© 2026
नेपालगञ्ज । थारु समुदायको मौलिक कला, संस्कृति र पहिचानसँग जोडिएको अस्टिम्की लोकचित्रकलाको मौलिकता पछिल्लो समय हराउँदै गएको भन्दै संरक्षणप्रति चिन्ता व्यक्त गरिएको छ ।
आधुनिक प्रविधि र नयाँ शैलीका नाममा अस्टिम्की चित्रमा परम्परागत आकृति तथा संरचनालाई परिवर्तन गर्ने क्रम बढेको भन्दै संस्कृति अनुसन्धाता तथा साहित्यकारहरूले यसको मौलिक स्वरूप जोगाउन थारु समुदाय र नयाँ पुस्ता सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको अस्टिम्की पर्व नजिकिँदै गर्दा जंग्रार साहित्यिक बखेरी नेपालले नेपालगन्जका पत्रकारहरूमाझ आयोजना गरेको कार्यक्रममा अस्टिम्की चित्रकला र थारु संस्कृतिको संरक्षणबारे चिन्ता व्यक्त गरिएको हो ।
थारु संस्कृति अनुसन्धाता एवं साहित्यकार शेखर दहितले पछिल्लो समय अस्टिम्की चित्रकलामा मौलिकता हराउँदै गएको बताए । आधुनिकताका नाममा परम्परागत चित्रमा नयाँ आकृति र शैली थपिँदै जाँदा भविष्यमा नयाँ पुस्ताले अस्टिम्कीको वास्तविक स्वरूप र यसको सांस्कृतिक अर्थ नै बिर्सिन सक्ने उनको भनाइ छ ।
“अस्टिम्की चित्रमा परम्परादेखि समेटिँदै आएका सांस्कृतिक, धार्मिक र सामाजिक प्रतीकहरूको आफ्नै अर्थ र महत्व छ । ती प्रतीक र संरचनालाई बेवास्ता गरेर नयाँ शैलीमा चित्रण गर्दा अस्टिम्कीको मौलिक पहिचान नै कमजोर बन्न सक्छ,” दहितले भने ।
उनका अनुसार पछिल्लो समय अस्टिम्की चित्रमा हुबहु थ्रीडी चित्र राख्ने प्रवृत्तिसमेत बढिरहेको छ । आधुनिक प्रविधिको प्रयोग आफैँमा गलत नभए पनि त्यसका कारण परम्परागत चित्रकलाको मौलिक स्वरूप भने हराउन नहुने उनले बताए ।
“आधुनिक प्रविधि र नयाँ शैली प्रयोग गर्न सकिन्छ, तर त्यसका नाममा अस्टिम्कीको मौलिक स्वरूप परिवर्तन हुनु हुँदैन । अस्टिम्कीमा अनावश्यक चित्र तथा आकृति थप्ने र परम्परागत रूपमा राखिनुपर्ने महत्वपूर्ण चित्र हटाउने कामले यसको सांस्कृतिक अर्थमै विचलन ल्याउन सक्छ,” उनले भने ।
अस्टिम्की चित्र बनाउने परम्परा पुस्तौँदेखि पुस्तान्तरण हुँदै आए पनि नयाँ पुस्तामा यसको सांस्कृतिक पक्ष, आकृति र प्रतीकहरूको अर्थबारे पर्याप्त ज्ञान नरहेको दहितले बताए । त्यसैले अस्टिम्की बनाउने नयाँ पुस्तालाई यसको मौलिक संरचना र सांस्कृतिक महत्वबारे प्रशिक्षण दिन आवश्यक रहेको उनको जोड छ ।
“अस्टिम्की लेख्ने नयाँ पुस्ता नै यसको मौलिकता र संरचनाबारे सचेत हुनुपर्छ । अस्टिम्कीमा रहेका हरेक आकृति, रेखा र प्रतीकको सांस्कृतिक अर्थ हुन्छ । त्यसलाई जथाभावी परिवर्तन गर्नु हुँदैन,” दहितले भने । उनले अस्टिम्की चित्रकलाको अध्ययन, अभिलेखीकरण र प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताए । उनका अनुसार मौलिक चित्रहरूको अभिलेख तयार गरी नयाँ पुस्तालाई यसको ज्ञान हस्तान्तरण गर्न सके मात्र अस्टिम्कीको मौलिक स्वरूपलाई दीर्घकालसम्म जोगाउन सकिनेछ ।
दहितले अस्टिम्की चित्रकलालाई थारु समुदायको विशिष्ट सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्न ब्रान्डिङ र प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । अस्टिम्कीलाई केवल पर्वका बेला बनाइने चित्रका रूपमा मात्र सीमित नराखी थारु कला, इतिहास र पहिचानको प्रतिनिधित्व गर्ने मौलिक सांस्कृतिक सम्पदाका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।
