© 2026
बुटवल ।
रूपन्देहीमा कात्तिक महिनामा भएका २३४ वटा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ३७३ जना घाइते भएका छन् । चाडपर्वका बेला जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको दाबी गरिए पनि सवारी दुर्घटनाको तथ्यांकले सडक सुरक्षाको चुनौती भने कायमै रहेको देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सार्वजनिक गरेको कात्तिक महिनाको प्रगति विवरणअनुसार दुर्घटनामा ३३० वटा सवारीसाधन संलग्न थिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित जाँच र कारबाही सञ्चालन गरे पनि एक महिनाको अवधिमा ठूलो संख्यामा दुर्घटना भएका हुन् ।
प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १७२ वटा सवारीसाधनलाई कारबाही गरी ३६ लाख ८३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
सवारी दुर्घटनासँगै कात्तिक महिनामा जिल्लामा विभिन्न प्रकृतिका १३० वटा आपराधिक मुद्दा दर्ता भएका छन् । ती घटनामा संलग्न चालु मुद्दाका १२६ जना प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीको विवरणअनुसार ज्यानसम्बन्धी २६, आत्महत्यासम्बन्धी १३, चोरीका ११, संगठित तथा आर्थिक अपराधका ३५, सामाजिक अपराधका २२, महिला तथा बालबालिकासम्बन्धी ११, सवारीसम्बन्धी ११ र अन्य प्रकृतिका एउटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्णकुमार चन्दले चाडपर्वको समयमा सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै जिल्लाभर एक हजार दुई सय प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार प्रहरीको सूक्ष्म निगरानी र सुरक्षा व्यवस्थापनका कारण चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन् ।
‘चाडपर्वको समयमा जिल्लाभर एक हजार दुई सय प्रहरी परिचालन गरेका थियौँ । सूक्ष्म निगरानीका कारण चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्,’ उनले भने ।
कात्तिक महिनामा प्रहरीले केही गम्भीर आपराधिक घटनाको अनुसन्धानमा समेत सफलता हासिल गरेको जनाएको छ । कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धानखेतमा ४१ वर्षीया जुबेदा खातुनको हत्या गरी कानमा लगाएको सुनको गहना लुटिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, १८ वर्षअघि गोली हानी हत्या गरिएको घटनामा संलग्न भई फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । लागूऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले पाँचवटा मुद्दा दर्ता गरी छ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ४३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगरसहित विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, भन्सार छली गरी ल्याइएका अवैध सामान नियन्त्रण गर्ने क्रममा आठ जना पक्राउ परेका छन्। प्रहरीले नौवटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ । उक्त कारबाहीबाट एक करोड ७३ लाख २० हजार ८९४ रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार कात्तिक महिनामा आगलागीका १२ सहित १८ वटा विपद्का घटना भएका छन् । त्यस्तै, सार्वजनिक स्थानमा देउसीभैलो खेल्ने क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।
एक महिनाको प्रहरी तथ्यांकले रूपन्देहीमा अपराध नियन्त्रण, लागूऔषध कारोबार, भन्सार छली तथा सडक दुर्घटना नियन्त्रण प्रहरीका लागि उत्तिकै चुनौतीपूर्ण रहेको देखाएको छ ।