Butwal Today

अङ्ग्रेजलाई पराजित गरेको खुसीयालीमा पाल्पामा भोलि भगवती रथजात्रा निकालिने

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

पाल्पा । नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा पाल्पामा भोलि २०७औँ विजयउत्सव स्वरूप भगवती रथजात्रा निकालिँदै छ ।

यस वर्ष देश भोटेकोशी बाढीका कारण राष्ट्रिय शोकमा परेकोले तामझाम नगरी औपचारिक रूपमा मात्र विजयउत्सव स्वरूप भगवती रथजात्रा निकालिने मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिरसिंह थापाले वि।सं। १८७१ देखि १८७२ सम्म अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी क्षेत्रमा विजय हासिल गरेको खुसीयालीमा वि।सं। १८७७ देखि पाल्पामा निरन्तर विजयोत्सव मनाउने परम्परा चल्दै आएको छ ।

कर्णेल उजिरसिंह थापाले अङ्ग्रेजसँग बुटवल क्षेत्रमा युद्धमा जानुअघि देवी भगवतीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर निर्माण गरी सिन्दूर जात्रा गर्ने र भगवतीको महिमा चारैतिर फैलाउने भाकल गरेका थिए । दुई पटकसम्म बुटवलको जितगढी क्षेत्रमा भएको युद्धमा अङ्ग्रेज सेनामाथि विजय हासिल गरेपछि कर्णेल उजिरसिंह थापाले वि सं १८७२ देखि १८७६ सम्म ठूलो गजुरसहितको तीन तले मन्दिर निर्माण गरेका थिए ।

भगवती मन्दिरको निर्माण कार्य पूरा भएपछि वि सं १८७७ सालदेखि विजयोत्सवका रूपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीका दिन भगवतीको रथजात्रा सञ्चालन हुँदै आएको छ । अङ्ग्रेजलाई युद्धमा पराजित गरेको विजयको प्रतीकका रूपमा सञ्चालन हुँदै आएको यस जात्राका कारण मन्दिर ‘रणउजिरेश्वरी’ नामले समेत चर्चित छ ।

विजयउत्सवलाई भव्य रूपमा मनाउन लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिँदै आएको छ ।

यस वर्ष विजयउत्सवको भगवती रथजात्रा आइतबार दिउँसो १२ः३० बजेको शुभसाइतमा उठाइनेछ । भगवतीको रथलाई नेपाली सेनाले सलामी दिएपछि तीन पटक मन्दिरको परिक्रमा गराइने भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर परिक्रमा गरेपछि पाल्पामा रहेको नेपाली सेनाका गणपतिले पूजाआजासहित बलि दिने तथा नेपाल सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीले पाल्पा दरबार परिसरमा विशेष पूजासहित बलि दिने परम्परा रहेको छ ।

गणपति र प्रमुख जिल्ला अधिकारीको पूजाआजा सम्पन्न भएपछि सर्वसाधारणका लागि भगवतीको दर्शन तथा पूजाआजा गर्न रथलाई नगर परिक्रमा गराउने प्रचलन रहेको छ ।

युद्धमा नेपाली सेनाले बहादुरीका साथ लडेर अङ्ग्रेजलाई पराजित गरेको खुसीयालीमा पाल्पाली जनताले हर्षोल्लासका साथ भगवती रथजात्रा मनाउँदै आएका छन् ।

राष्ट्रियता र नागरिकको भावनासँग जोडिएको तथा नेपाली सेनाको सान र वीरताको प्रतीकका रूपमा स्थापित भगवती रथ जात्रालाई केन्द्र सरकारले नै राष्ट्रिय विजयोत्सवका रूपमा मनाउनुपर्ने माग रहेको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताए ।

विजयोत्सव भगवती रथ जात्राको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सभामुख तुलाराम घर्तीमगरलगायत सरकारका उच्च पदस्थ व्यक्तिहरूले अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष महर्जनले बताए ।

वीरता, राष्ट्रियता र स्वाधीनतासँग जोडिएको विजयोत्सव भगवती रथजात्रा वि सं १८७७ सालको भाद्र कृष्ण नवमीदेखि हालसम्म निरन्तर सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?