Butwal Today

बाढीपहिरो पीडितका लागि भिक्टोरिया ज्वेलर्सद्वारा १० लाख सहयोग

२० भाद्र २०८३, शनिबार
अ+
अ-

दोहा (कतार) ।

“कतारमा सञ्चालित भिक्टोरिया गोल्ड एन्ड डायमन्ड (भिक्टोरिया ज्वेलर्स) ले भोटेकोशीमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनस् स्थापनाका लागी गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । एनआरएनए एनसीसी कतारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानमा ऐक्यबद्धता जनाउँदै भिक्टोरिया ज्वेलर्सले बिहीबार आयोजित एक कार्यक्रमबीच १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

नेपालमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको भिक्टोरिया ज्वेलर्सले जनाएको छ ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले भिक्टोरिया ज्वेलर्सले प्रदान गरेको १० लाख रुपैयाँ शिक्षा, एकल महिला, खाद्यान्न, स्वास्थ्य तथा औषधि सहयोगमा उपयोग गरिने बताए । देश विपद्मा परेका बेला आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नु हामी सबैको साझा दायित्व रहेको उनको भनाई रहेको थियो । एनआरएनए एनसीसी कतारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन कतारमा रहेका नेपाली व्यवसायी, संघसंस्था तथा समुदायलाई समेत सहयोगका लागि अपिल गर्दै राहत तथा उद्धार अभियानमा सहयोग गर्ने भिक्टोरिया ज्वेलर्सप्रति धन्यवाद व्यक्त गरे ।

भिक्टोरिया ज्वेलर्सका ब्रान्ड प्रवर्धन संयोजक तथा एनआरएनए एनसीसी कतारका उपाध्यक्ष रोशन अर्यालले विपत्तिको घडीमा नेपाली समुदायसँगै उभिन भिक्टोरिया ज्वेलर्सले सहयोग गरेको बताए । उनले सहयोग वास्तविक पीडितसम्म पुग्ने विश्वास व्यक्त गर्दै पीडित परिवारका लागि घर निर्माण तथा विकट क्षेत्रका विद्यालयलाई सहयोग गर्ने योजना रहेको उल्लेख गर्दै अर्यालले नेपाली समुदायलाई भिक्टोरिया ज्वेलर्सलाई साथ दिन आग्रह गरे ।

कार्यक्रममा भिक्टोरिया ज्वेलर्सका सञ्चालक मोहम्मद फैजल भिक्टोरियाले बाढी–पहिरो प्रभावित परिवारका १० जना युवा–युवतीलाई रोजगारी दिने घोषणा गरे । उनले प्रभावित परिवारका युवालाई नेपाल, दुबई र कतारमा रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए । कतारमा भिक्टोरिया ज्वेलर्सका सात वटा शाखा सञ्चालनमा रहेका छन्। कम्पनीले करिब दुई सय नेपालीलाई रोजगारी समेत प्रदान गर्दै आएको छ । भिक्टोरिया ज्वेलर्सले व्यावसायिक गतिविधिसँगै कतारमा रहेका नेपाली समुदायका विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरूमा लामो समयदेखि सहयोग र सहकार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?