Butwal Today

सद्गुरु दत्तात्रेय र २४ गुरु सूत्र

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

सद्गुरु दत्तात्रेय पूर्वीय दर्शनका महान् विद्वान् दार्शनिक मानिन्छन् । यिनी महर्षि अत्रि र अनसूयाका छोरा हुन् । अनसूया र कपिल दुई भैना हुन् । यिनीहरूका बुबाआमा कर्दम र देवहुती हुन् ।

साङ्ख्य दर्शनका प्रणेता महर्षि कपिल दत्तात्रेयका मामा हुन् । दत्तात्रेय विद्वान् र दार्शनिक मात्रै होइनन, उनी शिक्षामा खोज अनुसन्धान र स्वाध्यायनलाई संस्थागतरूपमा विकास गर्ने आदि पुरुषका रूपमा पनि चिनिन्छन् ।

सिक्नका लागि सत्प्रयास र इच्छाशक्ति भयो भने प्रकृति नै गुरु बन्छ भनी उनले दिएको २४ गुरुको दृष्टान्त पूर्वीय शिक्षा परम्परामा निकै चाखसित अध्ययन मनन गर्ने गरिन्छ । विद्वान् दत्तात्रेयले गुरुको अस्तित्व यति व्यापक गरी स्थापित गरिदिए कि गुरु व्यक्तिमा मात्र सीमित नरही यसरी चराचर जगत्मा व्याप्त हुनपुगे । दत्तात्रयले उल्लेख गरेका २४ गुरुहरू ।

पृथ्वीः पृथ्वीबाट सहनशीलता र मातृत्व भावको पाठ सिक्न सकिन्छ । संसारका जीवात्माले यहीँ कुल्चेका छन् । यहीँ खनेका छन्, यहीँ फोहर गरेका छन्… तर पनि पृथ्वीको कुनै गुनासो छैन । बरु उल्टै अन्न, फलफूल, सागपात दिने गर्छिन् । हरेक प्राणीको जीवन आधार भएकाले पृथ्वीलाई आमाका रूपमा लिइन्छ । पृथ्वी माता भनिन्छ ।

वायुः वायुबाट लिन सकिने शिक्षा हो असङ्ग्रही व्यवहार । चौथाइ मिनेटमै फेरि सास लिनु परे पनि एकै पटक धेरै समयको लागि भण्डारण गर्न सकिन्न । जतिबेला जति चाहिएको छ उति प्रयोग गर्दा व्यक्ति सुखी हुन्छ ।

आकाशः आकाशबाट लिनुपर्ने शिक्षा हो अलिप्तता । कुनै कुरामा लिप्त भयो भने अवश्यै खण्डित वा वियोगको स्थिति बेहोर्नुपर्छ । अलिप्त व्यवहारले समाजको दोष बोक्नुपर्ने स्थिति हुँदैन । आकाशमा जेजस्ता क्रियाकलाप भए पनि यसले न रङ्ग बदल्छ न रूप नै । आकाशमा बादल मडारिन्छ, उज्यालो आउँछ, अँध्यारो छाउँछ, सप्तरङ्गी इन्द्रेनीका लहर लहराउँछन् तर आकाशमा न कुनै छाप न कुनै रङ्ग रहन्छ ।

सबै एक छिनका खेल जस्ता भएर हराउँछन् । आकाश सधै सधै निर्मल सफा रहन्छ । पानीः पानीबाट लिन सकिने शिक्षा पवित्रता हो । अरूको फोहरमैलाले आफू अपवित्र भएरै पनि अरूलाई यसले पवित्र बनाउँछ । आफ्नो जीवनको बाजी लगाएर अरूको जीवन बचाउँछ, सन्तुष्टि दिन्छ । पवित्र त्यागी भावले जीवनलाई अजरामर बनाउँछ भन्ने दृष्टान्त पानीले दिन्छ ।

आगोः उचित अवसर नआउँदा ओजश्वी तेज गुप्त राख्न सक्नुपर्छ र अवसर आउँदा प्रकट गर्नुपर्छ भन्ने शिक्षा आगोले दिन्छ । अवसरमा फैलन सक्ने र अवस्थाअनुसार खुम्चिन सक्ने क्षमताको उदाहरणको रूपमा पनि आगोलाई लिन सकिन्छ । आगो र शत्रुलाई सानो भनेर वेवास्ता नगर्नू भन्ने भनाइ उसै बनेको होइन ।

