© 2026
नेपालगञ्ज ।
नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार महिला लेखनवृत्ति प्रतियोगिता–२०८३ मा बुटवल टुडेकी बाँके संवाददाता विमला चौधरीले लेखेको स्टोरी प्रथम भएको छ।
चौधरीले थारु लेहङ्गाको बढ्दो मागसँगै चम्किँदै गीताको उद्यमशीलता, मासिक डेढ लाख आम्दानी शीर्षकमा लेखेको स्टोरी प्रतियोगितामा पहिलो भएको हो।
प्रतियोगितामा ममता थापाले लेखेको ‘घुँघट र अशिक्षाको पर्खाल भत्काएर सत्ताको जिम्मेवारी सम्हाल्ने आँट गरेका जनप्रतिनिधि’ शीर्षकको स्टोरी दोस्रो भएको छ। त्यसैगरी सुमित्रा पण्डितको ‘मुना हमालको संघर्षदेखि नेतृत्वसम्मको प्रेरणादायी यात्रा’ शीर्षकको स्टोरी तेस्रो भएको छ।
साहिदा साहले ‘आशाका सपना, साहस, संघर्ष र दोहोरो जिम्मेवारी’ शीर्षकमा लेखेको स्टोरीले सान्त्वना स्थान हासिल गरेको छ।
प्रतियोगिताका विजेताहरूलाई क्रमशः आठ हजार, पाँच हजार, तीन हजार र एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सुधांशु कोइराला र सीता काफ्ले, लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बादशाह कुर्मी तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डेले विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
प्रतियोगितामा बाँकेमा क्रियाशील छ जना पत्रकार महिलाले सहभागिता जनाएका थिए। पत्रकार महिलाको लेखन क्षमता, व्यावसायिक दक्षता र पत्रकारितामा महिलाको सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।