© 2026
भैरहवा । श्री दुर्गा सामुदायिक प्रहरी केन्द्रमा फूलपातीको अवसरमा लिङ्गे पिङ उदघाटन तथा फूलपाती भित्र्याउने कार्यक्रम सम्पन्न भएको छ।
परम्परागत नेपाली संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उद्योगपति तथा समाजसेवी चन्द्रप्रकाश श्रेष्ठले लिङ्गे पिङको उदघाटन गरे । बिहान ८ बजेको शुभ साइतमा बाजागाजासहित मन्दिरदेखि चोकसम्म परिक्रमा गरी फूलपाती पनि भित्र्याइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लोप हुँदै गएको नेपाली परम्पराको संरक्षणका लागि गरिएको प्रयास प्रशंसनीय रहेको बताए ।
कार्यक्रम संयोजक आनन्द न्यौपानेका अनुसार पिङ निर्माणमा सशस्त्र प्रहरी बल रुपन्देहीको प्राविधिक सहयोग र स्थानीय चन्द्रबहादुर क्षेत्रीको विशेष सहयोग रहेको थियो।
केन्द्रका अध्यक्ष अजयकुमार गुप्ताले संस्थाको परम्परालाई निरन्तरता दिँदै आगामी दिनमा पनि लिङ्गे पिङलाई व्यवस्थित रूपमा सञ्चालन गरिने बताए । उनले सहयोगी निकाय, स्थानीय सहयोगी, महिला नेतृ शकुन्तला अधिकारी, सञ्चिता अर्याल तथा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन आनन्द न्यौपानेले गरेका थिए । लिङ्गे पिङमा बालबालिका देखि वृद्धहरुको आकर्षण देखिएको छ । यसले दसैँको पराम्परागत उल्लास बढाउनुका साथै नेपाली मौलिक संस्कृति संरक्षणमा योगदान पुर्याएको उनिहरुको भनाइ छ ।