चन्द्रमाः चन्द्रमाको भौतिक रूप परिवर्तन नभए पनि दैनिक कला परिवर्तन भैरहन्छ । दैनिक रूपमा स्पष्ट परिवर्तन देख्न सकिने आकाशीय पिण्ड हो चन्द्रमा । पूर्णावस्थामा देखिने उच्च सुन्दरता कृष्ण पक्षमा घट्दै जाँदा कुरूप हुँदै विलुप्तको अवस्था आउँछ । त्यही पिण्ड हो शुक्ल पक्षमा क्रमशः बढ्दै जाँदा उदाहरणीय सुन्दर भएको महसुस हुन्छ । यसले एउटै व्यक्तिमा पनि आरोहअवरोह प्रशस्त आउन सक्छन् भन्ने जीवनमय शिक्षा यसबाट लिन सकिन्छ ।

सूर्यः सूर्यले वस्तुलाई सुकाउँछ । सुकाउँछ र त वर्षाको तारतम्य पनि हुन्छ । जीवनको निरन्तरताको लागि निरन्तर घुम्ने चक्रको व्यवस्था हुनुपर्छ भन्ने कुरा यसबाट शिक्षा लिनुपर्छ । सधै एकनासको ओजस्वी तेजस्वी रहनका लागि सूर्यबाट प्रेरणा लिन सकिन्छ ।

परेवाः व्याधाले परेवीलाई जालमा पा¥यो । म बाँचेर के गरूँ भनी परेवा पनि जानीजानी जालमा पर्नाले बचराहरू भोकभोकै मरे । प्रेमी जोडीको उदाहरण दिँदा परेवाका जोडीको उदाहरण दिइन्छ । अन्धो प्रेमासक्तिले परेवाले जसरी पारिवारिक जीवन वर्वाद गरे त्यस्तो स्वभाव भयो भने गृहस्थी जीवन चल्न सक्तैन । परेवाबाट सिक्नुपर्ने शिक्षा अन्धो प्रेमासक्तिबाट टाढा रहनू भन्ने हो ।

अजिङ्गरः अजिङ्गर हलचल गर्न नसक्ने जीव हो तापनि उसमा कुनै हीनताबोध छैन । उसलाई जीवन धान्न गाह्रो भएको छैन । अजिङ्गरको आहारा दैवले पु¥याउँछ भनिन्छ । आफ्नै परिवेश हेरीविचारी जीवन चलाउनुपर्छ भन्ने शिक्षा अजिङ्गरबाट लिन सकिन्छ ।
समुद्रः आफ्नो सीमा उल्लङ्घन नगर्ने, शान्त रहने, शिक्षा समुद्रले दिएको छ । संसारभरिका नदीहरूले निरन्तर जल प्रदान गरिरहँदा पनि सीमा ननाघ्ने र प्रचण्ड गर्मीले सुकाएर संसारभरि वर्षा गराउने बादल बनाउँदा पनि सुकेर यति घट्यो भन्ने नहुने समुद्रको यो अचल स्थितिले व्यक्ति आयको अवस्थामा मात्तिने र व्ययको अवस्थामा आत्तिने गर्नुहुँदैन भन्ने शिक्षा लिन सकिन्छ ।

पुतलीः बत्तीको सौन्दर्यमा लिप्त भएर पुतलीले प्राण फाल्छ । सम्भावित जोखिमको मूल्याङ्कन नगरी केवल सौन्दर्यको पछि लाग्दा आफ्नै जीवन सङ्कटमा पर्छ भन्ने सन्देश बत्ती र पुतलीको उदाहरणले दिन्छ । सौन्दर्य लिप्तताबाट पर रहन पुतलीले शिक्षा दिएको छ ।

भँमरोः जसरी कमलको रसमा भुलेको भँमरो रातभर त्यही थुनिएर बस्नुपर्छ । समय परिवेशको ख्याल गरिएन भने स्वतन्त्र जीवन पनि बन्दी जीवनमा परिवर्तन हुनसक्छ भन्ने शिक्षा यसबाट लिनुपर्छ ।

हात्तीः ढोइसँगको संभोग सुखको आशामा वनमा स्वतन्त्र हिँड्ने मत्ताहात्ती माहुतेको फन्दामा पर्छ । त्यसैले कामवासनाले जितेको व्यक्तिले दास जीवन बिताउनुपर्छ भन्ने शिक्षा हात्तीबाट मिलेको छ ।

