© 2026
गर्मी तथा वर्षात्वको मौसमसँगै विनाशकारी बाढीपछि समयमा नै सावधानी अपनाउन नसक्ने हो भने डेंगु सङ्क्रमण हुने दर अत्यधिक हुन सक्ने सम्भावना रहन सक्दछ । पानी जम्ने ठाउँ बढेपछि लामखुट्टेका लागि प्रजनन गर्ने वातावरण तयार हुन्छ ।
त्यसैले डेंगु र मलेरियाको जोखिम बढाउन सक्दछ । डेंगुका बिरामी फाट्टफुट्ट देखिने क्रम जारी छ । यस्तो अवस्थामा बाढीपछि डेंगुको चुनौती थपिन सक्दछ ।
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो। यो रोग विश्वका धेरै देशमा प्रकोपका रूपमा देखा परेको छ । डेंगु ज्वरो एक प्रकारको एडिस एजिप्टाई/एडिस एल्बोपिक्टस जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मात्रै सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टेलाई टाइगर मस्क्युटो पनि भनिन्छ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि लाग्न सक्दछ ।
डेंगु भाइरस चार प्रजातिका भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रजातिका डेंगु भाइरसबाट लाग्दछ । एक पटक एउटा प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यस्तै प्रकारको डेंगु रोग लाग्दैन, तर अन्य प्रकारको डेंगु रोग लाग्न सक्दछ । दोस्रो पटक लाग्ने डेंगु रोग पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।
यो लामखुट्टेले सामान्यतया जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ । एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ । एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब ५०० देखि १,००० वटासम्म अण्डा पार्ने गर्दछ । सङ्क्रमित लामखुट्टेका सबै अण्डा सङ्क्रमित नै हुन्छन् । यसको अण्डा पानीबिना पनि महिनौँसम्म जीवित रहन सक्दछ । यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ ।
डेंगु एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन । हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति रोगबाट सङ्क्रमित हुन्छ । पोथी जातको लामखुट्टेलाई फूल पार्नका लागि प्रचुर मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर आफ्नो जीवनयापन गर्दछ ।
डेंगु ज्वरोका लक्षण तथा चिन्हहरू
सङ्क्रमण काल ३ देखि १० दिन ।
उच्च ज्वरो आउनु १०२ देखि १०३ डिग्री फरेनहाइट ।
टाउको दुख्ने, पेट दुख्ने ।
वाकवाकी लाग्ने ।
आँखाको गेडी दुख्ने ।
सम्पूर्ण शरीर वा जोर्नी दुख्ने ।
राताराता बिमिराहरू देखा पर्ने ।
सामान्यतया ज्वरो आएको ३ देखि ५ दिनपछि समयमै उपचार तथा व्यवस्थापन गर्न सकिएमा मृत्युदरलाई २ प्रतिशतभन्दा कममा झार्न सकिन्छ । खास रोग नभएका तथा सामान्यभन्दा सामान्य बिरामी २० देखि ५० प्रतिशत हुन्छन् ।
डेंगुको विश्वव्यापी अवस्था
विगत केही दशकदेखि विश्वभर नै डेंगु रोगको सङ्क्रमण अत्यधिक रूपमा बढ्दै गइरहेको छ । बितेको ५० वर्षमा यो रोगको सङ्क्रमण ३० गुणाले बढेको पाइएको छ । स्तनधारी जीव हुँदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पत्ति झन्डै ५०० देखि १,००० वर्ष पहिले भएको अनुमान गरिएको छ ।
नेपालमा पहिलो पटक सन् २००४ मा पहिलो बिरामी विदेशी भेटिएको र सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २०१० मा चितवनलगायत रूपन्देही, नवलपरासीलगायत जिल्लामा महामारीका रूपमा फैलिएको र देशभर ९१७ केस देखिएको थियो ।
सन् २०१६ मा चितवन, झापा र रूपन्देही जिल्लामा महामारीका रूपमा फैलिएको र देशभर १,५२७ केस देखिएका थिए । सन् २०१७ मा चितवन, झापा र रूपन्देही जिल्लामा महामारीका रूपमा फैलिएको र देशभर २,१११ केस देखिएका थिए । सन् २०१८ मा कास्की, रूपन्देही र चितवन जिल्लामा महामारीका रूपमा फैलिएको र देशभर जम्मा ८११ केस देखिएका थिए ।
सन् २०१९ मा सुनसरी, मोरङ, झापा, चितवन, कास्की र मकवानपुर जिल्लामा महामारीका रूपमा फैलिएको थियो । सुनसरीमा मात्र ३,२६६ बिरामी पाइएको थियो । सन् २०१९ देखि २०२३ सम्म ७,३११ डेंगुका बिरामी भेटिएको विभिन्न स्रोतबाट पाइएको छ ।
वर्ष २०२४ मा देशभर ५० हजारमा डेंगु सङ्क्रमण भएको र १५ जनाले ज्यान गुमाएको रोग नियन्त्रण महाशाखाले जनाएको थियो भने वर्ष २०२५ को गर्मी तथा वर्षाद्को मौसममा समयमा नै सावधानी अपनाउन नसक्ने हो भने करिब ६० हजारभन्दा बढी डेंगु सङ्क्रमण हुने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको थियो । यस वर्ष सोही अनुपातमा बढ्न सक्ने सम्भावना हुनाले सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यो रोग विभिन्न उष्ण प्रदेशीय तथा उपोष्णप्रदेशीय भागहरूमा तीव्र गतिमा फैलिएको पाइन्छ । त्यसैले सबैजनाले सजगता अपनाएमा यसबाट सजिलै बच्न सकिन्छ ।
रोकथामका उपायहरू
पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ। पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्दछ ।
कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टीतेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । घरवरपरका पानी जम्ने खाल्डाहरू पुरिदिने । घरका नजिकका पानी बग्ने नालीहरूमा बेलाबेलामा मट्टीतेल छर्कने गर्नुपर्दछ । बस्तीको वरिपरिका झाडीहरू सफा गर्ने ।
एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बाहिर हिँड्दा पूरै शरीर छोप्ने गरी कपडाहरू प्रयोग गर्ने । बच्चाहरूलाई बाहिर निस्कँदा लामखुट्टे प्रतिरोधात्मक मलमहरू शरीरमा लगाई हिँडाउने ।
फूलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्नुपर्दछ । घरका झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । सुत्दा दिउँसो होस् या राति, झुलको प्रयोग अनिवार्य रूपमा गर्नुपर्दछ । लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ अभियान कार्यक्रम निरन्तर गर्नुपर्दछ ।