Butwal Today

बाढीले खोस्यो बास, पुनःस्थापनाको पर्खाइ

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

प्रतिमा गौतम

बुटवल ।
बुटवल उपमहानगरपालिका–११ टप मझुवाका सकिल मिया आफ्नै घर भएको ठाउँमा उभिएर बाँकी रहेको घरको निशानी हेरिरहेका छन् । यही ठाउँमा उनको १६ वर्षको पसिना, संघर्ष र सपना जोडिएको घर थियो । अहिले त्यहाँ घरको अवशेषबाहेक केही बाँकी छैन । असोज १० गते राति तिनाउ नदीमा आएको बाढीले उनको घर बगाएपछि सकिल घरबारविहीन बनेका छन् । घरसँगै उनले वर्षौंदेखि साँचेर राखेका सपना पनि बाढीले बगाएको छ ।
अहिले उनी परिवारसहित टप मझुवा टोल विकास समितिको भवनमा आश्रय लिइरहेका छन् । घर गुमाएपछिको पीडा शब्दमा व्यक्त गर्न उनलाई सहज छैन । उनलाई बाढी आएको त्यो रात सम्झन पनि मन लाग्दैन । ‘म त्यो दिन सम्झनै चाहन्नँ। एकएक दुःख र पसिना बगाएर बनाएको घर आफ्नै आँखाअगाडि बगाउँदा मन सम्हाल्न पनि गाह्रो हुँदो रहेछ,’ सकिल भन्छन् ।
बाढी आउनुअघि पाल्पामा ठूलो पानी परेको खबर स्थानीय जनप्रतिनिधि नकुल शाही मार्फत उनले पाएका थिए । तिनाउमा बाढी आउन सक्ने आशंकामा टोलका मानिसलाई सचेत गराउन उनी दौडिए । अरूको सुरक्षाका लागि खबर गर्दै हिँडेका सकिलले आफ्नै घरको सामानसमेत निकाल्न पाएनन् । केही सोच्न र सम्हालिन नपाउँदै घर नदीमा विलीन भयो ।
सामान्य घर बनाउने काम गरेर जीविकोपार्जन गर्दै आएका सकिलका लागि घर जीवनभरको कमाइ र परिवारको सुरक्षित भविष्यसँग जोडिएको आधार थियो । टप मझुवा टोल विकास समितिका अध्यक्षसमेत रहेका उनी अहिले आफ्ना दुई सन्तानको भविष्य सम्झेर चिन्तित छन् ।
‘म यहीँ जन्मिएँ, यहीँ हुर्किएँ । १६ वर्षदेखि यही घरमा बस्दै आएको थिएँ। यस्तो दिन आउला भनेर कहिल्यै सोचेको थिइनँ,’ उनले दुःख पोखे ।
सकिलको पीडा टप मझुवाका अन्य परिवारको अवस्थासँग पनि मिल्दोजुल्दो छ । असोज १० गतेको बाढीले सकिल मियासहित नरेन्द्र दर्जी, अब्दुल अली, गफारदिन मिया र दुर्गादिन बानियाको घर बगाएको थियो। पाँच परिवारको बसोबास नै खोसिएको छ । बाढीले दुईवटा खाली घडेरीसमेत कटान गरेको थियो । घर गुमाएका परिवार अहिले कोही टोल विकास समितिको भवनमा त कोही भाडाको कोठामा बस्न बाध्य छन् ।
नदी किनारमा उभिएर आफ्नो घर भएको ठाउँ देखाउँदै दुर्गादिन बानिया पनि सम्झिन्छन् । उनी औँलाले ठाउँ देखाउँदै भन्छन्, ‘हो, यहीँनेर मेरो घर थियो । एकएक पैसा र पसिना जोडेर बनाएको थिएँ। अब कसलाई के भनौँ, आफ्नो दुःख आफैँसँग छ ।’
दुर्गादिनको परिवारमा श्रीमती, छोरी र बहिनीसहित चार जना छन् । घर बगेपछि उनीहरू अहिले मासिक सात हजार रूपैयाँ भाडा तिरेर बसिरहेका छन् । दैनिक गुजारा चलाउनुपर्ने अवस्थामा घरभाडाको थप आर्थिक भारले परिवारलाई झनै समस्यामा पारेको छ । उनी पनि १६ वर्षदेखि यही ठाउँमा बस्दै आएका थिए । अहिले नजिकैको मैनाबगरमा रहेको एउटा ग्यारेजमा काम गर्छन् । सिकेको सीपले जीविकोपार्जन गर्न सहज भए पनि घर गुमाउँदाको पीडा र असुरक्षित भविष्यको चिन्ता हटेको छैन ।
