गरेको उनले जिकिर गरिन् ।

गाउँपालिकामा गरिएका परिवर्तनको प्रयास करेसाबारीमा मात्र रोकिएको छैन । स्थानीय नागरिकको दैनिकीलाई आयसँग जोड्ने कार्यक्रम ल्याएको केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए । त्यसै अन्र्तगत स्थानीय ५० भूमिहीन परिवार पहिचान गरी एक सय बाख्रा प्रदान गरिएको उनले बताए ।

‘नागरिकलाई स्वरोजगार र आयआर्जनसँग जोड्ने प्रयास गरेका छौँ, यसले आर्थिक अवस्थामा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ’, उनले भने । यस्तै कृषकका लागि अर्को ठूलो समस्या थियो—पानी । सिँचाइ अभावका कारण खेती गर्न कठिनाइ भोगिरहेका किसानका लागि १८ वटा स्यालो ट्युबेल जडान गरिएको केन्द्रका फोकल पर्सन अजय चौधरी बताउँछन् ।

परियोजनाले बीउदेखि सिँचाइसम्म र उत्पादनदेखि आयआर्जनसम्मका पक्षलाई एउटैमा जोड्ने प्रयास गरेको उनले जनाए ।
महिलाको आवाजमा परिर्वतन देखिएको परियोजनाका सहजकर्ता दिपक भण्डारीले बताए ।

पहिले बैठकमा बोल्नसमेत हिच्किचाउने महिलाहरू अहिले आफ्नो अधिकारका विषयमा खुलेर बोल्न थालेका उनले बताए । “पहिले महिलाहरू बैठकमा बोल्न डराउँथे,” उनी भन्छन्, “अहिले उनीहरू वडा कार्यालयमा पुगि बजेटकालागि प्रस्ताव पेश गर्ने अवस्थामा पुगेका छन् ।” गर्भवती, सुत्केरी महिला तथा बालबालिकाको स्वास्थ्य र पोषणमा प्राथमिकता दिएको परिवर्तनकर्ता सविता विश्वकर्माले बताइन् ।

विजयनगरका कृषि विकास अधिकृत प्रभु यादव पनि परियोजनाले कृषि क्षेत्रमा सकारात्मक काम गरेको बताउँछन् । तालिम र सिँचाइजस्ता कार्यक्रमले किसानलाई प्रत्यक्ष लाभ पुगेको उनले बताए । उनका अनुसार विजयनगरका सबै वडामा सञ्चालन भइरहेको परियोजनाले अहिले कृषि, पशुपालन, सिँचाइ, खाद्य सुरक्षा, महिला सशक्तीकरण र आयआर्जनलाई जोडेर समुदायमा परिवर्तन ल्याउने प्रयास गरिरहेको छ ।

परिवर्तन सधैं ठूलो भवन, सडक वा ठूला योजनाबाट मात्र हुँदैन् उनले भने कृषि क्षेत्रमा गरिएका सानो प्रयासले स्थानीयको दैनिकसँगै स्वास्थ्यकर खानापान लगायत आम्दानीमासमेत आत्मनिर्भरता टेवा पुगेको छ । यसले सम्रग विकास सकारात्मक सन्देश दिएको यादवले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?