© 2026
सल्यान ।
सल्यानमा स्क्रब टाइफसको संक्रमण विस्तारै घट्दै गएको छ । वर्षायामसँगै जिल्लामा तीव्र रूपमा फैलिएको संक्रमण पछिल्लो समय सुस्ताउन थालेको हो । पछिल्लो छ दिनको तथ्यांक अनुसार ५३ जनाको परीक्षण गर्दा छ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका चार दिनमा कुनै पनि नयाँ संक्रमित भेटिएका छैनन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार कार्तिक २९ र ३० गते परीक्षण गरिएका पाँच÷पाँच जना, मंसिर २ गते सात जना र मंसिर ४ गते परीक्षण गरिएका चारै जनामा संक्रमण देखिएको छैन । मंसिर १ गते १३ जनाको परीक्षण गर्दा बागचौर नगरपालिका र कपुरकोट गाउँपालिकामा एक÷एक जना तथा मंसिर ३ गते १९ जनाको परीक्षण गर्दा दुवै पालिकामा दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण फैलिन थालेको सुरुवाती समयमा दैनिक ठूलो संख्यामा संक्रमित थपिने गरेका थिए । असोज २० गते एकै दिन ५६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय संक्रमणको दर घट्दै जानुलाई स्वास्थ्य क्षेत्रले सकारात्मक संकेतका रूपमा लिएको छ । यद्यपि जिल्लामा हालसम्म ८६३ जनामा संक्रमण पुष्टि भइसकेकाले जोखिम पूर्ण रूपमा हटिसकेको छैन ।
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये नौ वटामा स्क्रब टाइफस फैलिएको छ । जिल्लामा सरकारी तथा निजी स्वास्थ्य संस्थामार्फत हालसम्म तीन हजार ८०४ जनाको परीक्षण गर्दा ८६३ जनामा संक्रमण पुष्टि भएको छ ।
सरकारी स्वास्थ्य संस्थामा दुई हजार २५० महिला र एक हजार १५५ पुरुष गरी तीन हजार ४०५ जनाको परीक्षण गरिएको थियो । तीमध्ये ५९४ महिला र १६१ पुरुष गरी ७५५ जनामा संक्रमण देखिएको छ । त्यसैगरी निजी स्वास्थ्य संस्थामा २४३ महिला र १५६ पुरुष गरी ३९९ जनाको परीक्षण गर्दा ८९ महिला र १९ पुरुष गरी १०८ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म संक्रमित हुनेमा ६८३ महिला र १८० पुरुष रहेका छन् । संक्रमणका कारण जिल्लामा १० जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिकामा एक महिला र आठ पुरुष गरी नौ जना तथा छत्रेश्वरी गाउँपालिकामा एक महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयको तथ्यांक छ ।
सबैभन्दा बढी बागचौर नगरपालिकामा २६९ जनामा संक्रमण पुष्टि भएको छ । दार्मा गाउँपालिकामा २६४, कपुरकोट गाउँपालिकामा ८४, कुमाख गाउँपालिकामा ८३, सल्यान जिल्ला अस्पतालमा परीक्षण गरिएका ८३, छत्रेश्वरी गाउँपालिकामा ५८, बनगाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा छ, सिद्धकुमाख गाउँपालिकामा तीन र कालिमाटी गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको छ ।
परीक्षण, उपचार र सचेतनामा जोड
जिल्लामा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि स्वास्थ्य सेवा कार्यालयले स्थानीय तहसँग समन्वय गरेर परीक्षण, उपचार र रोकथामका गतिविधिलाई तीव्रता दिएको थियो । विशेषगरी संक्रमणको सुरुवाती केन्द्र बनेको दार्मा गाउँपालिकाका प्रभावित बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरी शंकास्पद बिरामीको परीक्षण र संक्रमितको उपचार गरिएको थियो । जटिल अवस्था भएका बिरामीलाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा पठाउने व्यवस्था पनि मिलाइएको थियो ।
संक्रमणको अवस्था र फैलावटको कारण पत्ता लगाउन संघीय सरकारको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट विशेषज्ञ टोलीसमेत सल्यान आएको थियो । टोलीले प्रभावित क्षेत्रमा स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुका साथै संक्रमण फैलिनुका सम्भावित कारण पहिचान गर्ने काम गरेको थियो ।
कर्णाली प्रदेश सरकारले पनि संक्रमण नियन्त्रणका लागि परीक्षण किट, आवश्यक औषधि तथा चिकित्सकसहित स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत परीक्षण सामग्री तथा औषधि उपलब्ध गराउने काम गरिएको थियो । स्थानीय सरकारले समेत स्वास्थ्य सेवा कार्यालयसँगको समन्वयमा प्रभावित क्षेत्रमा परीक्षण, उपचार तथा सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेका छन् ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी सल्यान जिल्ला शाखाले पनि जिल्लाभर सचेतना अभियान सञ्चालन गरेको छ । कार्तिक ३० गतेदेखि सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य सेवा कार्यालयसँगको समन्वयमा स्वयंसेवकलाई अभिमुखीकरण गरी ४० जना स्वयंसेवक परिचालन गरिएको छ ।
परिचालित स्वयंसेवकले जिल्लाका विभिन्न बस्तीमा घरदैलो गर्दै स्क्रब टाइफसका लक्षण, संक्रमण सर्ने माध्यम र बच्ने उपायबारे नागरिकलाई जानकारी गराइरहेका छन् । घरदैलोका क्रममा रोगसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिए नजिकैको स्वास्थ्य संस्थामा परीक्षण तथा उपचारका लागि पठाउनसमेत सहजीकरण गरिरहेको रेडक्रसले जनाएको छ ।
संक्रमण घटे पनि सावधानी आवश्यक
स्क्रब टाइफस सामान्यतया वर्षायाममा बढी देखिने रोग हो । संक्रमित सूक्ष्म किर्ना (माइट) को टोकाइबाट मानिसमा सर्ने यो रोग खेतबारी, झाडी, घाँस तथा वन क्षेत्रमा काम गर्ने व्यक्तिमा बढी जोखिमपूर्ण हुन्छ । वर्षायाममा झाडी तथा घाँसपातमा त्यस्ता किर्नाको सक्रियता बढ्ने भएकाले संक्रमण फैलिने सम्भावना बढी हुन्छ । पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै संक्रमण घट्दै गएको देखिए पनि यसलाई पूर्ण नियन्त्रण भएको मान्न नहुने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।
स्वास्थ्यकर्मीहरूले घाँसदाउरा गर्दा तथा खेतबारी र जंगलमा काम गर्दा शरीर पूरै ढाकिने कपडा लगाउन, बुट र पञ्जा प्रयोग गर्न तथा घरवरपरका झाडी र बुट्यान सफा राख्न आग्रह गर्दै आएका छन् । कामबाट फर्किएपछि कपडा फेर्ने र शरीर सफा गर्ने बानी बसाल्न पनि सुझाव दिइएको छ ।
लगातार ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने तथा अस्वस्थ महसुस हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ । समयमै पहिचान गरी उपचार गरेमा रोग निको हुने भएकाले ज्वरो आएपछि मेडिकलबाट आफूखुसी औषधि किनेर खानेभन्दा स्वास्थ्यकर्मीको सल्लाह लिन उनीहरूले आग्रह गरेका छन् ।