© 2026
काठमाडौँ । भोटेकोशीमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विगेन नेपाल परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बिहीबार अर्थ मन्त्रालय पुगेर विगेन नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक ज्ञानु गिरी लामिछानेले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयका सचिवलाई चेकमार्फत हस्तान्तरण गरे ।
विगेन नेपालले देशभरका ९० भन्दा बढी शाखामार्फत निःशुल्क कोरियन थर्मल थेरापी सेवा दिँदै आएको छ । सहयोग गरिएको रकम विगेन नेपालको केन्द्रीय कार्यालय, शाखा प्रमुख, कर्मचारी तथा सेवाग्राहीबाट स्वैच्छिक रूपमा संकलन गरिएको विगेन नेपालका निर्देशक मिलन लामिछानेले जानकारी दिए ।
भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति गरेको छ । बाढीमा परी ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने हजारौँ सम्पर्कविहीन छन् । त्यसैगरी, हजारौँ परिवार घरबारविहीन हुन पुगेका छन् ।
