काठमाडौँ ।
एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल भारत ‘ए’सँग लज्जास्पद हार बेहोर्न पुगेको छ ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
तीन सय ३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११ दशमलव ३ ओभरमै मात्र २६ रनमा अलआउट भयो ।
नेपालका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पवन सर्राफ र राशिद खानले सर्वाधिक ६–६ रन बनाए । प्रातिस जीसीले ४ रन, नन्दन यादव र ललित राजवंशीले समान २ रन तथा दीपक डुम्रेले १ रन बनाए ।
नेपालका कप्तान कुशल भुर्तेल, अर्जुन कुमाल, बासिर अहमद, लोकेश बम र सन्दीप लामिछाने शून्य मै आउट भए ।
भारत ‘ए’का बलर प्रिन्स यादवले घातक बलिङ गर्दै ५ विकेट लिए । उनले ५ ओभरमा ६ रन मात्र खर्चिए । हर्षित राणाले ४ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे ।
त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ‘ए’ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रनको योगफल बनाएको थियो ।
भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ खेले । कुमारले १०२ बलमा १० चौका र ५ छक्काको मद्दतले ११७ रन बनाए । त्यस्तै तिलकले ११३ बलमा ६ चौका र ४ छक्कासहित १०७ रन जोडे ।
सुर्यांश शेडगेले १४ बलमा अबिजित ३६ रन बनाए । वैभव सूर्यवंशीले २६, अभिषेक शर्माले ९ तथा रिंकु सिंहले समान ९ रन नै बनाए ।
नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिए । त्यस्तै नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट हात पारे ।