© 2026
बुटवल ।
आज बडादसैँको सातौँ दिन फूलपाती । दसैँ मनाउन आफ्नो गाउँघर फर्किने यात्रुका कारण बुटवल बसपार्कमा चहलपहल देखिएको छ । दसैँमा परिवार तथा आफन्तसँग बसेर पर्व मनाउन विभिन्न ठाउँबाट घर फर्किने क्रम जारी रहे पनि यसपटक विगतका वर्षको तुलनामा यात्रुको चाप भने कम देखिएको छ ।
बुटवल बसपार्कबाट विशेषगरी पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङलगायत पहाडी जिल्लामा जाने यात्रुहरू आवागमन गर्ने गरेका छन् । फूलपातीसँगै दसैँको मुख्य चहलपहल बढ्ने अपेक्षा गरिए पनि बसपार्कमा यात्रुको उपस्थिति विगतका वर्षमा जस्तो उत्साहजनक नरहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बताए ।

उनका अनुसार विगतका वर्षको तुलनामा यसपटक दसैँमा बुटवल बसपार्कमा यात्रुको चहलपहल कम रहेको छ । दसैँका बेला घर फर्किने यात्रुको आवागमनलाई मध्यनजर गर्दै बुटवलबाट पहाडी जिल्लातर्फ सञ्चालन हुने सार्वजनिक सवारीसाधनमार्फत यात्रुहरू गन्तव्यतर्फ जाने गरेका छन् ।



