Butwal Today

खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खानेपानीको पूर्वाधारको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका ८ मा निर्माण गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खानेपानीको संरचनाको नियमित मर्मत सम्भार, खानेपानी पाइपको सुरक्षा तथा संरक्षणका लागि उपभोक्ता समितिहरू जिम्मेवार बन्नुपर्ने बताए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले खानेपानी क्षेत्रमा लगानी बढाउँदै गएको बताउँदै निर्माण भएका आयोजनालाई दीर्घकालीन र प्रभावकारी रूपमा सञ्चालन गर्न उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

‘खानेपानी आयोजनालाई दिगो रूपमा अघि बढाउन उपभोक्ताको महत्त्वपूर्ण भूमिका रहन्छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘उपभोक्ता समितिले आन्तरिक कोषको व्यवस्थापन गरेर साना खालका समस्या समाधान गर्ने प्रणाली विकास गर्नुपर्छ ।’

खानेपानीको संरचना निर्माणमा मात्रै सीमित नभई त्यसको नियमित सञ्चालन, मर्मत सम्भार र संरक्षणमा समेत ध्यान दिनुपर्ने बर्ता । प्रदेश सरकारले नागरिकलाई स्वच्छ र सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले विभिन्न क्षेत्रमा खानेपानीको आयोजना सञ्चालन गरिरहेको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले प्रदेशमा निर्माणाधीन तथा अधुरा रहेका खानेपानी आयोजनालाई प्राथमिकताका आधारमा सम्पन्न गर्ने लक्ष्य सरकारको रहेको बताउँदै नागरिकको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको खानेपानी सेवाको विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको  स्पष्ट पारे ।

खानेपानी आयोजना निर्माणका क्रममा स्थानीय आवश्यकता, स्रोतको उपलब्धता र दीर्घकालीन सञ्चालनलाई समेत ध्यान दिनुपर्ने बताउँदै आयोजना सम्पन्न भएपछि त्यसको स्वामित्व उपभोक्ताले लिनुपर्नेमा जोड दिए । लाहापे डिप बोरिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि शितगंगा नगरपालिका ८ का स्थानीय बासिन्दालाई खानेपानीको सहज पहुँच पुग्ने अपेक्षा गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख राम भरोस यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?