© 2026
बाँके । भारतको उत्तर प्रदेशस्थित नेपालगन्ज रोड रेलवे स्टेसनबाट वाराणसीसम्म सिधा रेल सेवा सञ्चालनमा आएपछि नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकमा उत्साह बढेको छ ।
लामो समयदेखि प्रतीक्षा गरिएको रेल सेवा सुरु भएपछि पश्चिम नेपालका नागरिकलाई भारतका प्रमुख सहरसम्म पुग्न थप सहज हुने भएको छ ।
भारतले नेपालगन्ज रोड–नानपारा–बहराइच रेलखण्डको आमान परिवर्तन, ब्रोडगेज विस्तार र विद्युतीकरणको काम पूरा गरेपछि सोमबारदेखि नेपालगन्ज रोडबाट वाराणसी सिटीसम्म उद्घाटन विशेष रेल सञ्चालन गरेको हो ।
रेल सेवाको उद्घाटन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवको उपस्थितिमा भएको थियो । उद्घाटनका क्रममा नेपालगन्ज रोडबाट वाराणसी सिटी जाने ०५०६४ नम्बरको विशेष रेललाई प्रस्थान गराइएको थियो । नेपालगन्ज रोडबाट दिउँसो २ः४५ बजे छुटेको रेल नानपारा, रिसिया, बहराइच, पयागपुर, गोन्डा, बलरामपुर, तुलसीपुर, बढनी, सिद्धार्थनगर, आनन्दनगर, गोरखपुर, देवरिया, मऊ, औंडिहार र सारनाथ हुँदै वाराणसी सिटी पुग्ने जनाइएको छ ।
रेल सेवा सुरु भएसँगै बाँके, बर्दिया, दाङ, कर्णाली तथा सुदूरपश्चिमका नागरिकलाई भारतका विभिन्न सहरमा आवतजावत गर्न थप विकल्प प्राप्त भएको छ । यसअघि नेपालगन्ज–रूपैडिहा नाका हुँदै भारत जाने नेपाली यात्रु लामो दूरीको यात्रामा बस तथा निजी सवारी साधनमा निर्भर हुँदै आएका थिए ।
नेपालगन्जका व्यवसायी भरत किशोर चापागाईँले रेल सेवा सञ्चालनले भारतका विभिन्न सहरमा जाने नेपालीका लागि यात्रा सहज हुने बताए । “बस तथा निजी सवारीको तुलनामा लामो दूरीको रेल यात्रा सहज र किफायती हुन्छ । यसले सीमावर्ती क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ,” उनले भने ।
रेल सेवाले नेपालगन्जको व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्न सक्ने नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी वलीले बताए । उनका अनुसार नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र भएकाले भारतसँगको आवागमन सहज हुँदा व्यवसायीको सम्पर्क र बजार विस्तारमा सहयोग पुग्न सक्छ ।
“रेल सेवा सुरु हुनु सीमावर्ती क्षेत्रका लागि महत्त्वपूर्ण पूर्वाधार उपलब्धि हो,” उनले भने, “यसबाट यात्रु आवागमन बढ्नुका साथै व्यापार, पर्यटन र सेवा क्षेत्र पनि विस्तार हुने सम्भावना छ ।”
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नन्दलाल वैश्यले भारतका विभिन्न सहर सँग सहज सम्पर्क स्थापित हुँदा व्यवसायी तथा उपभोक्तालाई आवतजावतमा सुविधा पुग्ने बताए । उनका अनुसार रेल सेवा विस्तारसँगै नेपालगन्जबाट भारतका विभिन्न बजारमा जाने र भारतीय व्यापारी तथा यात्रु नेपालगन्ज आउने क्रम बढ्न सक्छ ।
रेल सेवा यात्रु आवागमनमा केन्द्रित भए पनि दीर्घकालमा यसलाई व्यापारिक तथा मालवाहक पूर्वाधारसँग जोड्न सकिने सम्भावना रहेको उनले बताए । त्यसका लागि नेपाल–भारतबिच सीमा व्यापार, भन्सार, गोदाम तथा मालवाहक रेलसम्बन्धी पूर्वाधारमा थप सहकार्य आवश्यक हुने उनको भनाइ छ ।
रेल सेवाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । वाराणसी भारतको प्रमुख धार्मिक तथा सांस्कृतिक गन्तव्य भएकाले त्यहाँबाट नेपालगन्ज आउने यात्रुलाई बाँके तथा बर्दियाका पर्यटकीय गन्तव्यसम्म ल्याउन सकिने सम्भावना छ ।