माहुरीः अति सङ्ग्रहमा जीवन बिताउने माहुरीले आफ्नो सञ्चित सम्पत्ति अरूले लुटेर लगिदिएको दृश्यले सङ्ग्रहले जीवन सुखी होइन दुःखी बनाउँछ भन्ने शिक्षा मिलेको छ । सम्पत्ति सङ्ग्रह गर्दा पनि दुःख र सम्पत्ति गुमाउँदा पनि दुःख, सङ्ग्रही स्वभाव सधैको दुःख ।

हरिणः हरिण वाद्यधुनमा टोलाउने, मुग्ध हुने भएकाले व्याधाले बाजाको प्रयोग गरी हरिणको सिकार गर्छ । घण्टी, घुँघुरा लगाएका कुकुरले हरिणको सिकार गर्छन् । यसले श्रुतिमाधुर्यमा ज्यादा लिप्त नहुन प्रेरित गरेको छ ।

माछोः माछो स्वाद लिप्तताको कारण बल्छीमा पर्छ । यसबाट जिभ्रो नियन्त्रण गर्नुपर्छ भन्ने शिक्षा माछोबाट लिन सकिन्छ । खानामा सजगता अपनाइएन भने बल्छि खाने माछोको जस्तै जीवन बर्बाद हुनसक्छ । क्वाच्च नखानू, थ्याच्च नबस्नू, प्याच्च नबोल्नू भन्ने हाम्रा लोककथन यस्तै शिक्षा र अनुभवबाट खारिएर बनेका भनाइहरू हुन् ।

वेश्याः परपुरुषको भेटको पर्खाइमा रहेकी वेश्या पुरुषले धोका दिएपछि त्यस वृत्तिमा घृणा जगाई आफ्नो जीवन सुधारेको घटनाले आफ्नो वृत्तिसम्बन्धी आत्ममूल्याङ्कन गर्नुपर्छ भन्ने शिक्षा दिएको छ ।

वेश्यावृत्ति एउटा कुलत वा दुव्र्यसन वा खराब आदतको प्रतीक हो । जबसम्म आदतले नियमितता पाउँछ तबसम्म व्यक्तिलाई यो आदत खराब हो भन्ने लागेको हुँदैन । जब कुनै दिन आदतको नियमितता टुट्छ तब व्यक्तिमा छटपटी पैदा हुन्छ । त्यस बखत आत्म समीक्षा गर्न सक्यो भने कुलतलाई त्याग्न सकिन्छ ।

कुरीर पक्षीः कुरीर पक्षी वा च्याखुरा मासुको चोक्टा खाँदै उडिरहेको थियो । त्यो देखेर बाज, चीलहरू झम्टन आए र खोसी लगे । यस घटनाले गुप्त बसेर खानू, ज्यादा प्रदर्शन दुःखदायी हुन्छ भन्ने शिक्षा लिन सकिन्छ । अनि त्यो मासुको चोक्टा छउन्जेलको अरूबाट खेप्नु परेको हैरानी र छाडेपछिको आनन्दले त्यागमा आनन्द रहेको शिक्षा पनि दिएको छ । नोट– यहाँ च्याखुराको सन्दर्भमा मासु उति सान्दर्भिक देखिदैन । जे होस् मांसाहारी पक्षी भनेर बुझ्नु अर्थपूर्ण हुन्छ ।

बालकः बालकमा भएको स्वच्छ निर्मल स्वभाव अवलोकन गर्दा परमानन्दको साक्षात्कार हुन्छ । काम, क्रोध, लोभ, मोह, मद, मत्सर, दंभ, अहङ्कार, आनन्द प्राप्तिका अवरोध हुन् भन्ने कुरा बाल स्वभावले सिकाएको छ । बालकको प्राकृत स्वभाव निकै मनोहारी हुन्छ । फेरि भोक लाग्ला भन्ने लोभले कोचेर पनि खाँदैन ।

दिसा पिसाब पनि एकैछिनपछि गरूँला भनेर च्याप्दैन सहजै विसर्जन गरिहाल्छ । मन परेको कुरामा र मन नपरेको कुरामा तुरुन्तै प्रतिक्रिया जनाइहाल्छ । कसले के भन्ला भन्ने कुण्ठा पालेर बस्दैन । त्यसैले त ऊ सधै निर्मल स्वच्छ हुन्छ ।

किशोरीः आमाबा नभएको बेला घरमा पाहुना आए । खाना खुवाउनु प¥यो । चामल थिएन । गाउँमा ऐँचोपैँचो गर्ने सहज अवस्था पनि थिएन । किशोरीले घरभित्रै रहेको उर्गल (ओखल)मा धान कुट्न लागिन् । हातका चुरा बजे । चुरा एकएक गरी झिक्न थालिन् र हातमा एउटा चुरा नभएसम्म चुरा बज्दै रहे । शान्तिका लागि एक्लै रहनुपर्छ भन्ने शिक्षा यस घटनाबाट लिन सकिन्छ ।

