© 2026
काठमाडौँ । सडक विभागले बाढी र पहिरोका कारण तीन वटा सडक पूर्ण रूपमा र छ वटा सडक खण्ड आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ ।
विभागका अनुसार बाढी र पहिरोका कारण ती सडक अवरुद्ध भएका हुन् । पहिरोका कारण अवरुद्ध भएका २४ वटा सडक खण्ड सामान्य मर्मतपछि सञ्चालनमा आएका छन् ।
नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सडक भासिँदा ती राजमार्ग प्रभावित भएका हुन् । बिपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली क्षेत्रमा बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
यसै गरी, मकवानपुरस्थित कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पनि वर्षाका कारण सडक हिलो भई पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग भने विभिन्न तीन स्थानमा पहिरो, लेदो र सडक भासिँदा पूर्ण रूपमा बन्द छ । उक्त राजमार्गको भोटेकोसी गाउँपालिका–४ अन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै, दोलखाको लामोसाँघु–रामेछाप सडक तामाकोशी गाउँपालिका–५ किर्नेटारमा तामाकोशी नदीले सडक कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ । यद्यपि, खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।
नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।