© 2026
चन्द्रौटा । रसुवा बाढीपीडितहरूलाई ओल्मा फाउन्डेशन नेपाल कपिलवस्तुले सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार ५ सय २ रुपैयाँ सहयोग गरेको हो । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले फाउन्डेशनको पहलमा उक्त रकम संकलन गरी कोषमा जम्मा गरिएको जनाइएको छ ।
सोमबार संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको फाउन्डेशनका कपिलवस्तु जिल्ला अध्यक्ष सद्दाम हुसेन मन्सुरीले बताए । सहयोग रकम जम्मा गरेपछि प्राप्त आधिकारिक रसिदसमेत सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरिएको उनले बताए ।उक्त सहयोग रकम संकलनमा विजयनगर गाउँपालिकाका ८ ओटा मस्जिद र कृष्णनगर नगरपालिकाका ३ ओटा मस्जिद गरी ११ ओटा मस्जिदको सहभागिता छ । मस्जिद, उलेमा, इमाम, मदरसा, समिति सदस्य तथा विभिन्न दाताहरूको सहयोगबाट संकलन गरिएको फाउन्डेशनले जनाएको छ ।
सहयोग रकमको आधिकारिक रसिद ओल्मा फाउन्डेशन नेपाल जिल्ला कपिलवस्तुका अध्यक्ष सद्दाम हुसेन मन्सुरी, विजयनगर(५, का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान, खलिफा(ए(अनिसे मिल्लत मौलाना अब्दुल कय्यूम र जिल्ला सचिव हाफिज अहमद यार खाँले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई भेट गरी हस्तान्तरण गरेका हुन् ।
