© 2026
सल्यान ।
देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका स्वर्गीय मरिचमान सिंह श्रेष्ठको योगदान र स्मृतिलाई संस्थागत रूपमा संरक्षण गर्ने उद्देश्यसहित सल्यानका युवाहरूले सुरु गरेको अभियानले मूर्तरूप पाएको छ । उनको जन्मथलो सल्यानको श्रीनग रस्थित रुकुम चोकमा शालिक निर्माण गरी अनावरण गरिएको छ । शालिक निर्माणमा लागेको खर्च कटाएर बचेको रकमबाट अब मरिचमान सिंह श्रेष्ठ फाउन्डेसन मार्फत स्मृति संरक्षण, सम्मान र अध्ययनका गतिविधि अघि बढाउने तयारी गरिएको छ ।
स्थानीय युवाहरूको पहल तथा सल्यानी युवा सञ्जालको सक्रियतामा सञ्चालित अभियानबाट दुई लाख ३१ हजार रूपैयाँ संकलन भएको थियो । निर्माण तथा अभियान संयोजक युवराज खड्काले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार शालिक निर्माण, भौतिक संरचना, अनावरण समारोह र व्यवस्थापकीय काममा एक लाख ९९ हजार ५२० रूपैयाँ खर्च भएको छ । अभियानबाट ३० हजार ५२० रूपैयाँ बचत भएको छ ।
बचत रकम मरिचमान सिंह श्रेष्ठ फाउन्डेसनमा हस्तान्तरण गरी आगामी दिनमा उनीसँग सम्बन्धित स्मृति, सम्मान, अध्ययन तथा अन्य संस्थागत गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ । यद्यपि बचत रकममध्ये सोरठी नाच तथा पञ्चेबाजाको भुक्तानी दिन बाँकी रहेको छ ।
खर्च विवरण अनुसार शालिक निर्माण तथा भौतिक संरचना व्यवस्थापनमा एक लाख ३२ हजार २०० रूपैयाँ खर्च भएको छ । शालिक अनावरण तथा उद्घाटन कार्यक्रम व्यवस्थापनमा ३० हजार ३०० रूपैयाँ, निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न लगातार सात दिनसम्म खटिएको टोलीको व्यवस्थापन, खाना, खाजा तथा श्रमिक परिचालनमा १५ हजार रूपैयाँ र अन्य व्यवस्थापकीय तथा विविध खर्चमा २२ हजार ५०० रूपैयाँ खर्च भएको संयोजक खड्काले जानकारी दिए ।अभियानमा नगद सहयोगसँगै विभिन्न जिन्सी सामग्री समेत प्राप्त भएका थिए । शुभेच्छुकहरूले शालिक निःशुल्क निर्माण गरिदिनुका साथै सीसीटीभी क्यामेरा, होर्डिङ बोर्ड, बिरुवा, रेलिङको साङ्लो, १५ बोरा सिमेन्ट, दुई बन्डल छड र एक ट्रयाक्टर बालुवा सहयोग गरेका थिए । यी सामग्रीको मौद्रिक मूल्य भने सार्वजनिक खर्च विवरणमा समावेश गरिएको छैन ।
शालिकको मंसिर २ गते बुधबार औपचारिक अनावरण गरिएको थियो । शारदा नगरपालिका १, दारीमचौरका ९८ वर्षीय ज्येष्ठ नागरिक लोकबहादुर थापाले शालिक अनावरण गरेका थिए । समारोहमा पञ्चेबाजा बजाइनुका साथै स्थानीयवासीले परम्परागत सोरठी नृत्य प्रस्तुत गरेका थिए । वि.सं. १९९७ मा सल्यानको खलंगा हाल शारदा नगरपालिका, २ मा जन्मिएका श्रेष्ठ वि.सं. २०४३ देखि २०४६ सम्म नेपालको प्रधानमन्त्री थिए । उनी नेपालको २७ औँ तथा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री हुन् ।उनको राजनीतिक योगदान र व्यक्तित्वलाई नयाँ पुस्तासम्म परिचित गराउने तथा जिल्लाको ऐतिहासिक पहिचानसँग जोडेर स्मरण गराउने उद्देश्यले शालिक निर्माण गरिएको सल्यानी युवा सञ्जालले जनाएको छ ।