Butwal Today

घरसँगै कापी–किताब गुमेपछि १२ वर्षीय बालकको प्रश्न—‘अब म कसरी पढ्ने?’

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

गल्छी (धादिङ्ग) । दिउँसोको १२ बजेको थियो । त्रिशूली नदी अझै उर्लिएर बगिरहेको थियो। धादिङको बैरेनी बजार भने सुनसान थियो । केही दिनअघिसम्म मानिसको चहलपहलले भरिने बजारमा अहिले लेदो, माटो र भग्नावशेष मात्र देखिन्थ्यो ।

त्रिशूलीमा आएको विनाशकारी बाढीले बैरेनी बजारका करिब एक सय घरमा ठूलो क्षति पु¥याएको छ । कतिपय घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने धेरै घरभित्र दोस्रो कम्मरसम्म लेदो र माटो जमेको छ । पानी घटेपछि स्थानीय बासिन्दा आफ्ना घरभित्र थुप्रिएको माटो, ढुंगा र गेग्रान हटाएर बाँकी रहेको सामान जोगाउने प्रयासमा छन् ।

यही उजाडिएको बजारको एक कुनामा १२ वर्षीय ज्याक्सन श्रेष्ठ गुमसुम बसिरहेका थिए । कक्षा ७ मा अध्ययनरत ज्याक्सनको हातमा बाढीले मैलो बनाएको पारिवारिक तस्बिर थियो । आँखामा आँसु थिए ।

उनका बुवा राजकुमार श्रेष्ठ कोदालोले घरभित्र जमेको लेदो हटाइरहेका थिए। आमा लक्ष्मी श्रेष्ठ भान्सामा पुरिएका भाँडाकुँडा खोज्दै थिइन् । तर ज्याक्सनको चिन्ता भने आफ्नो पढाइलाई लिएर थियो ।

“१० गते बिहान पानी आयो, सबै बगायो,” ज्याक्सनले मलिन स्वरमा भने, “मेरो घर पूर्ण रूपमा पुरियो ।’ ज्याक्सन पढ्ने बैरेनीस्थित सक्सेस एकेडेमी समेत बाढीबाट अछुतो रहेन । विद्यालय भवनभित्र कम्मरसम्म लेदो जमेको छ। कक्षाकोठाका बेन्च, ब्ल्याकबोर्डलगायतका सामग्री बाढीले बगाएको छ । विद्यालय बन्द भएपछि ज्याक्सनको पढाइ रोकिएको छ ।

उनको सबैभन्दा ठूलो चिन्ता कापी–किताब र विद्यालय पोसाकको छ ।‘मसँग दुई जोर ड्रेस थियो, दुवै बग्यो । किताब पनि बाँकी रहेनन् । अब स्कुल कसरी जाने?’ ज्याक्सनले आँसु पुछ्दै भने । अलमारीमा सुरक्षित राखेको विज्ञानको किताबमा उनले बनाएका चित्रहरू थिए । बाढीको लेदोले त्यो किताब पनि नष्ट गरिदिएको छ ।

साथीहरूसँग खेल्ने विद्यालयको मैदानसमेत बाढीले उजाडिएको छ । ‘जहाँ हामी साथीहरूसँग खेल्थ्यौँ, त्यो मैदान पनि पूरै बिग्रिएको छ । साथीहरू पनि कहाँ छन्, थाहा छैन। उनीहरू सुरक्षित छन् कि छैनन् भन्ने पनि खबर छैन,’ ज्याक्सनले भने ।
बाढीले घर मात्रै होइन, बालबालिकाको पढाइ र भविष्यसमेत प्रभावित बनाएको छ ।

विद्यालय र कलेज बन्द हुँदा बैरेनी क्षेत्रका विद्यार्थीको नियमित पठनपाठन रोकिएको छ । बाढीका कारण शैक्षिक सामग्री, पोसाक र विद्यालयका भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ ।

ज्याक्सनका बुवा राजकुमार श्रेष्ठले सानो मासु पसल सञ्चालन गरेर घर बनाएको बताए। ‘सानो पसल चलाएर घर बनाएका थियौँ । अहिले सबै सकियो,’ उनले भने, ‘अब छोराको पढाइ कसरी अघि बढाउने भन्ने चिन्ता छ । सरकारबाट सहयोगको प्रतीक्षामा छौँ ।’

त्रिशूलीको पानी घट्दै गएको छ । बजारका मानिसहरू घरको भग्नावशेष पन्छाउँदै छन् । कसैले भाँडाकुँडा खोजिरहेका छन्, कसैले खाद्यान्न र कपडा जोगाइरहेका छन् । तर ज्याक्सनको हातमा न घर बाँकी छ, न कापी–किताब बाढीपछि उजाडिएको बैरेनी बजारमा अहिले एउटा बालकको प्रश्न गुञ्जिरहेको छ—‘म फेरि कहिले पढ्न पाउँछु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?