© 2026
सल्यान ।
पटकपटक मूल्यांकन र प्रमाणीकरणले सल्यानका भूकम्प प्रभावित अन्योलमा परेका छन् । भूकम्पबाट घरमा क्षति पुगेपछि राहत तथा पुनर्निर्माणको आशामा बसेका दार्मा गाउँपालिकाका प्रभावितहरू पटक पटकको मूल्यांकन र प्रमाणीकरण प्रक्रियाले अन्योलमा परेका हुन् । क्षतिको विवरण संकलन र प्रमाणीकरण भइसकेपछि पनि पुनः मूल्यांकन गर्न लागिएपछि प्रभावितले अनुदान तथा पुनर्निर्माणको लाभ पाउन थप समय कुर्नुपर्ने अवस्था बनेको छ ।
दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार स्थानीय विपद् व्यवस्थापन समितिले संकलन गरेको विवरण जिल्लामा पठाइएको र जिल्ला विपद् व्यवस्थापन समितिबाट समेत प्रमाणीकरण गरी पठाइएका विवरणमाथि फेरि पुनर्मूल्यांकन गर्न लागिएको हो । पालिकाले लाभग्राहीको विवरण संकलन तथा प्रमाणीकरणको काम २०८१ वैशाखमै सम्पन्न गरेको भए पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रक्रिया अघि बढ्न ढिलाइ भएको अध्यक्ष केसीले बताए ।
गाउँपालिकाभित्र करिब चार हजार ८०० घरधुरीमध्ये एक हजार ६०० घरधुरीले अहिलेसम्म पहिलो किस्ता समेत पाउन नसकेको उनको भनाइ छ । हालसम्म प्राधिकरणले ५५६ लाभग्राही संख्या मात्र कायम गरेर पठाएको र त्यसको समेत पुनर्मूल्यांकन गर्न भनिएको अध्यक्ष केसीले बताए । ‘रुकुम र जाजरकोटमा पुनर्निर्माणको काम अघि बढिसकेको छ, सल्यानमा भने प्रभावितले अझै प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ,’ अध्यक्ष केसीले भने, ‘पटकपटक मूल्यांकन र प्रमाणीकरण गर्न लगाउँदा प्रभावितलाई थप अन्योल भएको छ ।’
यता जिल्ला विपद् व्यवस्थापन समितिले भने लाभग्राहीका रूपमा कायम भई प्रमाणीकरण गरेर पठाएका घरधुरीको पुनर्मूल्यांकन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको छ । पुनर्मूल्यांकनका लागि पूर्वाधार विकास कार्यालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यान र जिल्ला समन्वय समिति सहितको प्राविधिक टोली परिचालन गरिने प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले बताइन् ।
उनका अनुसार मंसिरको अन्तिम सातादेखि पुनर्मूल्यांकनको काम सुरु गर्ने तयारी छ ।
प्राविधिक टोली परिचालन गर्ने निर्णय यस अघि जेठमै भए पनि जनशक्ति अभाव र केही प्रक्रियागत ढिलाइका कारण कार्यान्वयन हुन नसकेको प्रमुख जिल्ला अधिकारी केसीले बताइन् । अहिले आवश्यक प्राविधिक व्यवस्थापन गरेर प्रभावित क्षेत्रमा पुगेर तीव्र रूपमा पुनर्मूल्यांकनको काम अघि बढाउने तयारी गरिएको उनले जानकारी दिइन् ।
पुनर्मूल्यांकनपछि प्रभावितको अनुदान तथा पुनर्निर्माण प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको भए पनि पटकपटकको प्रक्रियागत ढिलाइले भूकम्प प्रभावितहरू अझै अन्योलमा छन् । अध्यक्ष केसीले प्रभावितले यथाशीघ्र अनुदान पाउने व्यवस्था गरी पुनर्निर्माणको प्रक्रिया टुंग्याउन सम्बन्धित निकायसँग माग गरेका छन् । २०८० कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट सल्यान जिल्लाका दार्मा गाउँपालिका, कुमाख गाउँपालिका र बागगचौर नगरपालिका लगायतका क्षेत्र पनि प्रभावित भएका थिए ।