Butwal Today

बैङ्क घोटाला प्रकरणमा तत्कालीन सिइओ सहित ३ पक्राउ

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

नेपालगन्ज (बाँके) । यहाँ स्थित कर्णाली डेभलपमेन्ट बैङ्कको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सिइओ० नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरजविक्रम शाह, उनकी श्रीमती शुभेच्छा श्रेष्ठ तथा बैङ्कको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरिएको हो ।

उनका अनुसार बैङ्किङ कसुर मुद्दामा फरार रहेका उनीहरूमाथि बैङ्किङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान गरिनेछ । पक्राउ परेका तीनै जनालाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बैङ्कबाट ठुलो परिमाणमा कर्जा प्रवाह गर्दा आन्तरिक प्रक्रिया पालना नगरिएको, नक्कली वा कमजोर धितोका आधारमा ऋण स्वीकृत गरिएको तथा धितो मूल्याङ्कन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको भन्दै अनुसन्धान अघि बढाइएको थियो ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा रु तीन अर्ब २० करोडभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइएको छ । हालसम्म केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार रहेका छन् । अनुसन्धानको दायरामा बैङ्कका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरी तथा नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी भुवन बस्नेतलगायत रहेका छन् ।

बैङ्कको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो । उक्त घटनाले बैङ्किङ क्षेत्रको आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन तथा नियामकीय निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?