“अस्टिम्कीलाई एउटा पर्वमा बनाइने चित्रमा मात्र सीमित गर्नु हुँदैन । यो थारु समुदायको मौलिक कला र पहिचान बोकेको सांस्कृतिक सम्पदा हो । यसको संरक्षण र प्रवद्र्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा समेत चिनाउन आवश्यक छ,” दहितले भने । थारु समुदायको मौलिक पर्वका रूपमा रहेको अस्टिम्कीमाथि पछिल्लो समय कृष्ण जन्माष्टमीको प्रभाव बढ्दै गएको विषयमा समेत दहितले चिन्ता व्यक्त गरे ।
कृष्ण जन्माष्टमीसँग जोडिएका धार्मिक तथा सांस्कृतिक अभ्यास विस्तार हुँदै जाँदा थारु समुदायको आफ्नै मौलिक पर्व, परम्परा र सांस्कृतिक अभ्यास ओझेलमा पर्न थालेको उनले बताए । उनका अनुसार थारु समुदायले आफ्नो मौलिक पर्व, कला र संस्कृतिको संरक्षण आफैँबाट सुरु गर्नुपर्छ । नयाँ पुस्तालाई अस्टिम्की पर्वको महत्व र यसको मौलिक सांस्कृतिक पक्ष बुझाउन सके मात्र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सम्पदा भविष्यसम्म सुरक्षित राख्न सकिनेछ ।
जंग्रार साहित्यिक बखेरी नेपालका अध्यक्ष एवं थारु साहित्यकार सोम डेमनडौराले अस्टिम्कीमा बनाइने प्रत्येक आकृति र प्रतीक चिन्हको आफ्नै सांस्कृतिक तथा वैज्ञानिक अर्थ रहेको बताए । आफूखुसी आकृति थप्ने वा हटाउने प्रवृत्तिले थारु संस्कृति र परम्परामाथि चुनौती थपिरहेको उनको भनाइ छ ।
“अस्टिम्कीमा राखिने हरेक आकृति र प्रतीक चिन्हको सांस्कृतिक तथा वैज्ञानिक अर्थ छ । यसको महत्व नबुझी आफूखुसी चित्र बनाउँदै जाने हो भने हाम्रो मौलिक संस्कृति र परम्परामाथि चुनौती थपिन्छ,” डेमनडौराले भने । उनले थारु समुदायका मौलिक कला, संस्कृति र परम्पराको दस्तावेजीकरण गर्दै नयाँ पुस्तासम्म पु¥याउन साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले निरन्तर भूमिका खेल्नुपर्ने बताए ।
अस्टिम्की पर्व विशेषगरी दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको डेमनडौराले जानकारी दिए । पछिल्लो समय ती जिल्लाबाट अन्यत्र बसाइँ सरेका तथा स्वदेश र विदेशका विभिन्न स्थानमा रहेका थारु समुदायले समेत अस्टिम्की पर्व मनाउँदै आएका छन् ।
अस्टिम्की पर्वका अवसरमा थारु समुदायमा विभिन्न सांस्कृतिक गतिविधिसँगै घरको भित्तामा अस्टिम्की चित्र बनाउने परम्परा रहँदै आएको छ । अस्टिम्की चित्रमा थारु समुदायको धार्मिक विश्वास, सामाजिक जीवन, प्रकृति, जीवजन्तु तथा सांस्कृतिक अभ्याससँग सम्बन्धित विभिन्न आकृति र प्रतीकहरू समेटिन्छन् ।
त्यसैले अस्टिम्की केवल घरको भित्तामा बनाइने सजावटी चित्र नभई थारु समुदायको इतिहास, धार्मिक विश्वास, प्रकृति, जीवनशैली र सामूहिक पहिचानको दृश्य अभिलेखका रूपमा समेत हेरिन्छ ।
अस्टिम्कीका आकृति र प्रतीकभित्र पुस्तौँदेखि संचित ज्ञान, विश्वास र अनुभव समेटिएको भन्दै यसको मौलिकता जोगाउन तत्कालै व्यवस्थित अध्ययन, अभिलेखीकरण र पुस्तान्तरण आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो ।
परम्परागत ज्ञान र मौलिक स्वरूप जोगाउँदै आधुनिक पुस्तासँग अस्टिम्कीलाई जोड्न सके मात्र यो कला आगामी पुस्तासम्म जीवित रहन सक्ने सहभागीहरूको निष्कर्ष थियो ।