© 2026
दोहा (कतार) । ठकुरी सहयोग सञ्जाल कतार र रोयल नेपाल युथ एसोसिएसन (ठकुरी ग्रुप) कतारको संयुक्त आयोजनामा कतारमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कतार भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् युएईका अध्यक्ष तथा ठकुरी सहयोग सञ्जाल युएईका संस्थापक भीम मल्ल ठकुरीलाई कार्यक्रममा सम्मान गरिएको हो ।
प्रवासमा रहेर नेपाली समाज तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको हकहितका लागि पुर्याएको योगदानको कदर गर्दै ठकुरीलाई दोसल्ला ओढाएर तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । सोही अवसरमा समाजसेवी युवराज गुरुङ र अनिल गुरुङलाई समेत सम्मान गरिएको थियो ।
सम्मानपछि भीम मल्ल ठकुरीले ठकुरी सहयोग सञ्जाल कतार र ठकुरी सहयोग सञ्जाल युएईबीच स्थापनाकालदेखि नै आपसी सहकार्य र सद्भाव कायम रहेको बताए । आगामी दिनमा पनि दुवै संस्थाबीच सहकार्यलाई थप सशक्त बनाउँदै सामाजिक तथा सामुदायिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
ठकुरीले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर नेपालीलाई वैदेशिक रोजगारीका लागि कतार तथा युएईलगायतका मुलुकमा पुर्याउने र त्यहाँ अलपत्र पार्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे । आफ्नै नेपालीबाट ठगिएर प्रवासमा दुःख पाउने नेपालीको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले रोजगारीको नाममा कसैलाई पनि झुटा आश्वासन तथा प्रलोभनमा नपार्न आग्रह गरे ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका नेपाली श्रमिकको सहयोग तथा समस्या समाधानका लागि आफूहरू निरन्तर सक्रिय रहेको उनले बताए । आगामी दिनमा पनि श्रमिकको हित र समस्या समाधानका लागि सक्रियता निरन्तर रहने उनको भनाइ थियो ।
हालै सम्पन्न आठौँ अधिवेशनबाट निर्वाचित ठकुरी सहयोग सञ्जाल कतारको नयाँ कार्यसमितिलाई उनले सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रममा सञ्जालका अध्यक्ष महेन्द्र शाही ठकुरीले संस्थाको नेतृत्व सम्हालेपछि पहिलो औपचारिक कार्यक्रममै भीम मल्ल ठकुरीलाई सम्मान गर्न पाउनु खुसीको विषय भएको बताए । उनले संस्थाको आगामी यात्रालाई थप प्रभावकारी बनाउन सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको उल्लेख गर्दै सामाजिक सेवाका कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।