Butwal Today

युसीएमएसमा अत्याधुनिक प्रविधिसँगै निःशुल्क एम्बुलेन्स सेवा

२४ श्रावण २०८३, आइतबार
अ+
अ-

बुटवल । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस) शिक्षण अस्पताल भैरहवाले रेडियोलोजी विभागको रजत जयन्तीको अवसरमा अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान मेसिन र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालले बिरामीका लागि निःशुल्क भेन्टिलेटर जडित अत्याधुनिक एम्बुलेन्स सेवा सुरुवात गरेको छ । मेडिकल कलेजका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले दुवै सेवाको शनिवार देखि सुरुवात गरेका हुन् । वि.सं. २०५४ सालमा स्थापना भएको युसीएमएस शिक्षण अस्पताल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी क्षेत्रबाट सञ्चालित नेपालको पहिलो मेडिकल कलेजका रूपमा स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएको छ ।

प्रबन्ध निर्देशक अर्यालले रेडियोलोजीले रोगको पहिचान गर्ने भएकाले बिरामीको मुख्य पाटो भएको र कुनै पनि बिरामीलाई रोगको पहिचान गर्न अन्यत्र जानु नपरोस् भन्ने उद्देश्यले अत्याधुनिक प्रविधिको सिटी स्क्यान मेसिन र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको बताए । सन् २००१ अगस्ट १ देखि सञ्चालनमा आएको युसीएमएसको रेडियोलोजी विभागले २५ वर्ष पूरा गरेको अवसरमा तेस्रो चरणमा १२८ स्लाइस सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको हो । यस भन्दा अघि दुईवटा सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको थियो ।

अस्पतालका अनुसार नयाँ सिटी स्क्यान सेवाबाट बिरामीले आधुनिक प्रविधिमार्फत थप गुणस्तरीय तथा भरपर्दो रोग निदान सेवा प्राप्त गर्नेछन् । उच्च प्रविधिको उक्त अत्याधुनिक नयाँ मेसिनबाट अत्यन्त कम समयमा उच्च गुणस्तरको रिपोर्ट उपलब्ध हुने दाबी अस्पतालको छ ।

युसीएमएसका मेडिकल सुपरिटेन्डेन्ट तथा रेडियोलोजी विभागका प्रमुख डा।सदनमुखीले नयाँ प्रविधिको उक्त सिटी स्क्यान मेसिनमा मुटुको थ्रीडी इमेजिङसहितको स्क्यान सुविधा, कृत्रिम बौद्धिकता तथा अटो पोजिसनिङ लगायतका सुविधा रहेक जानकारी दिए । ‘यस बाट बिरामीले सुलभ मुल्यमा उच्च गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन्’ सदनमुखीले भने । शनिवारदेखि सञ्चालनमा ल्याइएका दुवै सेवा २४सै घण्टा उपलब्ध हुने भएकाले बिरामीले सिटी स्क्यानका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने अस्पतालको भनाइ छ ।

उक्त सिटी स्क्यानका लागि अस्पतालले करिब ५ करोड ५० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । हाल युसीएमएसको रेडियोलोजी विभागमा एक जना प्राध्यापक, दुई जना सह–प्राध्यापक, चार जना उप–प्राध्यापक, १५ जना प्राविधिक, दुई जना नर्सिङ कर्मचारी र तीन जना सहयोगी गरी २७ जना कार्यरत छन् ।

रेडियोलोजी विभागमा सन् २००९ देखि हालसम्म स्नातकोत्तर तहको एमडी रेडियोलोजी कार्यक्रममा ४२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सन् २०१५ देखि स्नातक तहको बीएस्सी एमआईटी कार्यक्रममा २८ जना विद्यार्थी उत्तीर्ण भएको र दुवै कार्यक्रममा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको अस्पतालले जनाएको छ ।

युसीएमएस शिक्षण अस्पतालले बिरामीलाई अस्पतालसम्म ल्याउन तथा अस्पतालबाट घरसम्म लैजानका लागि एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालका अनुसार एम्बुलेन्स सेवा २४सै घण्टा उपलब्ध हुने छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पीएसले युसीएमएसमा सञ्चालनमा उच्च प्रबिधिका सिटी स्क्यान लगायत अन्य उपकरणका कारण यस क्षेत्रका विरामीलाई अन्यत्र जानु पर्ने बाध्यता हटेको बताए ।

‘मुटुका विरामीलाई लक्षित गरेर ल्याइएको नयाँ एम्बुलेन्समा भ्यान्टिलेटर सेवा समेत उपलब्ध छ’ पीसएसले भने, ‘तत्कालकालागि सिद्धार्थनगर क्षेत्र भित्रका सिरियस बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराएका छौं ।’ अस्पतालले नेपाल सरकारबाट प्राप्त छुट सुविधासहित ३३ लाख रूपैयाँको लागतमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालका सूचना अधिकारी सुशिल गुरुङले रेडियोलोजी विभागबाट स्थापनाकालदेखि हालसम्म ७ लाख ७६ हजार ६सय ३८ वटा एक्स–रे, ५ लाख ४० हजार ८सय ५२ वटा भिडियो एक्स–रे, १ लाख ४४ हजार १सय८० वटा सिटी स्क्यान, ४५ हजार ८सय ७८ वटा एमआरआई, १० हजार ९सय ५० वटा कलर डप्लर, १२ हजार ४सय ८० वटा ईईजी तथा ८सय ४ वटा मेमोग्राफी सेवा प्रदान गरिसकेको जनाए ।

लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले भैरहवा क्षेत्रमा पछिल्लो समयमा निजी क्षेत्रबाट विभिन्न अस्पताल खोल्ने क्रम बढेपनि बिशिष्टकृत उपचार सेवाकालागि मेडिकल कलेज नै रहेको जनाउँदै यतिधेरै अत्याधुनिक उपकरण सहितको यो अस्पतालले सिमावर्ती भारतीय बिरामीलाई समेत आकर्षित गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?