© 2026
रसुवा । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा कार्यरत सयौँ कामदारलाई प्रभावित बनायो। कैयौँ बेपत्ता भए, धेरैको शव फेला पर्यो भने अझै ठूलो संख्यामा मानिसको अवस्था अज्ञात छ। तर यही भयावह विपत्तिबीच माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक लुआ हाइताओका लागि उद्धार टोलीको प्रयास नयाँ जीवनको कारण बन्यो। बाढी आएको ११औँ दिन उनलाई सुरुङभित्रबाट सकुशल उद्धार गरियो।बाढीले सुरुङभित्र पानी र लेदो भरिएपछि लुआ सुरुङको तुलनात्मक रूपमा अग्लो भागमा चढेर ज्यान जोगाउन सफल भएका थिए। त्यसपछि सुरु भयो—अन्धकार, चिसो, भोक र प्याससँगको संघर्ष।
दस दिनसम्म उनले उद्धारको प्रतीक्षा गरे
सुरुङभित्र रहँदा उनी बारम्बार उद्धार टोलीको उज्यालो देखिने आशामा थिए। टाढाबाट बत्ती देखिनासाथ ठूलो स्वरले चिच्याएर आफू त्यहाँ रहेको जानकारी गराउने प्रयास गर्थे।‘मैले जतिबेला बत्ती देख्थें, त्यतिबेलै ठूलो स्वरले चिच्याएर बोलाउँथें,’ उनले उद्धारपछि बताएका छन्।तर सुरुवाती प्रयासमा उद्धार टोलीले उनको आवाज सुन्न सकेन। उद्धारकर्मीहरू क्रमशः नजिकिँदै गए। अन्ततः टर्चको उज्यालो उनको आँखामा पर्यो। त्यो क्षण लुआका लागि विश्वास गर्नै कठिन थियो। आफू साँच्चिकै उद्धार हुन लागेको कुरा उनलाई पत्याउन गाह्रो भयो।सुरुङभित्र नेपाली सेना र दक्षिण कोरियाली उद्धार विज्ञहरूको टोली परिचालित थियो। लुआलाई फेला पारेपछि उद्धारकर्मीहरूले सहारा दिँदै उनलाई बिस्तारै बाहिर ल्याए।
सुरुङबाट बाहिर निस्कनेबित्तिकै उनले सबैभन्दा पहिले पानी मागे
उद्धार टोलीले ‘नेपाली होरु’ भनेर सोध्यो। उनले नबुझेपछि फेरि ‘चाइनिजरु’ भनेर सोधियो। त्यसपछि उनले टाउको हल्लाउँदै आफू चिनियाँ नागरिक भएको संकेत गरे।उद्धारपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। उनको अहिले उपचार भइरहेको छ।नेपालका लागि चिनियाँ राजदूतले अस्पताल पुगेर लुआको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनको उद्धारलाई ‘चमत्कार’को संज्ञा दिएका छन्।
परिवार पाल्न नेपाल आएका थिए लुआ
लुआ हाइताओ चीनको हेनान प्रान्तको आन्याङ क्षेत्रका बासिन्दा हुन्। उनको परिवारमा श्रीमती, एक सन्तान र ६० वर्षीया दिदी लु हाइरोङ छन्।किसान परिवारमा जन्मिएका लुआको परिवारको मुख्य आम्दानी गहुँ र मकै खेतीबाट हुने गर्दथ्यो। सीमित जमिनबाट हुने आम्दानीले परिवार चलाउन कठिन भएपछि उनी र उनकी श्रीमती वर्षभरि ज्याला मजदुरी गर्थे। लुआ मुख्यतः सिकर्मीको काम गर्थे। श्रीमतीको स्वास्थ्य कमजोर भएकाले उनी धेरै शारीरिक श्रम गर्न सक्दिनथिन्। आर्थिक अभावकै कारण लुआले सन् २०२४ को चिनियाँ नयाँ वर्षसमेत परिवारसँग राम्रोसँग मनाउन पाएनन्। परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले उनले रोजगारीका लागि नेपाल आउने निर्णय गरे।दिदी लु हाइरोङका अनुसार लुआले नेपालमा कहाँ र कुन कामका लागि जान लागेको भन्नेबारे परिवारलाई विस्तृत जानकारी दिएका थिएनन्।विदेश गएर कमाइ गर्ने र परिवारको अवस्था सुधार्ने आशामा नेपाल आएका लुआ यस्तो भयावह विपत्तिमा फस्लान् भन्ने परिवारले कल्पनासमेत गरेको थिएन।
एउटा धमिलो तस्बिरले जगायो आशा
नेपालमा बाढी र पहिरो आएको खबर पाएपछि सुरुमा लुआको परिवारलाई उनी सुरक्षित छन् कि विपत्तिमा परेका छन् भन्ने जानकारी थिएन। नेपाल पठाउने कम्पनीबाट फोन आएपछि मात्रै उनकी दिदीले भाइ विपत्तिमा परेको थाहा पाइन्।टाढाको देश नेपालबाट सही सूचना पाउन कठिन थियो। बेपत्ता व्यक्तिका परिवारले बनाएका सहायता समूहमा आउने सानातिना सूचना नै परिवारका लागि आशाको आधार बनेका थिए।लुआको परिवारले न राम्ररी खान सकेको थियो, न सुत्न। नेपालमा कसैलाई जीवितै उद्धार गरिएको खबर सुन्दा मात्रै उनीहरूमा झिनो आशा पलाउँथ्यो।यही क्रममा सेप्टेम्बर ५ मा लु हाइरोङले वीच्याट समूहमा एउटा धमिलो स्क्रिनसट देखिन्। त्यसमा नेपालको एक जलविद्युत् आयोजनाको सुरुङबाट चिनियाँ नागरिकलाई उद्धार गरिएको उल्लेख थियो।तस्बिरमा देखिएको सेताम्मे कपाल र दुब्लाएको अनुहारले उनलाई आफ्नै भाइको सम्झना दिलायो।
त्यसपछि समूहमा थप स्पष्ट तस्वीरहरू आउन थाले।तस्वीर देख्नेबित्तिकै लु हाइरोङ भावुक हुँदै चिच्याइन्—‘यो त मेरो भाइ नै हो’केही समयपछि बेइजिङबाट आएको फोनले त्यो आशालाई वास्तविकतामा बदलिदियो। ‘लु हाइताओ भेटिएका छन्।’भाइ जीवित भेटिएको खबर सुनेपछि लामो समयदेखि अनिश्चितता र पीडामा डुबेको परिवारको मनको भारी एकाएक हलुका भयो। दस दिनसम्म अँध्यारो सुरुङभित्र जीवनसँग संघर्ष गरेका लुआका लागि उद्धार टोलीले देखाएको त्यो बत्ती केवल उज्यालो थिएन—त्यो उनको नयाँ जीवनको सुरुवात थियो।