© 2026
बुटवल । रुपन्देहीको तिनाउ नदीमाथि निर्माण हुने बहु प्रतीक्षित ‘सिग्नेचर ब्रिज’को ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट निर्माण कम्पनी छनोटको प्रक्रिया अघि बढेसँगै बुटवलको यातायात व्यवस्थापनसँगै सहरको नयाँ पहिचान बन्ने अपेक्षा गरिएको यो आयोजना अब कार्यान्वयनको नजिक पुगेको हो ।
नेपाल सरकारको सडक विभागअन्तर्गत वैदेशिक सहायता महाशाखाले गत मङ्सिर अन्तिम साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । हाल बोलपत्रमा सहभागी कम्पनीहरूको आर्थिक प्रस्तावको मूल्याङ्कन अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ ।
वैदेशिक सहायता महाशाखाका वरिष्ठ इन्जिनियर सुरेश पौडेलका अनुसार प्राविधिक मूल्याङ्कन सम्पन्न भइसकेको छ भने अब आर्थिक प्रस्तावको अन्तिम मूल्याङ्कन सकेर करिब एक साताभित्र विश्व बैङ्कमा प्रतिवेदन पठाइनेछ ।
उनका अनुसार विश्व बैङ्कले करिब १५ दिनभित्र प्रतिवेदनको अध्ययन गरी सहमति जनाएपछि ठेक्का स्वीकृतिका लागि आशय पत्र जारी गरिनेछ । त्यसपछि कुनै कानुनी विवाद वा उजुरी नआए दसैँअघि नै ठेक्का सम्झौता गर्ने लक्ष्य राखिएको छ ।
बोलपत्रमा चीनका छ निर्माण कम्पनी तथा संयुक्त उपक्रम सहभागी भएका छन् । तीमध्ये चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड, पोलिचाङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेड, आनहुई सिन्जियान होल्डिङ ग्रुप कम्पनी लिमिटेड, जीसीजीसी–आरसीसी जेभी, जेडआईईसी–शर्मा–एएनके जेभी तथा सीआरईजीसी–कालिका जेभी रहेका छन् ।
सडक विभागका अनुसार सबै कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएपछि अहिले आर्थिक प्रस्तावको तुलनात्मक मूल्याङ्कन भइरहेको छ । प्राविधिक र आर्थिक मूल्याङ्कनको संयुक्त अङ्कका आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने कम्पनीलाई निर्माण जिम्मेवारी दिइनेछ ।
निर्माण कम्पनी छनोट भएपछि आयोजना कार्यान्वयनको जिम्मेवारी बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरिनेछ । आयोजनाका अनुसार ठेक्का सम्झौतापछि करिब सात महिनाभित्र विस्तृत डिजाइन तयार गरिनेछ भने त्यसपछि निर्माण कार्य सुरु हुनेछ । निर्माण सम्पन्न गर्न तीन वर्षको समय सीमा निर्धारण गर्ने तयारी छ ।
तिनाउ नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’ करिब २६६ मिटर लामो हुनेछ । हाल सञ्चालनमा रहेको पुरानो पुललाई यथावत् राखेर त्यसको उत्तर र दक्षिणतर्फ दुई–दुई लेनका नयाँ पुल निर्माण गरिने योजना छ । यसबाट बुटवल–गोरुसिङ्गे सडक खण्डमा बढ्दो सवारी चाप व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
सडक विभागले पुल निर्माणका लागि करिब दुई अर्ब रुपियाँ लागत अनुमान गरेको भए पनि सहभागी कम्पनीहरूले अनुमानभन्दा कम लागतमा प्रस्ताव पेस गरेका छन् । प्रतिस्पर्धात्मक बोलपत्रका कारण सरकारी अनुमानभन्दा कम खर्चमा आयोजना सम्पन्न हुन सक्ने विभागको विश्वास छ ।
बुटवल–गोरुसिङ्गे सडक आयोजनाका प्रमुख कुशलता न्यौपानेका अनुसार नयाँ पुललाई केवल यातायात पूर्वाधारका रूपमा मात्र नभई बुटवलको नयाँ ‘ल्यान्ड मार्क’ र पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने अवधारणा राखिएको छ ।
उनका अनुसार तिनाउ नदी आसपास रहेको ऐतिहासिक जीत गढी किल्ला, फूलबारी क्षेत्र, नुवाकोट तथा अन्य पर्यटकीय गन्तव्यसँग पुलको सौन्दर्य जोडिने भएकाले यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
हाल प्रयोगमा रहेको तिनाउ पुल २०३८ सालमा निर्माण भएको हो । चार दशकभन्दा बढी पुरानो पुल साँघुरो बन्दै जानु, संरचनागत रूपमा जीर्ण हुनु र बुटवल क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको सवारी चापका कारण नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको हो ।
नेपाल सरकारले पूर्व–पश्चिम राजमार्गलाई आधुनिक बनाउने योजनाअन्तर्गत नारायणी र तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने कार्यक्रम अघि बढाएको छ । चितवनस्थित नारायणी नदीमा भने पुल निर्माणको काम सुरु भइसकेको छ । त्यहाँ तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी एक अर्ब ६८ करोड ७६ लाख रुपियाँभन्दा बढीको ठेक्का सम्झौता गरिसकेको छ ।
तिनाउमा बन्ने ‘सिग्नेचर ब्रिज’ निर्माण सम्पन्न भएपछि बुटवलको प्रवेशद्वार आधुनिक र आकर्षक बन्नुका साथै पूर्व–पश्चिम राजमार्गको यो व्यस्त खण्डमा हुने ट्राफिक जाम न्यूनीकरण, यातायात सुरक्षा अभिवृद्धि तथा बुटवलको सहरी सौन्दर्य र पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।