Butwal Today

भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु रुपन्देहीको १० लाखको राहत

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

बुटवल । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अनेरास्ववियु रुपन्देहीले करिब १० लाख रुपियाँ बराबरको राहत सामग्री सङ्कलन गरी रसुवागढीतर्फ पठाएको छ ।

बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्री तथा स्वास्थ्यसम्बन्धी सामग्रीसहितको राहत लिएर अनेरास्ववियुको टोली शुक्रबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष अर्जुन गैरहेको नेतृत्वमा सचिव सरोज खनाल, पूर्ण रोका र बुटवल बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष शशाङ्क बस्यालसहितको टोली राहत सामग्री लिएर रसुवागढीतर्फ प्रस्थान गरेको छ ।

बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भएका परिवारलाई दैनिक उपभोगमा आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउने उद्देश्यले राहत सङ्कलन गरिएको अनेरास्ववियु रुपन्देहीले जनाएको छ । सङ्कलित राहतमा चामल, दाल, तेललगायत खाद्यान्न सामग्रीका साथै लत्ताकपडा र सरसफाइका सामग्री छन् ।

त्यसैगरी, महिलाका लागि आवश्यक पर्ने सेनेटरी प्याडलगायत स्वास्थ्यजन्य सामग्री तथा बालबालिकाका लागि आवश्यक कपडासमेत राहत सामग्रीमा समावेश गरिएको छ । विपत्का बेला खाद्यान्नसँगै स्वास्थ्य, सरसफाइ तथा बालबालिकाको आवश्यकतालाई समेत ध्यान दिएर सामग्री सङ्कलन गरिएको अनेरास्ववियुले जनाएको छ ।

राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याएर स्थानीय तह तथा अन्य निकायमार्फत मात्र वितरण गर्नेभन्दा प्रभावित परिवारको वास्तविक अवस्था पहिचान गरी प्रत्यक्ष रूपमा पीडितलाई हस्तान्तरण गर्ने तयारी गरिएको अनेरास्ववियु रुपन्देहीले जनाएको छ । यसबाट राहत सामग्री वास्तविक पीडितसम्म पुग्ने र तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष गैरेको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्थाबारे जानकारीसमेत लिने जनाएको छ । राहत वितरणसँगै बाढीका कारण विस्थापित तथा प्रभावित परिवारलाई आवश्यक सहयोगका विषयमा स्थानीयस्तरमा जानकारी सङ्कलन गर्ने तयारीसमेत गरिएको छ ।

विपत्का समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै अनेरास्ववियुले राहत अभियान सञ्चालन गरेको जनाएको छ । विद्यार्थी तथा युवाको सहभागितामा सङ्कलन गरिएको राहतले बाढी प्रभावित परिवारलाई केही हदसम्म भए पनि तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ ।

भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण स्थानीयको घर, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । बाढीपछि प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य तथा सरसफाइका सामग्रीको आवश्यकता बढेको छ । विशेषगरी महिला तथा बालबालिकाका लागि आवश्यक सामग्रीको अभाव हुन सक्ने भएकाले राहतमा त्यस्ता सामग्रीलाई समेत प्राथमिकता दिइएको अनेरास्ववियुले जनाएको छ ।

टोलीलाई बिदाइ गर्दै एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले वास्तविक पीडितसम्म राहत पुग्ने गरी वितरण गर्न टोलीलाई निर्देशन दिनुभएको थियो ।
राहत सामग्री लिएर गएको टोलीले प्रभावित परिवारको आवश्यकता बुझेर थप सहयोगका लागि समेत पहल गर्ने जनाएको छ ।

अनेरास्ववियु रुपन्देहीले विपत्का बेला पीडित नागरिकलाई सहयोग गर्न विद्यार्थी तथा युवाको सामाजिक सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग जारी राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?