‘अहिले ग्यारेजमा काम गर्छु । सीप सिकेको थिएँ, त्यसैले बाँच्न सकेको छु,’ उनी भन्छन् । घरबारविहीन बनेका यी परिवारलाई तत्कालको संकट टार्न केही सहयोग प्राप्त भएको छ । बुटवल उपमहानगरपालिकाले घरभाडा खर्चबापत १५ हजार रूपैयाँ उपलब्ध गराएको छ ।
त्यसैगरी विभिन्न संघसंस्था र व्यक्तिहरूले पनि सहयोग गरेका छन् । तर उनीहरूका लागि यो सहयोग दीर्घकालीन समाधान भने बन्न सकेको छैन । घर गुमाएका परिवारको मुख्य चिन्ता अब कहाँ र कसरी सुरक्षित रूपमा बस्ने भन्ने हो । स्थानीय तहबाट राहत र सहयोग पाए पनि स्थायी बसोबासको सुनिश्चितता नहुँदा उनीहरू अन्योलमा छन् । वर्षौँदेखि बस्दै आएको ठाउँ छाड्नुपर्ने अवस्था र पुनः घर बनाउन आवश्यक आर्थिक स्रोतको अभावले परिवारहरू थप समस्यामा परेका छन् ।
बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री स्थानीय तहको प्रयासले मात्र यो समस्या समाधान गर्न नसकिने बताउँछन् । बाढीबाट प्रभावित परिवारको पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारबिच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
‘यो समस्या स्थानीय तहले मात्रै समाधान गर्न सक्ने अवस्था छैन । प्रभावित परिवारलाई सुरक्षित व्यवस्थापन गर्न संघ र प्रदेश सरकारसँग पनि सहकार्य गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
बाढीपछि नगरपालिका, वडा कार्यालय तथा यस क्षेत्रका नेता सुलभ खरेल लगायतका प्रतिनिधिहरू प्रभावित बस्तीमा पुगेका थिए । उनीहरूले पीडित परिवारलाई भेटेर चासो र आश्वासन पनि दिएका थिए । तर प्रभावितहरूका अनुसार भेटघाट र आश्वासनले मात्र उनीहरूको जीवनको दुख हराउन सकेको छैन ।
‘नगरपालिका, वडा र नेताहरू आउनुभयो । धेरै आश्वासन पनि दिनुभयो। तर हामीले के पायौँ? घर त गयो, अब बस्ने ठाउँको व्यवस्था कसले गरिदिने ?’ उनीहरूको साझा प्रश्न छ ।
बाढीले घर बगाएको दिनदेखि यी परिवारको दैनिकी फेरिएको छ । पहिले आफ्नै घरमा परिवारसँग सुरक्षित महसुस गर्नेहरू अहिले अरूको आश्रय तथा भाडामा छन् । कसैलाई घरभाडा तिर्ने चिन्ता छ, कसैलाई बालबच्चाको भविष्यको । दैनिक ज्यालामजदुरी गरेर जीवन चलाउने उनीहरूका लागि फेरि नयाँ घर बनाउनु सहज छैन ।
प्राकृतिक विपत्ले घर भत्काउँदा त्यसको असर कसरी कम गर्ने त्यसको दीर्घकालीन समस्याको समाधान कसरी गर्ने ? वर्षौँका सम्झना, श्रम, सम्पत्ति र परिवारको सुरक्षा समेत कसरी गर्ने ? टप मझुवाका यी पाँच परिवार संगै पुरौ दुई सय घर अहिले त्यही पीडाबाट गुज्रिरहेका छन् ।
सकिल मिया र दुर्गादिन बानियाका लागि नदी किनारमा बाँकी रहेको घरको निशानी अब विगतको सम्झना मात्रै बनेको छ । उनीहरूलाई राहतभन्दा बढी सुरक्षित बासस्थान र भविष्यप्रतिको भरोसा चाहिएको छ । बाढीको पानी ओह्रालो लागेर तिनाउ नदी शान्त बने पनि घर गुमाएका परिवारको मनमा उठेको चिन्ताको भेल अझै रोकिएको छैन ।
नदीको किनारमा सधै दुख र जगजगीमा बाचेका उनीहरूले आफूसंगै आफ्ना साना छोरा छोरीको मन सम्हाल्न राज्यको सहयोग पर्खेका बताएका छन् ।
उनीहरूको प्रश्न एउटै छ–विपत्का बेला दिइएका आश्वासन कहिले व्यवहारमा रूपान्तरण हुन्छन् र घरबारविहीन बनेका परिवारले कहिले सुरक्षित बासस्थान पाउँछन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?