© 2026
समाज केवल घरहरूको समूह होइन । समाज विश्वासको नाम पनि हो । एक अर्काप्रतिको भरोसा, सहयोगको भावना, दुःखमा साथ दिने संस्कार र सुखमा रमाउने आत्मीयताले समाजलाई समाज बनाउँछ । समाजका आफ्नै अवयबहरु, आफ्नै मूल्य र मान्यता छ्न तर जब राजनीतिक आग्रहले यो विश्वास कमजोर बनाउँछ, त्यसको असर एउटा व्यक्तिमा मात्रै सीमित रहँदैन । परिवारमा तनाव बढ्न सक्छ ।
साथीहरू र अन्य कयौं सम्बन्धहरुबीच दूरी आउन सक्छ । गाउँटोलका साझा काममा सहकार्य घट्न सक्छ । आस्था वा विचारकै आधारमा आग्रह वा पूर्वाग्रहले पछिल्लो समय कतै मानवीयता नै संकटमा त पर्दै छैन भन्ने गम्भीर प्रश्न उब्जिन थालेको छ । नेपालको पछिल्लो राजनीतिक अवस्थाले पुरानो कथन अनुसार पानी बाराबार जस्तै दृश्य देखापर्न थालेको छ । राजनीतिकै नाममा ब्यक्तिलाई तेजोबध गर्ने र बहिष्कृत गर्नेसम्मको परिपाटीले यतिबेला सामाजिक ऐक्यवद्धताको जग हल्लिन थालेको छ । यस्तै रहे एकदिन ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ भन्ने नजिर गलत सावित हुँदै जानेछ अन्ततः राजनीतिक आस्था वा विचारकै आधारमा सामाजिक न्यायको सिद्धांत खरानी हुनेछ ।
हाम्रो बिचार नियत, चरित्र र संस्कारले ब्यक्तिको परिचय बोल्छ तर अचेल ब्यक्तिको परिचय दल वा त्यसको पृष्ठभूमिमा मात्रै सिमित रहेर खुम्चिदै जान थालेको छ । भौतिक संरचनाले बस्तीलाई जोड्छन्, तर सम्बन्धले मनलाई जोड्छन् । सडकले मानिसलाई गन्तव्यसम्म पु¥याउँछ तर सद्भावले मानिसलाई मानिससँग नजिक राख्छ । दलीय मुकुन्डोमा मान्छेहरू दिनप्रतिदिन निर्जीव प्राणी जस्तै बन्दै गैरहेका छ्न । आस्थाकै आधारमा होच्याउने, दबाउने, चरित्रहत्यासम्ममा उत्रने प्रवृत्तिले हाम्रो समाज कता बहकिरहेको छ ? हामीले यसको भेउसम्म पाएका छैनौं ।
आउने पुस्ताले अब यो समाजबाट के सिक्ने ? समाजमा देखिने राजनीतिक ध्रुवीकरणलाई सामाजिक सद्भाव बिरुद्ध वा राजनीति र समाजको सम्बन्ध फरक हुन भन्ने बुझाउने ! मानिसको दुःख कुनै दलको हुँदैन, आँसुको कुनै राजनीतिक रङ हुँदैन र मानवीय संवेदनाको कुनै पार्टी कार्यालय हुँदैन ।
आज पिडामा छट्पटिएको ब्यक्ति आफ्नो पीडा एकातिर तर राजनीतिक आस्थाका आधारमै कस्को मद्दत लिने भन्नेमा उ बढी चिन्तित देखिन थालेको छ । राजनीतिक दल र नेतृत्व समयसँगै बदलिन सक्छन् । आज शक्तिमा रहेको दल भोलि प्रतिपक्षमा पुग्न सक्छ । आज लोकप्रिय रहेको विचार भोलि अल्पमतमा पर्न सक्छ । तर एकपटक टुटेको सम्बन्ध जोड्न, वर्षौँदेखि जमेको तिक्तता मेटाउन र हराएको विश्वास फर्काउन त्यति सजिलो हुँदैन । विश्वासका हरेक खुडकिलाहरु पार गरेर ३० औं बर्षदेखि जोडिएका सम्बन्धहरुमा राजनीतिकै कारण विचलन पैदा भएको छ ।
हिजो मनदेखि दुःखमा सामेल हुनेहरु अचेल लोक रिझ्याईका लागि सहभागी बन्दैछ्न, हिजो संगै मदिरा पिउनेहरु पनि आज एक कप चियासम्म सँगै बसेर पिउने बाताबरण हराउदै जान थालेको छ । यो चित्रण समाजको तितो सत्यको रुपमा देखिन थालेको छ । राजनीतिका नाममा आज रोपिएको घृणाको बीउ भोलि हाम्रा सन्तानले भोग्नुपर्ने सामाजिक दूरीको रूख नबनोस् । राजनीतिमा चिर शत्रु र स्थायी मित्रु हुदैनन तर समाज केवल राजनीतिक शत्रुता र मित्रताले मात्रै पनि चल्दैन । विशेषगरी शहर बजारमा मानिसहरू एक्ला हुन्छ्न एक अर्काबीच काम बाहेकका अन्य सम्बन्ध हुँदैनन् तर गाउँमा आत्मियता र त्यसको मिठास हुन्छ भन्ने आम बुझाईमा हुर्किएका हामी पुस्ता पछिल्लो समय गाउँको मिठासलाई कतै राजनीतिले धुमिल बनाउदै त लगेको छैन ! यो चिन्ताको बिषय हो । पराईलाई पनि आफ्नो बनाउने संस्कारयुक्त हाम्रो समाज आज राजनीतिको तातो भुङ्ग्रोमा कतै आफ्नैलाई पराई बनाईरहेका त छैनौं !
शहरका कुरा छोडौ गाउँको सुन्दरता सबै मानिस एउटै विचारका हुनुमा छैन । फरक विचारका मानिसहरू पनि एउटै समाजका सदस्य भएर आत्मीयतापूर्वक बाँच्न सक्नुमा छ । तर त्यो आत्मीयता हराउँदै गयो भने गाउँको भौगोलिक स्वरूप बाँकी रहला तर गाउँ अनि समाज हुनुको मौलिक अर्थ राजनीतिकै कारण विस्तारै ओझेलमा पर्न सक्छ । सामाजिक सम्बन्ध कुनै भौतिक संरचना होईन, यो कंक्रिटले जोड्ने ठूला भवनहरु होईन, त्यसैले एउटा पुलले दुईवटा गाउँ त जोडिन सक्लान तर एउटा भूलले सामाजिक मनहरु जोडिन सक्दैनन् । तसर्थ सामाजिक सम्बन्ध र मानवियतालाई समेत दलीयकरण नगरौं । आउँदो पिढीँलाई समाजको मूल्य र मान्यताको मर्म बुझाउन प्रयत्न गरौं ।