बाणकारः चौबाटोमा बाण बनाउने बाणकारको आरन थियो । बाणको धारको सन्तुलन मिलाउन ऊ यति दत्तचित्त थियो कि त्यहीँबाट बाजा बजाउँदै बन्दुक पड्काउँदै गएका जन्ती लस्करको पनि उसलाई थाहा भएन । सफल कामको लागि तीव्र एकाग्रता चाहिन्छ भन्ने कुरा यसबाट लिन सकिन्छ ।

सर्पः सर्पको एकाकी स्वभाव हुन्छ । न अरूलाई पाल्नको झमेला न सुरक्षाको टन्टा । सर्पको एक्लो जीवन साँच्चै आनन्दित छ । धेरैको जिम्मा झमेलाले आफ्नो आनन्द सधै दाउमा परिरहन्छ ।

माकुरोः माकुराले आफैसँग भएको सामग्रीलाई कलात्मक सीपले जीवन निर्वाह गर्ने साधन(जाल) बनाउँछ । आफू जाल बनाउँछ तर त्यो जालमा आफू फस्दैन । विषय प्रपञ्चप्रति अलिप्त प्रवृत्ति र स्वावलम्बी जीवन माकुराबाट सिक्नुपर्ने ज्ञान हो । व्यक्ति आफ्नै कर्मले आफै बाँधिन पुग्छ । आफूले गरिने कर्मले आफूलाई बन्धन पार्छ कि पार्दैन भन्ने ख्याल राख्नुपर्छ भन्ने जानिराख्नुपर्छ ।

कुमालकोटीः कुमालकोटीले घर बनाउँछ । त्यसमा माकुरालाई लगेर राखी बन्द गरिदिन्छ । अनि दिनरात भुँ भुँ भुँ भुँ गरी घर वरिपरि घुमिरहन्छ, साधना गरिरहन्छ । अनि त्यो माकुरो कुमालकोटी नै बन्दछ । यसरी दृढ चिन्तन भयो भने कस्तै असम्भव वस्तु पनि सम्भव हुन्छ भन्ने शिक्षा दिने कुमालकोटी दत्तात्रेयले मानेको चौबीसौँ गुरु हो ।

माथिका प्रसङ्गहरू त्यति बेलाका दृष्टिकोण हुन् । ती दृष्टिकोण कति वैज्ञानिक थिए भन्नुभन्दा पनि कति आदर्शमुखी थिए भन्ने कुरा उल्लेख्य छ । कुमालकोटीले घर बनाएर सो घरभित्र फुल पारेको हुन्छ । त्यही फुल कोरलिएपछि नवजातले खान पाओस् भनी कुमालकोटीले माकुरो लगेर राखिदिन्छ र घरको मुख बन्द गरिदिन्छ । अन्य शत्रुले आफ्नो फुलबच्चालाई हानी नपु¥याओस् भनी सुरक्षाका खातिर त्यहीँ वरिपरि घुमिरहन्छ ।

फुल कोरलिएपछि त्यही माकुरो आहार गरी लार्भा, प्यूपा अवस्था पूरा गरी नव कुमालकोटी जन्मन्छ । कुमालकोटी उसको घर वरिपरि घुमेको अवस्थालाई गहन चिन्तनमा लागेर माकुरालाई आफ्नो सन्तानमा परिणत ग¥यो भन्नु अनौठो भएन । तर दत्तात्रेयले कुमालकोटीलाई गुरु मानेरै भए पनि एकाग्र चिन्तनको महत्व गाए त्यो प्रशंसनीय छ । जे होस् दत्तात्रेयका २४ गुरु सूत्रले अनुभव सिकाई र स्वाध्यायन सिकाइलाई स्थापित गरेको छ ।

गुरुभन्दा चेला जान्ने हुनसक्छन् भन्ने मान्यता स्थापित गर्न पनि दत्तात्रेय प्रविधिले सहज तुल्याएको छ । यसले पाईला पाइलामा सिकाइको ढोका खोलिदिएको छ, गुरु तत्त्वको व्यापकता प्रमाणित गरिदिएको छ । व्यक्तिमा रहेको वस्तु विश्लेषण दृष्टिकोण अनुसार सिकाइ हुन्छ भन्ने कुरा यहाँ प्रस्टाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?