होटल व्यवसायी कृष्ण चौधरीले रेल सेवाबाट आउने भारतीय पर्यटकलाई नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज तथा अन्य पर्यटकीय क्षेत्रमा पु¥याउने गरी पर्यटन प्याकेज बनाउनुपर्ने बताए ।
“रेल सेवा आफैँमा पर्यटनका लागि ठूलो अवसर हो । नेपालगन्जलाई भारतबाट पश्चिम नेपाल प्रवेश गर्ने पर्यटन द्वारका रूपमा विकास गर्न सके यसको लाभ होटल, यातायात, पर्यटन र अन्य सेवा व्यवसायले लिन सक्छन्,” उनले भने ।
विशेषगरी वाराणसी, गोरखपुर तथा उत्तर प्रदेशका अन्य शहरबाट नेपालगन्ज हुँदै पश्चिम नेपालका धार्मिक तथा प्राकृतिक गन्तव्यमा आउने पर्यटक आकर्षित गर्न सकिने व्यवसायीहरूको भनाइ छ । त्यसका लागि सीमा नाका, सार्वजनिक यातायात, होटल तथा पर्यटन सूचना प्रणालीलाई थप व्यवस्थित गर्नुपर्ने उनीहरूले बताएका छन् ।
नेपालगन्जका लागि भारतसँगको रेल सम्पर्क शिक्षा तथा स्वास्थ्यका दृष्टिले पनि उपयोगी हुने देखिएको छ । लखनउ, गोरखपुर, वाराणसीलगायत भारतीय सहरमा उपचार तथा उच्च शिक्षाका लागि जाने पश्चिम नेपालका नागरिकका लागि रेल वैकल्पिक यातायात बन्न सक्ने स्थानीयको भनाइ छ ।
यसैगरी भारतमा रोजगारी, व्यापार तथा पारिवारिक कामका लागि आवतजावत गर्ने नागरिकलाई पनि रेल सेवाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपाल–भारतबिच खुला सीमा तथा पारिवारिक, धार्मिक र आर्थिक सम्बन्ध रहेकाले नेपालगन्ज–रूपैडिहा नाकाबाट हुने दैनिक आवागमनमा रेल सम्पर्कले थप सुविधा दिनेछ ।
भारतका लागि नेपालगन्ज रोडसम्म रेल सेवा विस्तार क्षेत्रीय यातायात सञ्जाल विस्तारको महत्त्वपूर्ण हिस्सा बनेको भारतीय पक्षले जनाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेशमा रेल पूर्वाधार विस्तारका लागि ठूलो लगानी भइरहेको बताएका छन् । उहाँका अनुसार उत्तर प्रदेशमा रेल विकासका लागि २० हजार २० करोड रुपियाँ बराबरको काम भइरहेको छ भने आगामी योजनामा ९२ हजार ५६ करोड रुपियाँ लगानी गर्ने तयारी छ ।
केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले पनि रेलमार्फत सुरक्षित, सस्तो र भरपर्दो यातायात विस्तारलाई प्राथमिकतामा राख्दै आएको बताइएको छ । नेपालगन्ज रोडसम्म ब्रोडगेज र विद्युतीकृत रेलमार्ग विस्तार भएपछि यो स्टेसन भारतको विस्तारित रेल सञ्जालसँग थप मजबुत रूपमा जोडिएको छ ।
नेपालगन्ज–रूपैडिहा क्षेत्रमा रेल सेवा सञ्चालनको माग लामो समयदेखि हुँदै आएको थियो । सीमावर्ती नेपाली नागरिकले भारतका प्रमुख सहरसम्म सहज रेल सम्पर्कको माग गर्दै आएका थिए । ब्रोडगेज रेलमार्ग विस्तारसँगै वाराणसीसम्म सिधा सेवा सञ्चालन भएपछि उक्त मागको एउटा चरण पूरा भएको छ ।
रेल सेवा सञ्चालनसँगै नेपालगन्जलाई भारतसँग जोडिएको यात्रु तथा पर्यटन केन्द्रका रूपमा विकास गर्ने अवसरसमेत प्राप्त भएको स्थानीय व्यवसायीहरूको भनाइ छ । तर यसको दीर्घकालीन लाभ लिन नेपालतर्फ सीमा सहजीकरण, सार्वजनिक यातायात, पर्यटन पूर्वाधार र व्यापारिक संरचना सुधार गर्नुपर्ने देखिएको छ ।
नेपालगन्ज रोड–वाराणसी रेल सेवाले तत्कालका लागि यात्रु आवागमन सहज बनाए पनि यसको प्रभाव आगामी दिनमा व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सीमावर्ती सामाजिक सम्बन्धसम्म विस्तार हुन सक्ने अपेक्षा गरिएको छ । पश्चिम नेपालका नागरिकका लागि भने भारतका प्रमुख सहरसँग जोडिने नयाँ यातायात विकल्प सुरु भएको छ ।