Butwal Today

कोदोका २४ जात परीक्षण

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

सल्यान  । पोषणयुक्त तथा रैथाने बालीका रूपमा चिनिएको कोदो खेती आधुनिक जीवनशैली, भात खाने प्रवृत्ति र अन्य कारण निकै कम हुने गरेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै कोदो खेतीको विस्तारका लागि सल्यानमा कोदोका विभिन्न जातको परीक्षणात्मक रोपाइँ गरिएको छ । अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोट, सल्यानको फार्म तथा किसानको बारीमा कोदोका विभिन्न जात रोपेर परीक्षण गरिँदै छ ।

पहाडी बाली अनुसन्धान कार्यक्रम, काभ्रे दोलखाबाट उपलब्ध गराइएका कोदोका जात परीक्षणका लागि ल्याइएको थियो । अनुसन्धान कार्यक्रमको फार्ममा १६ वटा कोदोका जातको समन्वयात्मक जातीय परीक्षण सञ्चालन गरिएको छ भने ८ वटा जात समन्वयात्मक किसान खेत परीक्षण अन्तर्गत किसानका बारीमा रोपिएको हो ।

किसानको बारीमा गरिने परीक्षण अन्तर्गत सल्यानको गाँडापानी, बागचौर र दाङको खमारी र राम्रीमा कोदो रोपाइँ गरिएको कार्यक्रमले जनाएको छ ।

अदुवाबाली अनुसन्धान कार्यक्रमका संयोजक तथा वरिष्ठ वैज्ञानिक डा. नवीन रावलका अनुसार समन्वयात्मक जातीय परीक्षण अन्तर्गत नयाँ जातहरूको विभिन्न अनुसन्धान केन्द्रमा परीक्षण गरिन्छ ।

त्यसबाट राम्रो नतिजा देखिएका जातलाई समन्वयात्मक किसान खेत परीक्षणमार्फत किसानकै बारीमा लगेर परीक्षण गरिन्छ । यसबाट ती जातको वास्तविक उत्पादन क्षमता, स्थानीय वातावरणसँगको अनुकूलता र किसानले कत्तिको स्वीकार गर्छन् भन्ने मूल्यांकन गर्न सकिने उनले बताए ।

यस्ता परीक्षणले स्थानीय हावापानीमा राम्रो उत्पादन दिने, रोग तथा प्रतिकूल अवस्थासमेत सहन सक्ने कोदोका उपयुक्त जात पहिचान गर्न सहयोग पुग्ने बताइएको छ । सफल देखिएका जात किसानसम्म विस्तार गर्न सकिए उत्पादन तथा उत्पादकत्व वृद्धि हुनुका साथै व्यावसायिक कोदो खेती प्रवर्द्धनमा समेत टेवा पुग्ने कार्यक्रमको अपेक्षा छ ।

अनुसन्धान कार्यक्रमका प्राविधिक टेकबहादुर खड्काले पछिल्ला वर्षहरूमा कोदोको माग दिनप्रतिदिन बढ्दै गएको बताए । पोषणयुक्त खाद्यान्न प्रति बढ्दो आकर्षणका कारण कोदोको उपभोग बढिरहेको र त्यसको प्रभाव खेतीमा पनि देखिन थालेको उनको भनाइ छ ।

किसानहरू बिस्तारै कोदो खेती बढाउनेतर्फ अग्रसर भइरहेका र त्यसलाई वैज्ञानिक अनुसन्धान तथा उपयुक्त जातको विकासमार्फत थप प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको खड्काले जानकारी दिए ।

नेपालको पहाडी क्षेत्रको प्रमुख रैथाने अन्नबाली मध्ये कोदो एक महत्त्वपूर्ण बाली हो । कम पानीमा पनि उत्पादन गर्न सकिने, जलवायु परिवर्तनको असरलाई पनि सहन सक्ने तथा क्याल्सियम, फलाम, रेशा लगायतका पोषक तत्त्व प्रशस्त पाइने भएकाले कोदोको महत्त्व पछिल्ला वर्षहरूमा झन् बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?