Butwal Today

सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली पुनरावलोकन

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

रोल्पा  । रोल्पाको विकट सुनछहरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप सहज र सुरक्षित बनाउने तयारी थालिएको छ ।

भत्ता बुझेर घर फर्कने क्रममा एक ज्येष्ठ नागरिकको मृत्यु भएपछि गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि वडा तथा टोल स्तरमै पुगेर भत्ता वितरण गर्ने तयारी अघि बढाएको हो ।

भौगोलिक रूपमा दुर्गम रहेको सुनछहरी गाउँपालिकाका अधिकांश बस्ती अग्ला पहाड, भिराला भूभाग र खोलानालाले घेरिएका छन् । वर्षायाममा खोलामा बाढी आउने, पहिरो जाने तथा सडक अवरुद्ध हुने समस्याका कारण ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त नागरिकलाई बैंकसम्म पुगेर भत्ता लिन निकै कठिन हुने गरेको छ ।

यसैबिच साउन २० गते सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने क्रममा गाउँपालिका–१ सेम घुसबाङका ७५ वर्षीय मसान घर्ती मगरको बाले खोलामा आएको बाढीले बगाएर मृत्यु भएपछि सेवा प्रवाहको वर्तमान प्रणालीमाथि प्रश्न उठेको छ ।

गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरले यस्तो दुःखद घटना पुनः नदोहोरियोस् भन्ने उद्देश्यले सम्बन्धित बैङ्कसँग समन्वय गरी असोजभित्रै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भइरहेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८३ र ८४ देखि प्रत्येक वडा तथा टोलमै पुगेर भत्ता वितरण गर्ने निर्णय भइसकेको छ । त्यसका लागि सम्बन्धित बैङ्कलाई औपचारिक जानकारीसमेत पठाइसकिएको छ ।

“विकट भौगोलिक अवस्थाका कारण नागरिकले सास्ती खेप्नुपरेको छ,” अध्यक्ष पुनले भने, “अब भत्ता वितरणलाई नागरिकमैत्री, सुरक्षित र पहुँचयोग्य बनाउने गरी कार्यान्वयनमा जाने तयारी गरेका छौँ ।”

गाउँपालिकाका पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख सागर बुढा मगरले आर्थिक वर्ष २०८२/८३ को अन्तिम चौमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा जम्मा भइसकेको जानकारी दिए । उनका अनुसार रकम खातामा जम्मा भएपछि तत्काल निकाल्नुपर्ने बाध्यता नहुने भएकाले लाभग्राहीले आफ्नो अनुकूल समयमा रकम झिक्न सक्छन् ।

उनले बैङ्किङ प्रक्रियाबारे जानकारी गराउन तथा अनावश्यक भीड कम गर्न गाउँपालिकाले विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

यद्यपि स्थानीयवासीले बैङ्किङ प्रणाली दुर्गम क्षेत्रका नागरिकका लागि अझै व्यवहारिक बन्न नसकेको गुनासो गरेका छन् ।
सुनछहरी–४ सिउरीका समाजसेवी इन्द्र गुरुङले सामाजिक सुरक्षा भत्ता वडा कार्यालय वा टोलबाटै वितरण गर्न सके ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई ठूलो राहत पुग्ने बताए । बैंकसम्म पुग्न सवारी खर्च, जोखिमपूर्ण यात्रा र दिनभर लाइन बस्नुपर्ने बाध्यताले सेवाग्राही थप पीडित हुने गरेको उनको भनाइ छ ।

सुनछहरी–१ सेरमका महावीर रानाले पनि दुर्गम बस्तीका वृद्ध वृद्धा र अशक्त नागरिकका वास्तविक समस्याप्रति सम्बन्धित निकाय अझ संवेदनशील हुनुपर्ने बताए । वर्षायाममा वडा स्तरमै सेवा उपलब्ध भएको भए हालै भएको मानवीय क्षति टार्न सकिने उनको धारणा छ ।

स्थानीय पत्रकार टेकमन विष्टले गाउँपालिकासँग आवश्यक नीतिगत अधिकार भएकाले बैङ्कसँग समन्वय गरेर वडा सदस्यमार्फत आवश्यक कागजात सङ्कलन गरी गाउँमै भत्ता वितरण गर्ने व्यवस्था गर्न सकिने सुझाव दिए ।

यता साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, सुलिचौर शाखाका प्रबन्धक कमलविक्रम शाहले सीमित जनशक्ति, बैङ्किङ समय र सुरक्षा चुनौतीका कारण सबै वडामा पुगेर सेवा दिन कठिन भइरहेको बताए ।

उनका अनुसार ठूलो परिमाणमा नगद बोकेर दुर्गम क्षेत्रमा जान सुरक्षा जोखिम हुने, वर्षायाममा सडक अवरुद्ध हुने तथा कर्मचारी अभावका कारण वडास्तरमा सेवा विस्तार गर्न समस्या भइरहेको छ । आवश्यक जनशक्ति उपलब्ध भए बैंक नागरिकको सुविधाअनुसार सेवा विस्तार गर्न तयार रहेको उनले बताए ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई मात्र नभई विपद् व्यवस्थापनलाई पनि चुनौतीपूर्ण बनाएको अर्को समस्या सञ्चार पूर्वाधारको कमजोरी रहेको जनाएको छ । अध्यक्ष पुनका अनुसार गाउँपालिकाका धेरै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी नहुँदा आकस्मिक उद्धार तथा समन्वयमा समेत कठिनाइ हुने गरेको छ ।

उनले विपरीत भौगोलिक अवस्था र प्राकृतिक चुनौतीका बाबजुद नागरिकको सुरक्षा, सेवा प्रवाह र आधारभूत सुविधा सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

स्थानीयवासीले भने वर्षौँदेखि दोहोरिँदै आएको सास्ती अन्त्य गर्न घोषणा मात्र होइन, वडा तथा टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

उनीहरूका अनुसार वृद्ध वृद्धा, अपाङ्गता भएका व्यक्ति र अशक्त नागरिकले आफ्नै बस्ती नजिक सुरक्षित रूपमा सेवा पाउने वातावरण बनेपछि मात्र सामाजिक सुरक्षाको उद्देश्य सार्थक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?